लुम्बिनी प्रदेश,कपिलवस्तु
परिचय
कपिलवस्तु जिल्ला नेपालको लुम्बिनी प्रदेश अन्तर्गत तराईमा पर्ने एक जिल्ला हो । यस जिल्लाको कूल क्षेत्रफल १७३८ वर्ग कि.मी. रहेको छ । नेपालको मानचित्रमा यस जिल्लाको पूर्वमा रुपन्देही, उत्तरमा अर्घाखाँची, दक्षिणमा भारतको उत्तर प्रदेश तथा पश्चिममा दाङ जिल्ला रहेका छन् । जिल्लाको पूर्व पश्चिम सरदर लम्बाई ५४ कि.मि. र उत्तर दक्षिण चौडाइ ३२ कि.मी.रहेको पाईन्छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कुल जनसंख्या ६,८६,७३९ जसमध्य पुरुषको संख्या ३,३७,६०४ र महिलाको संख्या ३,४९,१३५ रहेको छ।
भौगोलिक हिसाबले २७.”२५” देखि २७.”४९” उत्तरी अक्षांश र ८२.”४१” देखि ८३.”१४” अक्षांश पुर्वी देशान्तरमा अवस्थित रहेको यो जिल्लाको पुर्व पश्चिम सरदर ३३.५ माइल उत्तर दक्षिण २० माइल रहेको छ । शाक्य वंशीय राजा सुद्धोधनको राजदरबार यसै जिल्लाको तिलौराकोटमा पर्दछ।
नामाकरण
प्राचिनकालमा ऋषि कपिलद्वारा प्रतिपादित प्रकृती र पुरुषको द्वैदतामा आधारित दर्शनको जन्मभूमी भएका कारणले यस शाक्य गणराज्यको कपिलवस्तु नामाकरण गरिएको थियो। कक्रुछन्द बुद्धको जन्मभूमी गोटिहवा र कनकमुनी बुद्धको जन्मभूमी निग्लिहवा (निग्लीसागर) पनि यसै जिल्ला अन्तरगत पर्दछन् ।
ऐतिहासिक पृष्ठभूमि
तिलौराकोट ऐतिहासिक कपिलवस्तु राज्यको राजधानी, शाक्य वंशीय राजा शुद्धोधनका दरबार तथा राजकुमार सिद्धार्थले आफ्नो जीवनको प्रारम्भिक २९ वर्ष व्यतित गरेको पवित्र स्थल हो । तिलौराकोट सदरमुकाम तौलिहवा देखि ३ कि.मि. उत्तरपश्चिममा वाणगंगा (भागीरथी) नदीको पूर्वीय तटमा अवस्थित यस स्थानमा प्राचिन पुरातात्विक भगनावशेषहरु रहेका छन् ।
भगवान बुद्धका पिता राजा शुद्धोधनको राजप्रासाद रहेको यसै स्थानमा आजभन्दा २५५५ वर्ष पुर्व भगवान बुद्धले आमा मायादेवीको गर्भमा बास गरेका थिए र लुम्बिनीमा जन्म भई तिलौराकोटमा २९ वर्षे जीवनयापन गरेको यो स्थान हो । जहाँ पुरातात्विक आधारहरु प्रशस्त रहेका छन् । उत्तर दक्षिण १७०० फिट लामो र पुर्व पश्चिम १३०० फिट चौडा र ८ देखि १२ फिटसम्म चौडा पर्खाल भएको प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटमा विभिन्न समयमा गरिएका उत्खननबाट तीनवटा भग्वावशेष स्पस्ट रुपमा देखिन्छन् । ती भग्नावशेषहरुमा पश्चिमीद्वारको रुपमा परिचित भागमा उत्खनन हुँदा दुबै तर्फ बुर्जाहरुका साथै ईट छापिएको १९ फीट चौडा बाटोको दुबैतर्फ बलिहरु छन् ।
राजा शुद्धोधनको दरबार, सुरक्षा पर्खाल, पोखरी, यशोधरा राहुल विहार, सिद्धार्थ गौतमको पाठशाला, तत्कालिन देव मन्दिर रहेका छन् भने उत्खननबाट ताम्र मुद्दा अन्य धातुका वस्तुहरु प्राप्त भएका छन् । शुद्धोधनको राजमहल उत्खनन गर्दा कुशाङ, मौर्य, सुङ्गा कालका सिक्काहरु, भाडाका टुक्रा र तत्कालिन हतियार र गाग्रीहरु फेला पारेका थिए भने भगवान गौतम बुद्धले सांसारिक जीवन त्याग गरी ज्ञान प्राप्तीका लागि आफ्नो राजदरबार त्याग गरी गएको पुर्वीद्वारको रुपमा परिचित महाभिनिष्क्रर्मण द्वार उत्खनन हुँदा १९ फीट चौडा बाटो, दायाँ बायाँ दुई बुर्जाहरु, माला, गुटिका, चुरा र ब्राह्मी अभिलेखयुक्त मोहर छाप प्राप्त भएका छन् । भारत, जापान, युनेस्को तथा नेपालका पुरातत्वविदहरुबाट पटक पटक गरिएको उत्खननले पूर्वपश्चिम प्रवेशद्वार बीचमा राजप्रसादको केही खण्ड तथा पुर्वपश्चिम र दक्षिण तर्फ सुरक्षा पर्खालहरु उत्खनित भैसकेका छन् । अझै प्रशस्त प्राचीन अवशेषहरु उत्खननको पर्खाइमा रहेका छन् । विरुद्धकद्वार विध्वंस गरिएको प्राचीन कपिलवस्तु तिलौराकोट भगनावशेषको रुपमा रहेको छ । यसको चारैतर्फ अति महत्वपुर्ण स्तुपहरु रहेका छन् । पूर्वदक्षिण तर्फ सुरक्षा नहर (खाई) समेत रहेको पाइन्छ ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ३ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ६ रहेको छ।
स्थानिय तहको विभाजन
संघिय संरचना अनुसार कपिलवस्तु जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ६ नगरपालिका र ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।
- कपिलवस्तुनगरपालिका
- बाणगंगानगरपालिका
- बुद्धभूमिनगरपालिका
- शिवराजनगरपालिका
- कृष्णनगर नगरपालिका
- महाराजगंज नगरपालिका
- शुद्धोधन गाउँपालिका
- मायादेवी गाउँपालिका
- यशोधरा गाउँपालिका
- विजयनगर गाउँपालिका
पर्यटकीय स्थल
यो जिल्ला विभिन्न जातजाति, धर्म र सम्प्रदायको संस्कृतिले भरिपुर्ण रहेको छ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक हिसाबले यहाँ प्रशस्त तीर्थस्थलहरु रहेका छन् । विभिन्न नदीनाला र तालतलैयाले भरिपुर्ण यस जिल्लाका पुरातात्विक तथा ऐतिहासिक स्थलहरुमा तिलौराकोट, कुदान, गोटिहवा, सगरहवा, निग्लिहवा, डेरवा, सारकुप, अरौराकोट, सिसहनिया आदि रहेका छन। प्रमुख तालहरूमा जगदिशपुर ताल, सगरहवा ताल, विजुवा, कोपवा, बुड्ढी, हरिहरपुर ताल, कर्मा ताल, घोघहवा ताल, पुरैनी ताल आदि रहेका छन भने मुख्य नदीहरुमा वाणगंगा, अर्रा, अगिया, कोईली, सुराई, चिराई, गुडरुङ, जमुवार आदि रहेका छन। सांस्कृतिक सम्पदाहरुमा समयमाई, ताम्रेश्वरनाथ महादेव, शिवगढी, रामघाट, लक्ष्मणघाट आदि रहेका छन।
जगदिशपुर ताल
देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ।
सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल