लुम्बिनी प्रदेश,रूपन्देही 

परिचय

 लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रूपन्देही जिल्लामा शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र रहेको छ। धार्मिक तथा ऐतिहासिक धरोहर बोकेको यसै क्षेत्रको नामबाट लुम्बिनी प्रदेशको नामांकन गरिएको छ। सुन्दर सहर भैरहवा यस जिल्लाको सदरमुकाम हो। जिल्ला समन्वय समिति रूपन्देहीका अनुसार रूपन्देही  जिल्ला  ८३o १२”१६” देखि ८३o ३८” १६” पूर्वी देशान्तर र २७o २०” ००” देखि २७o४७”२५” उत्तरी अक्षांशमा अवस्थित  यो जिल्ला १३६० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

 यस जिल्लाको पूर्वमा नवलपरासी(पश्चिम), पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ । समुद्र सतहबाट १०० मिटर देखि १२२९ मिटरको उचाईमा रहेको यस जिल्लालाई चुरे क्षेत्र, भावर क्षेत्र र तराई/मधेस गरी ३ भौगोलिक क्षेत्रहरुमा विभाजन गर्न सकिन्छ । २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ११२१९५७ रहेको छ जसमध्ये ५५०४७८ पुरुष र ५७१४७९ महिला छन । भगवान गौतम बुद्धको पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिन्छ।

नामाकरण

यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्धसँग जोडिएको छ। गौतम बुद्धको आमा माया देवी यसै जिल्ला देवदहको भवानीपूरमा जन्मिएकी थिइन। उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रूपिदेवी भनिन्थ्यो र त्यही शब्द रूपिदेवीवाट रूपिन्देही र रूपन्देही भएको हो भन्ने भनाई छ।

ऐतिहासिक पृष्ठभूमि

 विश्वभरका बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी अत्यन्त महत्त्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्ध प्रति अघाध आस्था राख्ने भएकोले हिन्दु धर्मावलम्बीका लागि समेत लुम्बीनी महत्त्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरूले शताब्धि औ देखि विभिन्न व्यक्तित्वहरूले लुम्बिनीको तिर्थाटन गरेको तथ्यहरू खुल्छन् । प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरू उपगुप्तको मार्ग दर्शनमा इ.पु।२४९ मा लुम्बिनीको तीर्थ यात्रा गरेका थिए । उनले हिंद बुधे जाते शाक्यमुनीति अर्थात यहां शाक्यमुनि बुद्ध जन्मनु भएको थियो भन्ने शिलालेख समेतको ढुङाको स्तम्भ खडा गरे जसलाई हाल प्रसिद्ध अशोक पिलरका रूपमा लुम्बिनीमा देख्न सकिन्छ ।

विश्वभरका बौद्धमार्गीहरुको चारधाम मध्येको एक–भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी, आफ्नो राज्य विस्तारका लागि युद्ध गर्दा गर्दा आजित भएर शान्तिको खोजीका लागि भौतारिदा लुम्बिनी आएर शान्ति प्राप्त गर्ने भारतका सम्राट अशोकले लुम्बिनी भ्रमण गरेका हुन। ऐतिहासिक कालमा पाल्पा राज्यका राजा मणिमुकुन्द सेनको शितकालिन दरवार रहेको स्थान हालको ‘मणिमुकुन्दसेन उद्यान–फूलवारी’ तथा नेपाल तथा अंग्रेज बीचको युद्धमा अंग्रेज सेनाका मेजर जनरल उडलाई नेपाली बीर कर्नेल उजिरसिंहले पराजित गरी बहादुरी प्रदर्शन गरेको ऐतिहासिक जितगढी किल्ला तथा आराध्यदेव शिवको आराधना स्थल शिद्धवावालाई आफूमा समेटेको रुपन्देही जिल्लामा प्रचारमा आउन नसकेका फर्साटिकर (भगवान विष्णुका अवतार परशुरामले शत्रुको संहार गरी हिड्ने क्रममा आफ्नो हतियार ‘फर्सा’ टेकाएको स्थान), पर्रोहा–परमेश्वर बोलबम धाम, नैरनापुर शिवधाम, मानपकडी गाविसमा अवस्थित दरवाह (मध्यकालिन राजाको चमत्कारिक दरवार), भगवान गौतम बुद्धको मावली देवदह, शंकरनगर गाविसमा अवस्थित बनबाटिका, मानवपूर्खा ‘रामापिथेकस’को अवशेषस्थान तथा बुटवलको हिलपार्क आदि जस्ता ऐतिहासिक बिरासत बोकेका महत्वपूर्ण स्थल रूपन्देही जिल्लामा प्रशस्त रहेका छन् ।

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ५ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १० रहेको छ।

स्थानिय तहको विभाजन

संघिय संरचना अनुसार रूपन्देही जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  १ उपमहानगरपालिका  ५ नगरपालिका र १० वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।

  • बुटवल उपमहानगरपालिका
  • देवदह नगरपालिका
  • लुम्बिनी साँस्कृतिक नगरपालिका
  • सैनामैना नगरपालिका
  • सिद्धार्थनगर नगरपालिका
  • तिलोत्तमा नगरपालिका
  • गैडहवा गाउँपालिका
  • कञ्चन गाउँपालिका
  • कोटहीमाई गाउँपालिका
  • मायादेवी गाउँपालिका
  • ओमसतिया गाउँपालिका
  • रोहिणी गाउँपालिका
  • सम्मरीमाई गाउँपालिका
  • सियारी गाउँपालिका
  • शुद्धोधन गाँउपालिका

पर्यटकीय स्थल

रुपन्देही जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थानहरुमा लुम्विनी, मणिमुकन्द सेनको दरवार, फुलवारी उद्यान, देवदह, जितगढी किल्ला, (बुटवल), प्रकटेश्वर महादेव (गोनाहा), मर्चवारी देवी (बोगडी), बोलबम धाम (सैनामैना नपा), सैनामैना ऐतिहासिक स्थल (सैनामैना नपा), सिद्धवावा धाम (बुटवल), शिवालय मन्दिर, वसडिलवा र नारायण मन्दिर (सिद्धार्थ नगर), मन्ठारी वावा र काली माई (विष्णुपुरा), सतीया माई (पटखौली) आदि रहेका छन । रुपन्देही जिल्लामा तिनाउ, दानव, रोहिणी, घोडाहा, डण्डा, इड्डरिया, कञ्चन, कोठी, सुखरा,जबई आदि प्रमुख नदिहरु रहेका छन् । यी नदीहरुका अतिरिक्त अन्य ससाना नालाहरु पनि छन् जुन अस्थायी प्रकृतिका भएको हुनाले केवल वर्षामा मात्र यिनको अस्तित्व देखा पर्दछ । यस जिल्लामा वग्ने सबै नदीहरु उत्तरवाट दक्षिण तिर वग्ने गर्दछन् ।

लुम्विनी

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल यो ठाउँ नेपालको लुम्बिनी प्रदेशको रूपन्खेही जिल्लामा पर्दछ। विभिन्न बौद्ध वाङ्मयहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको छ भने सो उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेको पाइन्छ । इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएका थिए । यो कुराको जानकारी इसाको पाँचौं शताब्दीमा आएका चिनियाँयात्री फाहियान र सातौ शताब्दीमा आएका अर्का चिनियाँ यात्री, ह्वेनसाङले विस्तृत बयान आफ्ना यात्रा विवरणहरूमा दिएका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटियो । उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ । यस अभिलेखको प्राप्तीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो भने त्यसैबेलादेखि विश्वभर गौतम बुद्धको जन्मस्थल नेपालको साविक पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल,रूपन्देही जिल्लामा पर्ने कुरा स्थापना भयो| त्यस समय कपिलवस्तु गणराज्यमा महाराज शुद्धोदनले राज्य गरिरहेको थिये । महारानी महामायादेवी कपिलवस्तुबाट आफ्नो माइतीघर देवदहतिर गइरहँदा बाटोमा पर्ने लुम्बिनीको प्राकृतिक सौन्दर्यले रमय उद्मानमा एकछिन आराम लिनुभएकै बेला उहाँलाई प्रशव व्यथा भयो । त्यहीको एउटा सालवृक्षमुनि वैशाखपुणिमाका दिन बोधिसत्व सिद्धार्थको जन्म भयो । यो करिब २६०० वर्ष अगाडिको कुरा हो । यो हामी नेपालीहरूको लागि गौरवको विषय हो ।

देवदह

प्राचीन कोलिय राज्यको राजधानी देवदहमा रहेको ऐतिहासिक पाकरि वृक्ष एसियाकै ठुलो रुख मानिन्छ । करिव २६ सय बर्ष पुरानो पाकरी प्रचारप्रसार र उचित ब्यवथापनको अभावमा ओझेलमा परेको छ ।बौद्धकालिन मानिने यस् वृक्षमा हात्ती नजिक नआउने , चराले गुड नलाउने र वृक्षमा एक तर्फको पात झर्दा अर्को तर्फको पात पलाउने कारणले वृक्ष सधै हरियो देखिने गरेको छ । झन्डै १ कट्ठा क्षेत्रफलमा फैलिएको पाकरी वृक्षलाई साक्षी राखेर प्रेम प्रस्ताव राखे प्रेम सफल हुन्छ भन्ने जनबिश्वास रहेको छ। देवदह भगवान गौतम बुद्धको मावलि रहेकाले बुद्ध मावलि आउदा उक्त पाकरी वृक्ष मुनि बसेर ध्यान गरेको किवद्न्ती रहेको छ । पुर्व पश्चिम् राजमार्गमा पर्ने खैरेनी चोकबाट लगभग २ कि,मि ग्राभिल सडक हुँदै पाकरी पुग्न सकिन्छ। भगवान बुद्धको जन्मकालिन मानिने पाकरी वृक्ष संरक्षणको अभावमा जिर्ण र बोटको क्षति हुँदै गएको छ । भगवान गौतम बुद्धको जिवनिसंग सम्बन्धित यो पाकरि वृक्ष संरक्षण र सम्बर्द्धनमा लुम्बिनी विकास कोष र राज्यले खासै ध्यान नदिएको प्रति स्थानीय को गुनासो रहेको छ । यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकियो भने देवदह संग संगै सिङ्गो देशकै पर्यटन फस्टाउने देखिन्छ।

सिद्धबाबा मन्दिर

सिद्धबाबामन्दिर रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा अवस्थित शिव मन्दिर हो। यस मन्दिरलाई नेपालभरका मानिसहरू र प्रायः पाल्पा र रुपन्देही र छिमेकी जिल्लाका हिन्दूहरूले दर्शन गर्छन्। मन्दिरमा दर्शन गर्न आउने भक्तजनको मनोकामना पूरा हुने जनविश्वास छ। मानिसको मनोकामना पूरा भएपछि परेवा छोड्ने चलन छ। यस परम्पराले मन्दिर वरिपरि परेवाहरूको संख्यामा ठूलो योगदान पुर्‍याएको छ। हिन्दू धर्मावलम्बीहरूले शनिबार, सोमबार र शिवसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका विभिन्न धार्मिक चाडपर्वका दिनमा सिद्धबाबाको मन्दिरमा पूजाआजा गर्ने गर्दछन्। शिवरात्रिको अवसरमा ठूलो संख्यामा हिन्दू धर्मावलम्बीहरु मन्दिरमा पूजाआजा गर्न जाने गर्दछन्। पौराणिक कथा अनुसार यो मन्दिर विक्रम संवत सुरु गर्ने राजा विक्रमादित्यका जेठा भाइ राजा भर्तृहरिको तपस्यास्थल भएको मानिन्छ।

देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ। 

              सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आन्तरिक पर्यटक बृद्धिको अभियान।स्वागत गर्छ नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) , हेर्न आउ प्रकृतिको बरदान॥

लुम्बिनीप्रदेश, नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) परिचय नेपालको लुम्बिनी प्रदेश अन्तर्गत