नेपाली प्रगतिशील फाँटका लेखक, पत्रकार, सामालोचक, विचारक आदिका रूपमा चर्चित र प्रतिष्ठित नाम हो श्यामप्रसाद । उनको नेपाली निबन्ध जगतमा आफ्नै विशिष्ट स्थान छ । उनको निबन्ध संग्रह “तँ तिमी, तपाईं हजुर” को पनि विशेष गणना हुन्छ । “तँ तिमी, तपाईं हजुर” विशुद्ध निजात्मक निबन्धहरुको संकलन हो । यस पुस्तकमा समाजका विसंगति, शोषण दमन र निम्न वर्गका जीवन भोगाइको यथार्थ चित्रण गरेका छन् । यी निबन्धमा लेखकले नेपाली समाजमा रहेका असमानता र रुढीवादितालाई उदाङ्गयाएका छन्, चिरफार गरेका छन् ।

“तँ तिमी, तपाईं हजुर”को यस संस्करणमा सात वटा निबन्ध संकलित छन् । कोट र जुत्ता, आइमाई साथी, बौलाहा रिमाल, चाउ नेपाल आउँदा, एक घण्टा बिताउन, तँ तिमी, तपाईं हजुर र मेरो आमा । यी प्रत्येक निबन्धमा छुट्टाछुट्टै विषय समेटिएका छन् । इज्जतको भ्रम, आइमाईप्रतिको धारणा, क्रान्तिकारी साहित्यकारप्रतिको अप्रिय व्यवहार, नेताका गुण, समयको उपयोग र व्यवहारमा प्रयोग गरिने शब्दको कन्जुस्याइँ आदि पक्षमा कलात्मक रुपले मार्मिक प्रस्तुति गरेका छन् । “कोट र जुत्ता”मा एघार वर्षका बेहुला बेहुली लिएर नयाँ सडकका छातीबाट जन्ती हिँड्दा पनि कसैले चुइँक्क गर्न नसकेको र बिहेमा निम्तो जाँदा आफुले शिरदेखि पाउसम्म सबै स्वदेशी पहिरन भएकोले र नातामा ज्वाइँ पर्ने भएकोमा आफ्नो राम्रोसँग सत्कार हुनेछ सोचेको तर त्यहाँ कोट र जुत्ता हेरेर मान इज्जत गरिएको प्रसंग निकै रमाइलो गरि प्रस्तुत गरेका छन् । कोट र जुत्तामा अर्को घटना पनि प्रस्तुत छ ।

आफू मधेशतिर बस्ने बेलामा एक दुईवटा पुस्तक छापिएको हुनाले त्यहाँका मानिसहरु लेखक भनेर चिन्ने र देख्दा नमस्ते गर्ने गर्थे तर एकपटक आफ्नो कोट र जुत्ता पञ्चतत्वमा मिल्न पुगेको र आर्थिक सकसमा भएकोले किन्न नसकेको कारण नाङ्गा पैतालाले हिँडेको देखेर नमस्ते गर्नु त परेको कुरा बोल्नुपर्ला भन्ने डरले देख्ने बित्तिकै बौलाहा कुकुरबाट जोगिन खोजेझैं आँखा छली छली हिड्ने गर्न थालेको घटना निकै उत्तम ढंगमा प्रस्तुत गरेका छन् । “आइमाई साथी” मा महिला सहभागीता कार्यक्षेत्रमा आवश्यक र सुविधायुक्त भए पनि आइमाई साथी बनाउन खोज्दा धमिलो आँखाले हेर्न खोज्ने समाजको स्थिति सजीव रूपमा उतारेका छन् । आइमाई साथी बनाउने प्रयत्नमा धेरै जनासँग चिठी चपेटा पनि गरेको र पत्रपत्रिकामा रचना प्रकाशित गर्ने कतिपय लेखिका र कवयित्री वास्तवमा पुरुष नै हुने रहेछन् भन्ने तीता मीठा अनुभव गरेको विषय समेटेका छन् । “बौलाहा रिमाल” मा सद्दे रिमाललाई बौलाहा बनाउने सामाजिक विडम्बनाले छाति चिर्छ । निबन्धमा रिमाल बौलाहा नभई उनलाई बौलाहा बनाउने समाजको हावा खुस्केको भन्न सकिने तथ्य दिएका छन् ।

“चाउ नेपाल आउँदा” निबन्धमा नेताहरूमा हुनुपर्ने गुणलाई संकेत गरेका छन् । चिनियाँ नेता चाउ एन लाइले नेपाल भ्रमणमा बोलेका विषय र गरेको व्यवहारमा भिन्नता नभएको संस्मरणमा उल्लेख गरेका छन् । चाउले चीनको प्रगति हामी सबैको संघर्षका कारण सम्भव भएको बताइरहँदा नेपालका नेताहरुले सबै मैले गरेको भन्ने प्रवृत्तिप्रति गतिलो झापड हानेका छन् । समाजका श्रेष्ठ व्यक्तिहरुमा हुनुपर्ने आचरण र आदर्श आदरणीय र अनुकरणीय हुनुपर्ने देखाएका छन् । “एक घण्टा बिताउन” निबन्धमा एक घण्टा पनि निकै महत्त्वपूर्ण हुने तर हाम्रो देशमा समयको महत्त्व नबुझ्दा त्यो सानो क्षण पनि कति कष्टकर हुन्छ भन्ने कुरा व्यक्त गरेका छन् । समयमै कार्यक्रममा पुग्दा सँधै एकाध घण्टा समय खेर जाने गुनासो साथीलाई सुनाउँदा अव्यवहारिक रहेछौ भन्ने आरोप खेप्नुपरेको र आधा घण्टा ढिला पुग्दा लज्जित हुनुपरेको घटना प्रस्तुत गरेका छन् ।

“तँ तिमी, तपाईं हजुर” निबन्धमा सामान्य तथा विशिष्ट आदरार्थी शब्दको प्रयोगमा गरिने असमान व्यवहारबारे तिखो प्रहार गरेका छन् । निबन्धको सुरुमा नै एउटा घतलाग्दो प्रसंग छ । साथीसँग घुम्न जाँदा एउटा घोडा लिएर गएको र आफुहरु दुइजना भएको कारण पालैपालो घोडा चढ्ने गरेको, बाटामा र गाउँमा भेटिने मानिसहरुले जो घोडामा चढेको हुन्थ्यो उसलाई सलाम गरेको घटना बडो सरल र व्यङ्ग्यात्मक तरिकाले उल्लेख गरेका छन् । यही निबन्धमा अर्को एउटा प्रसंग समावेश छ । पहिले सानो नाङ्ले पसल गर्ने दाजुलाई तँ सम्बोधन गर्ने ठालुहरु बिस्तारै उनको पसलको स्तर उकासिँदै जाँदा तँ बाट तिमी हुँदै अहिले तपाईंमा पुगेको कुरा व्यक्त गरेका छन् । यस्तै अन्य घटनाहरु प्रस्तुत गर्दै उनले समाजमा वर्गीय विभेदको चर्को व्यङ्ग्य गरेका छन् ।

अन्त्यमा “मेरो आमा” शिर्षकको निबन्धमा जन्मदिने आमा नभए पनि आमाको स्नेह, माया, ममता दिने कान्छी आमाको विषयमा कलम चलाएका छन् । निकै साधारण विषयमा पनि धेरै गहिरिएर कलम चलाएका छन् । जोकोहीले भोगेका यस्ता प्रसंगलाई निबन्धको आकार दिनु आफैमा उल्लेखनीय पक्ष हो । निबन्धमा अनुभव र अनुभूति प्रशस्तै पाइन्छ । श्यामप्रसादको निबन्ध संग्रह “तँ तिमी, तपाईं हजुर” प्रकाशन गरेर नेपाली साहित्यमा एउटा चम्किलो किरण थप्न सहयोग पुर्याएकोमा शृङ्खला प्रकाशनप्रति आभार व्यक्त गर्दछु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

दशरथ रंगशाला र त्यसले उठाएका प्रश्नहरु

कमल सरोवर । वि.स. २०६८ साउन २ गते