लुम्बिनी प्रदेश, बर्दिया

परिचय

लुम्बिनी प्रदेशमा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्नभण्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको पुर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश को बहराईच जिल्ला पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल २०२५ वर्गकि.मी. मध्ये दुई तिहाइ भन्दा बढी भु-भाग (६८.७६प्रतिशत)  तराईको समथल जमिनले ओगटेको छ भने बाँकी भाग (३१.२४ प्रतिशत) चुरे पर्वत पर्दछ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कुल जनसंख्या ४,६०,८३१ मध्य पुरुषको संख्या २,१७,८५० र महिलाको संख्या २,४२,९८१ रहेको छ। बिगतमा आदीबासी ‍थारुहरुको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरुमा बाहिरी जिल्लाहरुबाट बसाईसराईको क्रम बढेसंगै जातिय र साँस्कृतिक बिबिधता रहेको छ ।

बि.स. १९१४ मा भारतमा भएको सिपाही बिद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले ईष्टईण्डिया कम्पनीलाई सहयोग गरेवापत बि.स. १८७३ को सुगौली सन्धीबाट गुमेको भु-भाग मध्ये बि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कंञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगाएत उल्लेखित जिल्लाहरु नयाँ मुलुकको रुपमा पनि चिनिन्छन । बर्दिया जिल्ला बढैया तालको जिल्ला, गजराज हात्तिको जिल्ला, थारु बहुलको जिल्ला, जङ्गलै जङ्गलको जिल्ला, कृष्णसारको जिल्ला, पन्टुन पुलको जिल्ला तथा एक खम्बे पुलको जिल्लाको आदि नामले पनि परिचित छ।

नामाकरण

यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्ये केही यस प्रकार छन –

  • स्थानीय थारुभाषामा गाई गोरुलाई वलिबर्द भनिने र यहाँका गाई गोरु राम्रा मोटाघाटा र बलिया हुनेहुँदा यो ठाउँलाई वलिबर्द भनिएकोमा पछि अपभ्रंस भई बर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ। ऐश्वर्य र समृद्धिका प्रतिकका रूपमा रहेको गोरुलाई संस्कृत भाषामा पनि वलिबर्द नै भनिन्छ।
  • पदनाह गाविसमा वारवर्दिया भन्ने गाँउ छ पहिले यसै ठाउँमा हरिहर राजाको दरबार थियो। बारबर्दियामा खेतिको लागि उन्नत जमीन भएको कारण बाहिरवाट बसाई सराई गरी यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ।
  • थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ। वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरण क्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरू धेरै बसोबास गर्ने भएकाले पछि वर्दवाबाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ।

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

स्थानिय तहको विभाजन

संघिय संरचना अनुसार वर्दिया जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  ६ नगरपालिका र २ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।

  • गुलरिया नगरपालिका 
  • मधुवन नगरपालिका 
  • राजापुर नगरपालिका 
  • ठाकुरबाबा नगरपालिका 
  • बाँसगढी नगरपालिका 
  • बारबर्दिया नगरपालिका 
  • बढैयाताल गाउँपालिका
  • गेरुवा गाउँपालिका

हावापानी

यस जिल्लाको भौगलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चुरे क्षेत्रमा शितोष्ण र तराई क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहाँको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म रेकर्ड भएको पाइन्छ। हावाको औषत वेग ३ किलोमिटर प्रति घण्टा छ भने अधिकतम वर्षा ४३८ मिलिमिटर रेकर्ड भएको पाइन्छ। 

जलसम्पदा

बढैया ताल, भग्रैया ताल, अनौहवा ताल, लक्ष्मण ताल, तारा ताल, दानुवा ताल, सत्खलुवा ताल

बढैया ताल

बढैया अर्थात बह्रैया ताल बर्दिया जिल्लाको  साविकका सोरहवामानपुर मैनापोखर गाविसको सीमानामा अवस्थित ताल हो। साइबेरिया हरेक वर्ष असंख्य हाँस चराहरू विचरणका लागि आउने बढैया ताल आदिबासी थारु बस्तीको बीचमा छ । थारू भाषाको ‘बढिया’ शब्द अपभ्रंस भएर बढैया भएको हो, जसको नेपाली अर्थ हुन्छ- ‘सुन्दर’ अर्थात् ‘राम्रो’ । धार्मिक दृष्टिकोणले अत्यन्तै पवित्र मानिने यो ताल करिब १ सय १० बिघा क्षेत्रफलमा फैलिएको छ । समुन्द्र सतहबाट करिब १४६ मिटर उचाइमा रहेको बढैया तालको दक्षिण किनारमा देवीको मन्दिर ‘देउठन्वा’ छ । बह्रैया ताल बर्दिया जिल्लाको सवै भन्दा ठूलो ताल हो । यो ताल बर्दिया जिल्लाको साविकका सोरहवा गाविसको वडा नं १, २, ३ र मैनापोखर गाविसको वडानं ३ मा पर्दछ । यो प्राकृतिक सिमसार ताल हो । यस तालसँग स्थानीय आदिवासी थारुहरूको ऐतिहासिक, साँस्कृतिक, सामाजिक, आर्थिक सम्बन्ध जोडिएको छ । पहिले ज्यादै ठूलो क्षेत्रफल ओगटेको यस सिमसारको हालको क्षेत्रफल १०९ विगाहा ४ कट्ठा १७.५ धुर रहेको छ । यो ताल बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट २० किलो मिटर पूर्वमा अवस्थित छ । यस तालको पश्चिम उत्तरमा आदिवासी थारुहरूको बह्रैया गाँउ रहेको छ । यसै गाँउको नामबाट यस तालको नाम बहैया ताल सिमसार रहन गएको हो भन्ने भनाइ रही आएको छ । यस तालमा फोहर फाल्न, सुत्केरी तथा महिनावारी भएको महिला नुहाउन, लास जलाउन साथै मर्नीकर्नीका क्रममा नुहाउन बर्जित रहेको छ । यदि कसैले अटेर गरेमा अभाग वा दोष लाग्दछ भन्ने जनविश्वास रहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज

शुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो ।  बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको थियो । शुरुमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सखुर्ते तर्फ विस्तार गरिएको छ । निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ ।
पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संख्या बढिरहेको छ ।

ठाकुर बाबा मन्दिर

ठाकुरबाबामन्दिर अर्थात ठाकुरद्वारा बर्दिया जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। यस मन्दिर परिसरमा हरेक वर्ष माघी पर्वको अवसरमा माघी महोत्सव आयोजना गर्ने गरिन्छ। माघे संक्रान्तिको अघिल्लो दिन देखि शुरु हुने मेला चार दिनसम्म लाग्ने गर्दछ। यो मन्दिर बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय नजिकै अवस्थित छ। ठाकुरबाबा मन्दिरमा सन्तान नहुनेहरू सन्तान हुने आशमा पूजा गर्न आउने गर्दछन्। तीन सय वर्ष अघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र हनुमान भगवानको ढुङ्गाको मुर्ति फेला परेको र सो ठाँउमा उचाल्न नसकेपछि सोहि ठाँउमा राखिएको धार्मिक किम्बदन्ती रहेको छ। थारु जातीको महन्त पुजारी रहेको एक मात्र यस मन्दिर भित्र मुख्य देवताको रूपमा भगवान विष्णुको मूर्ती छ। थारु जातीले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको बताइन्छ। मन्दिरको स्थापना अभिलेख केहि नभेट्टीए पनि करीब २० वर्ष अघि प्रकासीत ओम गोरक्षनाथ पुस्तकमा ८५ वर्षिय जगन्नाथ योगीले लेखेको ठाकुरबाबा एक चिनारीमा उल्लेख गरीए अनुसार कर्णाली नदिमा शिव लिङ्गको मुर्ति फेला परेको र त्यहीबाट उत्खनन गरी ल्याइएको बताइन्छ। धेरै वर्षसम्म सानो झुपडीको रूपमा रहेको यस मन्दिर संरक्षणको अभावले गर्दा बेलाबेलामा भत्कने र मूर्ती चोरी हुने खतराबाट जोगाउन झण्डै ४० वर्ष अघि पञ्चायतकालमा स्थानीयवासीको जनश्रमदान र केही आर्थिक सहयोगमा गजुर शैलीमा ठाकुरबाबाको मन्दिर पुन निमार्ण गरिएको बताइन्छ ।

नदीहरू

कर्णाली, बबई, भेरी, मान खोला, गेरुवा।

पर्यटकीय सम्भावना बोकेका वर्दिया जिल्लाका विभिन्न स्थानहरू

  • नेपालकै सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाट सडक पुल (१०१५ मि.)
  • नेपालमै सबैभन्दा बढी पाटेबाघ, गोही , डल्फिन, गजराज तथा बिश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चरा चुरुंगी तथा जीव जन्तु बिबिध प्रजाति रहेको ८९६ वर्ग मि. फैलिएको बर्दिया राष्ट्रिय निकुन्ज |
  • बिश्वमै दुर्लभ मानिएको र प्राकृतिक रुपले संरक्षण भएको कृष्णसार
  • पुरातत्वले महत्वपुर्ण र नेपाल सरकारबाट हुलाक टिकट प्रकाशन भएको ठाकुरबाबा मन्दिर, गणेश मन्दिर, सदाशिव मन्दिर, कोटाही मन्दिर, बागेश्वरी मन्दिर, कालिका मन्दिर, तरकेशोर मन्दिर जानकी मन्दिर आंदी |
  • प्राकृतिक रुपले निर्मित, दक्षिण एशियाका चराचुरुंगीको क्रिडा स्थल, कमलको फुल जस्ता गुणले सम्पन्न र संरक्षण गरिएको १०५ बिगाहा क्षेत्रफलमा फैलिएको बढैया ताल |
  • एसियामै १ खम्बाबाट पहिलोपटक निर्माण भएको कर्णाली चिसापानी सडक पुल | 
  • प्राकृतिक रुपमा रहेको २०० बिगाहा क्षेत्रफलमा फैलिएको सतखोलवा ताल |
  • जिल्लाको करिब ५३ प्रतिसत जनघनत्व रहेको थारु जाति, राजी, चेपांग, आदि बिबिध सांस्कृति |
  • अन्नको भण्डार |
  • कुरिलो , घ्यु कुमारी जस्ता अनेक जडिबुटी |

देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ। 

             सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आन्तरिक पर्यटक बृद्धिको अभियान।स्वागत गर्छ नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) , हेर्न आउ प्रकृतिको बरदान॥

लुम्बिनीप्रदेश, नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) परिचय नेपालको लुम्बिनी प्रदेश अन्तर्गत