यदि सपनाका छालहरु भावनाका तरङ्गहरुमा तैरिन्थें भने, सायद वेदनाका क्रोदनहरु आँखाका उन्मादहरुमा देखिन्थे भने …. निश्चय नै स्वप्निलका आँखाहरु पनि सुन्दर देखिन्थे होला, उसका भावनाहरु पनि तरङ्गित हुन्थे होलान् । गन्तव्यहीन यात्रामा निस्किएका बादल झैं अमूक यात्री ऊ अवश्य हुने थिएन । सम्भावनाको संसारहरुमा हरेक दिन ऊ एउटा अर्को नयाँ सम्भावनाको परिक्षण गर्ने थिएन । उसका असफल परिक्षणहरु । तर उसको विश्लेषण फरक छ । उसको विश्लेषणमा उ सफल भएको छ – असफल परिक्षणहरुमा, ऊ पूर्ण भएको छ- अपूर्णताहरुमा ।

सायद, स्वप्निल एक पात्र हो अपूर्णताले भरिएको – पूर्णताको, असफलताले पूरेको – सफलताको । उसका वरिपरिका दृश्य, घटना अनि पात्र सबै एकै छन्, तिनै छन्, जुन हिजोका स्वप्निल रातमा थिएं । फरक छ त केवल दृश्यको रङ्गमा, घटनाको भावमा अनि पात्रको चरित्रमा । सफलताको परिभाषा के हो ? उन्नति के हो ? प्रगति के हो ? स्वप्निलको परिभाषामा त हिजोको भन्दा आज सकारात्मक वा नकारात्मक परिवर्तन जसको नतिजा आफूमा सकारात्मक छ – त्यो नै सफलता हो, उन्नति हो, अनि प्रगति हो । अघि भन्दा अहिले कुनै पनि स्वरुपमा, अवस्थामा धेरथोर हुने सबल परिवर्तन नै सफलता हो । चाहे त्यो भावनाको होस् वा चेतनाको वा भौतिक वा अभौतिक तर महसुस हुने गरि हुन पर्‍यो । जब स्वप्निल जिन्दगीलाई फर्केर हेर्छ उसले आफूलाई हरेक पल मूर्ख देख्छ अनि तत्कालको पलमा ऊ बुद्धिमान, सबल बन्दछ ।

बडो अचम्म छ समय – हिजो हामीले जे गर्‍यौँ त्यो काम आज आएर बेकार लागिरहेछ, जुन काम हामीले त्यो समय बडो उत्साहजनक तबरले गरेका थियौं र सफल पनि भएका थियौं । आज स्वप्निलका आँखा ती पागलपनलाई गिज्याइरहेछन् । अनि हिजो जहाँ असफल भयौँ, स्वप्निललाई लागिरहेछ वास्तवमै सफल चाहिँ त्यहीँ भयौं । ती स्वप्निलका तरङ्गहरु आज कता हराइरहेछन्, जसले हिजो उसकी प्रेमिकालाई झुमाएको थियो । उसेकी प्रेमिका झुमेकी थिइन्, अझ भनौ नाचेकी । स्वप्निलसँग उनी स्वतन्त्र महसुस गर्थिन्, तथापि स्वप्निलले कहिले बुझेन कि उनलाई केको स्वतन्त्रता मिल्थ्यो ? अनि कहिले सोधेन पनि ।

उनिहरुको सम्बन्ध यति प्रगाढ थियो कि उनीहरु एक अर्का सँग भावना साट्नासाथ समस्या सुल्झिन्छ भन्ने सोच्दथें । तर थाहा छैन किन स्वप्निलका आँखाले उनका आँखालाई प्रश्न सोधिरहन्थ्यो, अनि जवाफमा उनका आँखा अर्को प्रश्न तेर्साइदिन्थें । लाग्दथ्यो, उनको आँखा र हृदयमा अनेक कुरा लुकेका छन्, जुन स्वप्निलका सामु निस्कन सकेनन् । स्वप्निलका आँखा त जाली थिएं, स्वप्निल सँग त भावनाको सागर थियो जुन पोखिएका थिएनन् उनीसामु । एकदिनको मौसम यति सुन्दर भइदियो कि स्वप्निल र उनका आँखा जुध्ने मौका पाएं । स्वप्निलको काखमा एक बच्चा झैं बसेकी उनी जब स्वप्निललाई निशब्द हजार प्रश्न गर्दछिन् तब स्वप्निलका तरङ्गहरु उनको हरेक अङ्गमा देखिन्थ्यो ।

स्वप्निल मुस्कुराइरहेछ, कुनै समयको भावना सम्झेर । ऊ आफू र आफ्नी प्रेमिकालाई त्यो समयको सबैभन्दा मूर्ख प्राणी घोषणा गर्दछ । अनि सोच्दछ – कुनै एक समय फेरि ऊ अहिलेको समयको मूर्ख घोषित हुनेछ । सायद यही हो जिन्दगी, सफल भए असफल घोषित अनि असफल भए सफल घोषित । हिजोको स्वप्निललाई आजको स्वप्निलले मूर्ख घोषित गर्दछ । सायद आजको स्वप्निललाई भोलिको स्वप्निलले मूर्ख घोषित गर्ने छ ।

स्वप्निललाई लागिरहेछ – स्वप्निल हिजो, आज र भोलि हरेक समय कुनै न कुनै समयको मूर्ख घोषित निरन्तर भइरहनेछ ।मूर्ख स्वप्निल ! मूर्ख स्वप्निल ! स्वप्निलले मूर्ख बन्न हरेक पल मेहनत गर्‍यो, गरिरहेछ अनि सायद गर्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम