लुम्बिनी प्रदेश,दाङ

परिचय

लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाका अधिकतम भू-भाग उर्वर भएकोले यो पर्याप्त आर्थिक सम्भावना बोकेको जिल्ला हो। ऐतिहासिक तथा सांस्कृतिक दृष्टिकोणले पनि यो जिल्ला छुट्टै पहिचान र महत्व बोकेको जिल्लाको रूपमा चिनिन्छ ।  नेपाल मानचित्रमा ८२० २’ देखि ८५० ५४’ सम्म पूर्वी देशान्तर र २७० ३६ देखि २८० २९ सम्म उत्तरी अक्षांशबीच फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल २९५५ वर्ग कि.मि. छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कुल जनसंख्या ६,७६,२७७ जसमध्य पुरुषको संख्या ३,२१,९०१ र महिलाको संख्या ३,५४,३७६ रहेको छ। यस जिल्लाको दक्षिणी सीमानामा भारतको उत्तर प्रदेशको बलारामपुर र श्रावस्ती गरी दुई वटा जिल्ला पर्दछ भने पश्चिममा सल्यान र बाँके जिल्ला पर्दछ ।त्यसैगरी उत्तरमा सल्यान, प्यूठान र रोल्ला जिल्ला पर्दछन् । त्यस्तै पूर्वी सीमानामा प्यूठान र अर्घाखाँची तथा कपिलवस्तु जिल्ला पर्दछन् । भौगोलिक रुपमा यस जिल्लामा भित्री मधेशका समथर फाँटहरु, यी फाँटहरुलाई चारैतिर बाट घेर्ने साना तथा मध्यम पहाडहरु समेतबाट निर्मित दुई उपत्यका रहेका छन् । माथिल्लो उपत्यका दाङ र तल्लो उपत्यका देउखुरीको नामबाट परिचित छन् ।

 दाङ उपत्यका नेपालकै ठुलो उपत्यकाको रुपमा मात्र परिचित नभई एसियाकै ठुला उपत्यकाहरु मध्ये एक मानिन्छ । जिल्लाको घोराही उप-महानगरपालिकाको सैघा र बंगलाचुली गाउँपालिकाको स्यूजा, काभ्रे, लोहारपानी, हाँसीपुर स्थानहरु पहाडी क्षेत्रमा पर्ने र विकट मानिन्छन् । पहाडी धरातल (महाभारत तथा चुरे) समेत रहेका छन् । दाङ उपत्यका महाभारत र चुरे पहाडको बीचमा अवस्थित छ भने देउखुरी उपत्यका चुरे पहाड र डडुवा डाँडाका श्रृंखला बीचमा रहेको छ । जिल्लाको कुल क्षेत्रफलको करिव २/३ क्षेत्रफल (१९२९.५५ बर्ग कि.मि.) वन जंगलले ढाकेको छ भने कृषि क्षेत्र ६९९.५ बर्ग कि.मि., अनुत्पादित क्षेत्र २०४.४५ बर्ग कि.मि. र चरीचरण क्षेत्र  १२९.५ बर्ग कि.मि. रहेको छ ।यहाँ कोइला र चुनढुङ्गाको साथै तामा, मट्टीतेल लगायतका खनिज पदार्थको प्रचुर सम्भावना रहेको मानिन्छ । जिल्लाको महाभारत तथा दाङ उपत्यकामा चिम्ट्याइलो माटो, चुरे क्षेत्रमा बलौटे दुमट माटो र देउखुरी उपत्यकामा दुमट माटो पाइन्छ । यहाँका खोलानालाहरुमा प्रशस्त मात्रामा वालुवा, ढुङ्गा तथा यी दुबैको मिस्कट पाइन्छ । जिल्लामा थारु, क्षेत्री, ब्राह्मण, नेवार, मुसलमान, मगर र दलित समुदायको मिश्रित बसोबास रहेको छ।

नामाकरण

हापुर रतनपुर बगिया निवासी श्री टेकनाथ गौतमका अनुसार दाङ देउखुरी जिल्ला भन्नाले दाङ र देउखुरी दुबै उपत्यका र पानी ढली बुझिन्छ। पहाडका मैदानलाई बुझाउने संस्कृतको “द्रोण” शब्दबाट दाङ र पहि– लो बस्ती दवपुरबाट देवपुरी भन्दा भन्दै देउखुरी बनेको हो।

ऐतिहासिक पृष्ठभूमि

पश्चिम–दक्षिणबाट यहाँ आइ पहिले बस्ने जाति थारु हुन्। ती पछि बाहुन र अनि पछि अरु जातिका पहाडबाट यहाँ आई बसेको बुझिन्छ। बि.स. २०१४ सालसम्म यहाँ बढी संख्या थारुको, दोस्रो बाहुनको र अनि अरु जातको थियो। नयाँ जमिन आवाद गर्न पाइने व्यवस्थाले बढी संख्यामा थारुहरू नयाँ मुलुकतर्फ सर्न लागे। बिर्ता उन्मुलन तथा भूमिसुधार थोरै समयका अन्तरालमा भएको हुनाले थारुहरूले बाहुनलाई धमाधम जमिन बेच्न लागे। त्यसैबेला दाङबाट औलो उन्मूलन गरियो। औलोको डर रहेकोले थारुले छाडेको जमीनमा पहाडबाट मानिसको ओइरो लाग्यो। फलस्वरूप थारुहरूको संख्या घट्दै गयो।

अघिदेखि दाङको उत्तरी काँठ पहाडी राजाहरूका अधिनमा र दक्षिणको मैदान भाग थारु राजाका अधिनमा थियो। बिक्रमको चौधौँ शताब्दीको आखिरतिर यो जुम्लाको अधिनमा थियो। वि.सं.१४८० तिर सवारी कोटका राजा रतन पाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भए। केही समयपछि उनले बझाङबाट राजकुमार झिकाई आफ्ना ठाँउमा राजा बनाएर आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारत तिर लागे। रतननाथले छाड्दा दाङ राज्यको विस्तार शिवराज इलाकाको अर्रासोता देखि पश्चिम राप्तीसम्मको तुलसिपुर भनिने इलाकामा पनि थियो। नेपालको एकिकरणका बेला सम्वत् १८४३ मा दाङका राजा नवल सिंहले तापाका लडाईमा विरगति प्राप्त गरे।

पछि उनका राजकुमार दिलेर सिंहले पूरा दाङ देउखुरीको रक्षा गर्न सकेनन्। आफ्नो आधा राज्य तल्सीपुरको तराई मात्र बचाई त्यहीका मात्र राजा भै बसे। गोर्खालीले जितेको दाङको देउखुरी पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए। वि. सं. १८६५ मा सल्यानको राज्य नेपालमा मिल्दा दाङ देउखुरी पनि नेपालमा मिल्यो। वि.सं. १८९४ सालमा दरबारका कुनै कुमारीको विवाह गरिदिंदा सल्यानी राजा बंशज तेजबहादुर शाहलाई राजा पद र पश्चिमी दाङ फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ देउखुरी खण्डीत भयो। नेपाल एकिकरण पश्चात् दाङ देउखुरी सल्यान गौंडाका मातहतमा थियो। वि.सं. १९३८ सालमा दाङको मैदानी भागलाई तौलिहवा गोश्वाराका, १९९६ सालमा भैरहवा गोश्वाराका २००३ सालमा नेपालगन्ज गोश्वाराका मातहतमा गराइएको थियो। २००७ सालसम्म यहाँ माल, अदालत, हुलाक, इन्सपेक्टर अफिस मात्र थिए। २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानियो र यहाँ वडा हाकिम रहन थाले। २०१७ सालमा राप्ति अञ्चलको सदरमुकाम दाङ देउखुरी मानिए पछि यहाँ अञ्चलाधिस रहन थाले। फलावाङ राज्य वि.स. २०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र अघिदेखि सल्यानतर्फ रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङ देउखुरीमा मिलेपछि दाङ देउखुरी आजको अवस्थामा आयो। 

भौगोलिक अवस्थिति

  • अक्षांश: २७.३७” उत्तर देखि २८.२९” उत्तरसम्म
  • देशान्तर: ८२.२” पूर्व देखि ८२.५४” पूर्वसम्म
  • सिमाना: पूर्व कपिलबस्तु, अर्घाखाँची र प्युठान ,पश्चिम बाँके र सुर्खेत, उत्तर सल्यान र रोल्पा, दक्षिण भारतको उत्तर प्रदेश
  • क्षेत्रफल: ३०५९.८१ वर्ग कि.मी.
  • औषत लम्बाइ: ९० कि. मी.
  • औषत चौडाइ: ७० कि.मी.
  • सबभन्दा अग्लो भाग: हाँसीपुर अर्खले (समुन्द्र सतहदेखि २०५८ मी. उचाईमा)
  • सबभन्दा होँचो भाग: सिसहनिया (भानपुर समुन्द्र सतहदेखि २१३ मी। उचाइमा)

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ३ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ६ रहेको छ।

स्थानिय तहको विभाजन

संघिय संरचना अनुसार दाङ जिल्लाको स्थानियतहको विभाजन साविकका उपमहानगर, नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ उपमहानगरपालिका १ नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।

  • घोराही  उपमहानगरपालिका
  • तुल्सीपुर उपमहानगरपालिका
  • लमही  नगरपालिका
  • बबई गाउँपालिका
  • शान्तिनगर गाउँपालिका
  • दङ्गीशरण गाउँपालिका
  • राप्ति गाउँपालिका
  • गढवा गाउँपालिका
  • बंगालाचुली गाउँपालिका
  • राजपुर गाउँपालिका

प्रमुख नदी र तालहरू

राप्ती र बबई यस जिल्ला भई बग्ने ठुला नदीको रुपमा परिचित छन् । राप्ती दाङ जिल्लाको दक्षिणी उपत्यका देउखुरीको पूर्वबाट पश्चिम भएर बगेको छ भने बबई दाङ उपत्यकाको दक्षिणमा रही पूर्वबाट पश्चिमतर्फ बगेको छ । यी नदीहरु बाहेक यस जिल्ला भएर बग्ने खोलानालाहरुमा सिस्ने खोला, कटुवा खोला, सेवार खोला, पत्रे खोला, संक्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, गहते खोला, भमके खोला, बागर खोला, बहुला खोला, च्याटी खोला, ट्वाङ खोला आदि प्रमुख हुन् । त्यसैगरी जिल्लाका प्रमुख ताल, तलाउ तथा दहहरुमा बाह्रकुने दह, सप्तकुण्ड, जखेरा ताल, चरिङ्गे दह, भोटै दह, किचेनी तह, ज्यामिरे दह पर्दछन् भने पुरन्धारा छहरा र सुन छहरा यस जिल्लाका प्रमुख झरनाहरु हुन् ।

धार्मिक तथा पर्यटकीय क्षेत्र

एसियाकै अग्लो त्रिशूल भएको धारापानीमा रहेको पाण्डवेश्वर महादेवको मन्दिर, एसियाकै ठूलो उपत्यका, राप्ती शान्ति उद्यान, बुद्ध चमेरो गुफा, अम्विकेश्वरी मन्दिर घोराही,कालिका भगवती मन्दिर घोराही, पाण्डवेश्वर शिव मन्दिर, बराहक्षेत्र वाह्रकुने ताल घोराही–७, गढीटाकुरा मन्दिर हापुर, जाल्पादेवी मन्दिर रामपुर, कालिका– मालिका मन्दिर विजौरी, बगार बाबा मन्दिर सतवरिया, वागेश्वरी मन्दिर स्युजा, देवीकोट मन्दिर हाँसीपुर, शुक्रेश्वरी मन्दिर उरहरी सुकौरा, शिद्धेश्वर शिव मन्दिर उरहरी, त्रिसिद्धेश्वरी मन्दिर तुल्सीपुर, ॐ शिरडी साई मन्दिर घोराही, राधाकृष्ण मन्दिर तुल्सीपुर, सत्यसाई केन्द्र घोराही,  रामजानकी मन्दिर कोइलावासआदि प्रमुख मन्दिरहरु हुन्। यी मन्दिरहरु वाहेक अन्य थुप्रै मन्दिरहरु यस जिल्लामा अवस्थित छन्।

जखेरा ताल

जखेराताल लुम्बिनी प्रदेशको दाङ जिल्लाको लमही नगरपालिका अन्तर्गत पर्ने एउटा ताल र रमणीय स्थल हो। देउखुरी उपत्यकाको मध्य-उत्तरी भागमा अवस्थित यो ताल कर्णाली प्रदेश , सुदूरपश्चिम प्रदेश  र गण्डकी प्रदेश बाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यको रूपमा रहेको छ। यो ताल दाङ जिल्लाको एक प्रमुख पर्यटकीय स्थल हो। यस ताल भित्र र बाहिर गरी जम्मा चार वटा मन्दिर निर्माण गरिएको छ। यहाँ घुम्न आउने पर्यटकमाझ वनभोज क्षेत्रको लागि लोकप्रिय रहेको यस ताल क्षेत्रमा माघी र शिवरात्रि मा भब्य मेला समेत लाग्ने गर्दछ। प्रायः वर्षैभरी नै चहलपहल रहने यस ठाउँमा दशैं र तिहार सकेपछिको २-३ महिनासम्म विशेष भिडभाड हुने गर्दछ। थारू समुदायको बाहुल्यता रहेकोले यस क्षेत्रमा माघी पर्वमा मेला लाग्ने गरेको छ। साथै शिवरात्रीमा यहाँ भजनकृतन पुजापाठ र मेला लाग्ने गरेको छ।

बाह्रकुने दह

बाह्रकुनेताल दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. १३ मा अबस्थित छ। यो तालमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम “बाह्रकुने ताल” रहन गएको भनाइ छ। सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने तालको सौन्दर्य अतुलनीय छ। पर्यटकीय सम्भावना प्रचुर रहेर पनि आवश्यक प्रचार प्रसारमा अभावका कारण ओझेलमा परेको यो ताल लुम्बिनी प्रदेशको एउटा नमुना ताल हो। यो धार्मिक एवम पवित्र स्थल पनि हो। खासगरी माघेसङ्क्रन्तिको दिन यहाँ श्रद्धालु भक्तजनहरूको ठुलो मेला लाग्ने गर्दछ।

बगरबाबा मन्दिर 

बगरबाबा धार्मिक पर्यटकीय क्षेत्रलाई रिहार नामले पनि चर्चित छ । स्थानीय बुढापाका अनुसार आज भन्दा झण्डै पाँच हजार वर्ष पहिले रिहार धामको उत्पति भएको हो, धार्मिक विश्वास अनुसार द्वापर युगमा ऋषीमुनीहरुले विहार गरेको हुँदा ऋषीविहारबाट अपभ्रम्स भई रिहार रहन गएको बताइन्छ । बगरबाबा धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व बोकेको रिहार क्षेत्र निकै पुरानो धामको रुपमा परिचित छ ।यो मन्दिरमा चिच्याएर भाकल गर्ने विश्वास छ र त्यो अनुसार नै भाकल गर्ने चलन छ । रिहारमा बगर बाबा, ब्राह, शिव मन्दिर र तातो पानीको कुण्ड छ । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने र चमर रोग निको हुने धार्मिक विश्वास छ ।पौराणिक नाम बाँगड बेलहरीबाट बगार बन्न पुगेको भनिन्छ । सत्ययुगमा भगवान शिवले बद्रिनारायणबाट पठाएको तप्तकुण्डको पानी सँधै तातो हुन्छ। तप्तकुण्डमा स्नान गरे छालाको रोगबाट मुक्ति पाइने विश्वास अझै भक्तजनमा छ । त्यो कुण्डमा ५० वर्षअघि दाल, चामल र नुन राखी एउटा टालोमा बाँधेर राखिदिए खिचडी पाक्थ्यो भन्ने विश्वास गरिन्छ । भगवान् कृष्णको परिवारले खाँदै गरेको एउटा रोटीमा झिङ्गा बसेपछि अब कलियुग सुरुवातको संकेत मानी कृष्ण मथुरा गएको र त्यो रोटी ढुंगा बनेको कथन छ । यहाँ गाई चराउने मामा-भाञ्जी राति सुतेकै समयमा लोप भएको विश्वास गरिन्छ । मन्दिरभित्र मामा भाञ्जी सुतेको मूर्ति निर्माण गरिएको छ भने त्यहि मन्दिरको छेउमा मामी सौँरी अर्थात माइजुको मन्दिर बनाइएको छ ।

देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ। 

            सङ्कलन: पि.एस. क्षेत्री,  स्रोत: गुगल 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आन्तरिक पर्यटक बृद्धिको अभियान।स्वागत गर्छ नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) , हेर्न आउ प्रकृतिको बरदान॥

लुम्बिनीप्रदेश, नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) परिचय नेपालको लुम्बिनी प्रदेश अन्तर्गत