ए ! साथी
फर्की हेर यस दुनियाँलाइ
आज यसलाइ तिम्रो नजरको
अती – अती
अती नै खाँचो छ ।
तिमी नसोच ,
तिम्रो मुहारमा यस दुनियाँले
सदा सदा विजयाबिर दल्नेछ भनी
र विपरीत
तिमी पनि नसोच
तिम्रो अनुहार यसै दुनियाँ ले
सदा नकार्ने छ भनी
यस्तै ठिक हो भनी बलजफ्ती सोच्दछौ भने ..
यसको दोष मलाइ किन ?
मैले भन्नू यत्ति मात्र छ-
यस जगतका कुना – कन्दरा
झाँकेर हेर तिमी
यसै संसारसँग मितेर
गाँसेर हेर तिमी
पाउने छौ-
यो सारा संसार तिम्रै हो
तिमी यस संसारकै- सार हौ ।
सुन त साथी
यस दुनियाँ सँग साइनो
एक नया साइनो
जोडेर त हेर तिमी
अनि त
जो छन मित्र यहाँ, सब तिम्रै छन
शत्रु कतै खोजेर नभेट्टिउन ।
अब जब
नौलो नाता जोड्यौ तिमीले
यो जन, यो घर, यो परिवार
अनि यो ब्रह्माण्डसँग
तब
खुसीले हाँस, खेल, गाउँ, नाच
तर फेरि नबिर्स
मनपरि भने चल्ने छैन
किनकि, यहाँ
सबलाइ तिम्रो खाँचो छ
तिमीलाई सबको खाँचो ।
उसैले,
मलाइ दिल खोली भन्न मन छ-
ए ! साथी
तिमी, तिमी… र तिमी पनि
फर्की हेर यस दुनियाँलाई
आज यसलाई तिम्रो नजरको
अती अती अत्ती नै खाँचो छ ।