” उज्ज्वल भविष्य निर्माणको अभिप्रायले काठमाडौं भित्रिने अधिकांश विद्यार्थीहरूकाे राेजाई बन्न पुगेकाे छ कीर्तिपुर । यहाँको बसाइँ , रहनसहन , हावापानी, वस्तुस्थिति इत्यादिले दैनिकी जीवन यापनलाई सहज र सरल तुल्याउने भएकोले अधिक बसाेबासकाे चाप रहनु स्वभाविकै हाे ………..”
फेसबुककाे पानामा आएको एउटा आर्टिकल पढ्दै थिएँ । अति सान्दर्भिक लेख । कीर्तिपुर विद्यार्थीका लागि संघर्ष र भविष्य निर्माणको थलाे भन्ने विषयवस्तुमा आधारित । पढिसकेर म केही कुरा साेंच्दै थिएँ । माेवाइलमा घण्टी बज्याे । हेरें । गीताकाे रहेछ ।
म :- हेलाे !
गीता :- हेलाे कमला, सञ्चै छेउ ?
म :- सञ्चै छु । तिमी ? अनि के छ त खबर, सबै ठिकै हाेला नि है ?
गीता :- उम.. ठीकै छ भनाैं । (उनी राेकिईन् ।)
म :- ठीकै छ भनाैं रे ! किन के भाे र ? (मैले प्रश्नको वर्षा गरें ।)
गीता :- आज मलाई अलि टेन्सन परेकाे छ । पढ्न पनि मन लागेन अनि यसाे तिमीलाई सम्झेंर फाेन गरेकाे । के गर्दै थियौ, मैले डिस्टर्व गरे कि ! (उनले अलि अप्ठेरो मानेको भावमा भनिन् )
म :- ल के डिस्टर्व हुनु नि, यत्तिकै बसेकी थिएँ फेसबुक चलाउँदै । काम केही छैन, कतै जानू छैन लकडाउनले ।माेवाईल हेर्ने बस्ने यस्तै त हाे नि। दिन काट्न नि गाह्राे भैराकाे बेला तिमी पनि कस्तो कुरा गरेकी के?भनन के हाे कुरा?(मैले आग्रह गरें ।)
गीता :- के भन्नु खै, कसरी भन्नु …. । (उनी एक छिन राेकिइन् ।)
म :- भनन किन अप्ठ्यारो मानेकी, मन पनि अल्का हुन्छ नि दु:ख बिसाउँदा । (मैले अलि जाेड दिंदै पुन: आग्रह गरें ।)
गीता :- हाे हुन त ….. तर पनि । (उनले कुरा फुकाउन भूमिका बाँधिन् । ) अरू के छ त बुटवलतिरकाे खबर ? लकडाउनकाे असर कस्तो परिराछ? (उनी अब भने खुल्न थालेकाे अनुभूति भएकाे थियोे । )
म :- संसार नै काेराेनाकाे महामारीले त्रसित छ । के गर्नु, यस्तै छ यहाँ पनि । बरू आफ्नाे भनन । घर पनि आइनाै । त्यहाँ त गाह्राे हाेला है झन् । के कसरी बसेकी छेउ, खर्च पानी कसरी म्यानेज गरेकी छेउ ? (मैले उनलाई कुरा खाेल्नकाे लागि थप वातावरण सिर्जना गरिदिएँ ।)
गीता :- अहिलेसम्म त ठिकै छ, चलिराकाे छ गुजारा । (उनले कुरा नसिद्धाउँदै मैले भने)
म :- भर्खरै मात्र मैले एउटा लेख पढेकी थिएँ । कीर्तिपुरमा बस्ने विद्यार्थीहरूले त्यहाँ गर्नुपरेको संघर्ष बारे । अनि तिमीलाई पनि सम्झेँ । ठ्याक्कै फाेन पनि आकाे, खुसी लाग्यो । ए साँच्चै तिमीले केही भन्दै थियाै नि मैले कुरा काटि हालें है ? भनन ।
गीता :- विहानकाे खाना खाएँ, अनि एक छिन फेसबुक चलाएर पढ्न सुरु गर्नुपर्ला साेंचेर बसिरहेकी थिएँ, घरबाट दिदीले फाेन गर्नुभाे । सन्चाे विसन्चाेका कुराकानी भैसकेपछि उँहाले भन्नुभयाे, “तँ त्याे हरिसँग किन बाेल्छेस हँ ? नबाेले हुन्न ? उसकी बुढीले हुने नहुने भनेकी छे रे, “त्याे फलानी कस्ती रैछे अर्काकाे बुढासँग रातविरात नभनी फाेन म्यासेज गर्ने, त्यसकाे म बेईजेत गर्दिन्छु । ” भन्दै आफ्नाे अमाजुसँग कुरा गरेकी रे । के हाे कुरा ?” म त अचम्म परें । “मैले त उस्लाई फाेनै गरेकी छैन । कहिलेकांही फेसबुकमा सन्चाे विसन्चाे भने हुन्थ्यो तर फेसबुकमै पनि कुरा नभकाे धेरै भईसक्याे । मैले त्यस्ताे केही भनेकै छैन त ।” दिदीलाई भने । फेरि दिदीले भन्नुभाे “जे हाेस त्याे केटासँग बाेल्दै नबाेल् । उनीहरु कस्ता छन् थाहा छैन र तलाई, तिललाई पहाड बनाउँछन् । गाँउमा के काम हुन्छ र, कुरा काटेर बस्छन् । बाबू राेयाे । यस्लाई सुताउँछु । पछि फाेन गर्नु ” भनेर दिदीले फाेन काट्नु भाे । मलाई तनाव भयाे ।मैले केही गल्ती नै गरेकी छैन भने किन शंका अनि बेतुककाे आराेप ?
म :- हाे त नि । अनि के गरेउ त ? (थप कुरा जान्ने जिज्ञासाले समर्थित भावमा साेधें )
गीता :- अनि फेसबुक खाेलेर म्यासेज हेरे तर शंका गर्नुपर्ने त केही छैन साेंचे । यसाे हेरेकाे हरीलाई अनलाईन देखेर तुरुन्तै म्यासेज गरें- ” म के सुन्दै छु याे, तिम्रो बुढीले खै के के आराेप लगाउँदै छिन् रे मलाई । के हाे कुरा । तिमीले सम्झाएनाै ?बाल्यकालदेखि सँगै खेली हुर्केका हामी आफ्नै दाजुभाई सरह हाैं भनेर । आज यस्ताे आराेप सुन्दा साह्रै दु:ख लाग्याे । हरीले भने, ” मलाई त्यस्ताे केहि थाहा छैन गीता । मेराे मन एकदमै सफा छ । म तिमीलाई कहिल्यै गलत साेंच्दैन । संसारमै म तिमीलाई एउटा असल साथी मान्छु । तर आज तिमीले मेराे चित्त दुखायाै ।
म:- के भनेकी थियाै र तिम्ले हरीलाई उस्काे चित्त दुख्ने ? (मैले थप प्रश्न गरें )
गीता :- तिमीले दिदी र श्रीमतीलाई सम्झाउनुपर्ने भनेकी थिएँ । तर त्याे विषयमा उसलाई केही थाहा थिएन रे, त्यसैले हाेला ।
म :- ए…….अनि के भयाे त? (मैले अरु कुरा बुझ्ने मनसायले साेधें )
गीता :- तत्काल मैले जवाफ दिएँ, ” हेर हरि म तिमीलाई बुझ्छु तर तिम्रो चित्त दुख्छ भनेर मेराे चरित्रमाथि औंला उठाउँदा पनि केही नभनेर बस्न त सक्दिन नि ।” म अलि आवेशमै आएँ क्यार त्यसपछि उनले भने, “तिमीलाई गाह्राे भकाे भए ठीकै छ । अबदेखि म कुरा गर्देन तिमीसँग । मलाई ब्लक गर्देउ फेसबुकबाट ।” भनेर उनी अफलाईन भए । मैले केही कुरा बुझाउँछु भनी म्यासेज टाईप गरें तर त्याे फेल भयाे । उनले नै ब्लक गरेछन् ।” (उनले दु:खित भावमा भनिन् )
म :- ए…… त्यस्तो पाे रैछ है । (उनकाे कुरा सुनेर दु:ख लाग्याे । एकछिन म स्तब्ध भएँ ।)
गीता :- कमला, के केटा र केटी कहिल्यै राम्रो साथी रहिरहन सक्दैनन् र ? जहिले याे विषयमा साेच्छु समाज बदल्ने कल्पना गर्छु त्यसै अनुसार व्यवहार गर्छु तर खै परिवर्तन त …….। बाेल्दैमा पनि शंका गर्ने कस्ताे छ है हाम्रो समाज । साह्रै दु:ख लाग्छ याे स्थिति देखेर ।(उनले दु:ख व्यक्त गर्दै फेरि भनिन्) “म माथि झुटाे आराेप आयाे भनेर दु:ख लागेकै छैन मलाई । तर याे समाजकाे संरचना देखेर दु:ख लाग्छ । यी यस्तै कुरामा अल्झिएकाे छ है हाम्रो समाज । अनि कसरी प्रगति हाेस् । आफ्नै छरछिमेकका दाजुभाई दिदिबहिनीलाई गलत सम्बन्धकाे आराेप लगाईन्छ यहाँ ।”
म :- तिमीले ठीक भन्यौं गीता । के गर्ने जनताकाे प्रतिनिधित्व गरेर सत्तामा गएकाहरू आफ्नाे दुनाे साेझ्याउनमा व्यस्त छन । समाजमा भएका विकृति र गलत प्रवृत्तिलाई हटाउने, उनीहरूलाई कसरी नैतिकवान् बनाउने भन्ने तर्फ कुनै चासाे छैन । नीति नियमहरु सबै कागजकै ठेलीमा सीमित छन् । जनताकाे जीवनस्तर उकास्नुपर्छ भन्ने कुरामा ध्यानै जाँदैन । याे पनि यसैकाे परिणति हाे केही हदसम्म ।
गीता :- अँ हाे त नि । (उनले समर्थन जनाइन् अनि फेरि थपिन्) “मैले याे कुरा थाहा पाउनासाथ हरिकाे दिदिलाई फाेन गरेर सम्झाई बुझाई गरेकाे हाे ।” उहाँले सरी भन्नुभयाे पछि । “मैले गलत बुझे । मलाई त बुहारीले त्यस्तो कुरा भन्दा किन त्यसाे गरेकी रैछन त गीताले, त्यस्तो गलत बाेल्ने, गर्ने मान्छे त हाेईन । तैपनि बुहारीले दु:ख पाेखेकाले शंका लाकाे हाे । त्यसैले दु:ख नमान्नु है गीता । तिमी पढेलेखेकी बुझ्ने मान्छे हाै, मेरी बुहारी अबुझ छे । धेरे पढेलेखेकी पनि छैने । “
म :- अनि के भन्याै त उहाँलाई?(मैले प्रश्न गरें )
गीता :- के भन्नू,”ठीकै छ दिदी । म त हजुर अनि हरिलाई अाफ्नै दिदी दाजुभाई भनेर राम्रोसँग कुरा गर्थें । हजुरको बुहारीले यस्तो गलत साेंचेकी रैछिन, मलाई थाहा भएन । हजुरहरुकाे पारिवारिक सम्बन्ध नै विग्रने डर हुन्छ भने म कुरा नगराैंला। उस्ले हाई हेल्लाे भन्दा जवाफ दिएकी हुँ, सञ्चाे विसन्चाे साेधेकी हुँ । गाउँघरतिरकाे खबर बुझ्न खाेजेकि हुँ । त्यहि थियाे मेराे अन्जानमा भकाे गल्ती । सरी दिदि, गाह्राे पिराे नमान्नु हाेला ।” यति भनेर फाेन राखेकाे मैले त।(उनले दु:खित भावमा भनिन् ।)
म :- अझै अर्को महत्त्वपूर्ण कुरा त के हाे भने नि गीता, “हाम्रो समाजका महिलाहरु अशिक्षित बेराेजगार र परनिर्भर भएकाले पनि यस्ताे समस्या देखा परेकाे हाे । त्यसमाथि हाम्रो देशका युवाहरुलाई स्वदेशमै राेजगारीकाे बन्दाेवस्त नभएकाे, अलिकति पैसा ऋणधन गरेर कामकाे लागि विदेश जान सक्नेहरु विदेशतिर जाने, नसक्नेहरू गाँउमै विभिन्न कुलतमा फस्ने कारणले गर्दा पनि याे समस्या । यी यस्ता समस्यालाई विस्तारै कम गर्दै जानुपर्छ । एकैबाजीमा परिवर्तन गर्न सकिँदैन । ” नबुझेकालाई बुझाउँदै जानुपर्छ ।(मैले सुझाव दिने शैलीमा भने ।)
गीता :- आज धेरै दिनपछि लामाे कुराकानी भयाे है हाम्रो , एकदम खुसी लाग्याे । अहिले त मन पनि चङ्गा जस्तो भाे । थ्याङ्क्य है कमला । “
म :- साथी भनेकै यसैका लागि त हाे नि, के काे थ्याङ्क्यु नि? तिमीले गर्दा समाज अनि मानवीय स्वभावबारे केही कुरा गर्न पाईयाे । खुसी छु म पनि एकदमै । सम्झिंदै गर्नु ल । (कुरा टुङ्ग्याउने भावमा मैले भने)
गीता :- हुन्छ त अहिले राखे है त ? (उनी विदा भईन्)
म :- हुन्छ वाई ।(म पनि विदा भए)
वास्तवमै याे त एउटा प्रतिनिधि घटना मात्रै हाे । नेपाली समाजमा यी यस्ता घटना सामान्य हुन् । याे सब समाज व्यवस्थाकै दाेष हाे । यी एक दुई पात्रलाई के दाेष ? त्यही घरमा भएकाे घटना उसकाे दिदी, श्रीमतीलाई थाहा हुने अनि हरीलाई थाहा नहुने! मलाई लाग्छ याे सबकाे कारण महिलाहरू शैक्षिक , सामाजिक, साँस्कृतिक रुपमा आत्मनिर्भर नहुनु नै हाे । ( यस्तै कुराहरु साेंच्दै थिएँ , आमाले बाेलाउनु भाे।)
आमा :- छाेरी ! भित्र जा त, नानी राेए जस्तो छ ।
म :-हवस् मम्मी । म हेर्छु । (भन्दै म जुरुक्क उठेर माेबाईल चार्जमा राखी नानी हेर्नतिर लागे ।)