कमल सरोवर,आठबिस-७ दैलेख

एउटा व्यक्तिले आफ्नो जीवनको उद्धेश्य के बनाउने ? अथवा मेरो जीवनको उद्धेश्य के हो? भन्ने प्रश्न परिवार ,परिवेश र भविष्यप्रतिको दुरदृष्टिलाई ध्यानमा राखेर बनाएको हुन्छ। पारिवारिक, आर्थिक र सामाजिक अवस्थालाई मध्येनजर गर्दै गहनतम विश्वास र हृदयको अन्तर्तमनको आवाजले त्यसलाई महान घोषणा गर्छ भने त्यो मानिसले उद्देश्य प्राप्त गरेर नै छोड्छ। सुसंस्कृत र सभ्य परिवारमा जन्मिएका बच्चाहरु कुनै न कुनै विशेषता हासिल गरेर देश र समाजको सेवा गर्ने भावनाबाट प्रेरित भइ आफुलाई जीवन संघर्षमा समर्पित गर्छन। कुनै व्यक्तिले आविस्कार गरेका सिद्धान्त र बस्तुले पुरै संसार(समाज) र मानव जातीको सेवा गर्छ भने त्यस्ता दार्शनिक, बैज्ञानिक, लेखक, कवि र कलाकारहरुले आफ्नो व्याक्तिगत जीवनलाई प्रथामिकता दिदैनन ।

सामान्य परिवारमा जन्मिएका युवाहरुमा त्यस्तो उद्वत भावना र चिन्तन हुँदैनन बरु आफ्नो भविश्य बनाउनको लागि सरकारी वा गैरसरकारी संघसस्थामा काम गर्ने रुचि सम्म राख्ने गर्छन। कामको हिसाबले सबै काम राम्रो र कर्तव्यबोधको भावनाले गर्नु नराम्रो होइन तर दुई छाक खान, दुईचार हजार बैंक ब्यालेन्स र घरघडेरि नै प्रतिष्ठा र गौरवको जीवन होइन। मानिसहरु बच्चा देखि युवा हुँदै वृद्ध सम्मको जीवन यात्रामा को कस्ता मानिस संग संगत हुन्छ, त्यसले पनि उसको उद्धेश्य वा लक्ष्य प्राप्तिमा ठूलो प्रभाब पार्ने गर्छ । तिनिहरुको जीवनशैली र व्यावहारले नै परिवार, समाजिक परिवेश र सांस्कृतिक स्तरबारे जानकारी प्राप्त हुन्छ। धनाढ्य, कुसंस्कार गलत वातावरणमा हुर्केका मानिसहरु डाक्टर जे भए पनि, इन्जिनियर वा प्राध्यापक संसद-सदस्य जो भए पनि अरुलाई मानिस सम्मान गर्न नसक्ने ठाडो र रुखो ब्यवहार गर्ने बोल्ने, अहंकार घमण्डी र आर्थिक फाइदा उठाउन कानुन मिचेर अनिमियता गर्न तयार हुन्छन। अध्ययन पछि आनन्दको जीवन बिताउने मानिसहरुको परिवार, टोल- छिमेकमा एक्लिएका छन,स्वार्थी, झगडालु वा अरु संग नमिल्ने खालको छन भने ति परिवार साँस्कृतिक स्तर नै नभएको परिवार हुन भन्ने बुझिन्छ। तर गरिब परिवारका भएर पनि राम्रो पारिवारिक संस्कार र स्कुलमा गुरुहरु र असल साथीसंगको संगतका कारण सारै शिष्ट, नम्र, विविध विषयमा जानकारी राख्ने, स्कुल कलेजहरुमा हुने विभिन्न क्रियाकलापमा सहभागी हुने र फुर्तिलो व्यावहार भएका युवाहरुमध्ये कोहि कसैले पैसा मात्रै कमाउन नभैइ,देश र जनताकै सेवा गर्नका लागि डक्टर, इन्जिनियर जस्ता विषय पढ्छन।

कोही आर्थिक मुनाफा कमाउन भ्रष्टाचार गरेर हैन देश निर्माणमा योगदान पुर्याउन, गरिव दिन दुखीहरुको निस्वार्थ सेवा गर्न डाक्टर इन्जिनियरिङ पढ्ने गर्दछन। त्यस्तै नयाँ पुस्तालाई असल, देशभक्त र इमान्दार नगरिक तयार गर्ने उद्धेश्यले इतिहास, भुगोल, राजनीतिशास्त्र, अर्थशास्त्र र अन्य विषयमा विशेषज्ञता हासिल गरि प्रध्यापक बन्ने उद्धेश्यले देश र विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने काम गरिरहेका छन। तिनिहरु VC, रेक्टर, रजिस्टार, क्याम्पस प्रमुख वा अन्य ठुला सरकारी पदमा जान दलीय राजनैतिक भागबन्डामा कुकुर बिरालोको जस्तो झगडा गर्न होईन आफ्नो योग्यता र मेहनतबाट जुनसुकै पदमा बसेर पनि समाजमा आमूल परिवर्तनको निम्ति योगदान गर्न समर्पित हुन्छन।

केही मानिसहरु यस्ता पनि हुन्छन जो आफ्नो स्वार्थ र फाईदा बाहेक अरु केही पनि हेर्दैन। तिनिहरुको जीवनमा तिनिहरुकै टोल वा गाउँमा कुनै ढल वा बाटो बनाउदा होस, विधालय वा पुस्तकालय स्थापना गर्दा होस, वा सरसफाई देखि लिएर श्रमदानका जुनसुकै काममा पनि सहयोग भेटिदैन। टोल छिमेकमा कोहि मानिस बिरामी भयो, कसैको घरमा चोरी हुँदा सर्जिमिन गर्न साक्षी बस्नु पर्यो र कोही मानिस कुनै सवारीसाधन दुर्घटनामा परि अशक्त भएर बाटोमा लडिरहेको अबस्थामा भेटियो भने आवश्यकता अनुसारको सहयोग देखाउँदैनन। अब त्यो परिवार वा ती मानिसहरु सँग पैसा छ, सबै कमाउँछन भने पनि तिनिहरुको आफन्त समेत आफ्ना हुँदैनन। तिनिहरुले काम गर्ने कार्यालय, कलेज वा अरु क्षेत्रमा तिनिहरुको मित्रता अन्य स्टाफहरुसंग राम्रो हुँदैन।

प्रकृति स्वयमले मानव जाती लगायत विभिन्न सजिव प्रा‍णीहरुको कार्यक्षेत्रलाई निर्धारित गरिदिएको छ र मानव बाहेक अन्य प्राणीहरु निर्धारित कार्यक्षेत्र भन्दा बाहिर जाने प्रयत्न नगरिकन अरु क्षेत्रबारे सोच्नसमेत नसोची सो कार्यक्षेत्र भित्र शान्तिपुर्वक रुपमा गतिशिल रहन्छन। मानिसलाई भने एउटा सामान्य उद्धेश्य मानव जाति र आफू माथी उठाउने उद्धेश्य प्रदान गरिएको छ। समाजमा उसका लागि सबैभन्दा सुहाउँदो स्थान छान्ने जिम्मा स्वयं उसैलाई दिईएको छ।तर आफ्नो उद्धेश्य हासिल गर्ने उपायको खोजी गर्ने विशेषअधिकार मानव समाजालाई दिइएको भएता पनि कोही स्वार्थी बुद्धिजिवीहरुको गलत संस्कार र परिवेशमा हुर्किएका बालबालिकाहरुले कालान्तरमा -“हामिसँग किन टोल छिमेकका मानिसहरु बोल्दैन ? टोलमा गरिबहरु पनि किन हामिसंग सहयोग माग्न आउदैन? कोहि किन हाम्रो घरमा पहुना लाग्न आउँदैनन? मेरा साथिहरु र हाम्रो घरबिचमा किन यति धेरै फरक छ? लगायतका बिबिध कुराहरु आफ्नै अभिभावकलाई सोध्ने गर्दछन। आफ्ना बच्चाबच्चीहरुका ती घतलाग्दा प्रश्न र अन्य सहपाठी सदस्यहरुको सामाजिक जीवनबाट त्यस्ता परिवारका सदस्यहरु भित्र भित्रै पछुताउने गर्दछन। धन सम्पत्ति भएका तर सुसंस्कृत र सामाजिक संस्कार नभएका मानिसहरुमा देखिने यस्ता क्रियाकलापहरुको न्यूनीकरण गर्न हामिले हाम्रो समाजमा राम्रो संस्कृती र संस्कारको बीउ छर्न आवस्यक देखिन्छ। आफुले अरुको सेवा गरे मात्र अरुले पनि आफ्नो सेवा गर्छन वा समाजमा राम्रो संसकारको बिकास कायम हुन्छ भन्ने कुरालाई सदैव मनन गर्नुपर्ने देखिन्छ।

समाजमा समाजसेवाको नाममा अरुको देखासिकी गरि व्यापक मानिसहरुसँग चन्दा उठाई सामाजिक कार्य गरेको हिसाबकिताबमा नाफा खानेहरुसँग होसियार हुनुपर्छ र त्यस्तो गलत कार्य गर्नेहरुलाई सजग पनि गराउनु पर्दछ। हाम्रो जीवनको उद्धेश्य आफ्नो जीवनसंग मात्रै गाँस्नु हुँदैन। हामिले स्वतन्त्र जीवन जिउने हो भने हाम्रो वातावरण स्वच्छ र सफा हुन आवश्यक छ। प्रदुषित हावापानीको प्रयोग गर्नु र कुबिचारले ग्रसित समाजमा बस्नु एउटै कुरा हो। खानेपानीको मुल नै फोहोर छ भने स्वच्छ पानी पिउने कल्पना गर्नु हुँदैन। हाम्रो जीवनको उद्धेश्य आफ्नो जीवनसंग मात्रै गाँस्नु हुँदैन। हामीले स्वतन्त्र जीवन जिउने हो भने हाम्रो वातावरण स्वच्छ र सफा हुन आवश्यक छ। प्रदुषित हावापानीको प्रयोग गर्नु र कुबिचारले ग्रसित समाजमा बस्नु एउटै कुरा हो। खानेपानीको मुल नै फोहोर छ भने स्वच्छ पानी पिउने कल्पना गर्न सकिन्न। त्यस्तै शोषण र अत्याचारबाट समाजलाई जोगाउन नसकि, उत्पादनका साधन र सम्पत्ति सबै शोषकहरुको हातमा सुम्पेर समाजमा आर्थिक समानताको परिकल्पना गर्न पनि सकिदैँन । यसकारण हामी सम्पुर्ण युवा विद्यार्थी शिक्षक कर्मचारी, संघसस्था र राजनैतिक पार्टिहरुको उद्धेश्य शोषण रहित समाज स्थापनातिर उन्मुख हुन पर्छ।

त्यसका लागि पक्षपात रहित जात, भाषा र साम्प्रदायिकताबाट मुक्त तथा उद्धेश्यमा समर्पित नेतृत्व जरुरी छ। पार्टिहरुमा सिद्धान्तबाट शिक्षित एवं प्रेरित कार्यकर्ताहरुको बढी आवश्यकता पर्छ। सत्ता वा सरकारमा पुगेपछि आन्दोलनको उद्धेश्य बिर्सिने, आन्दोलनका सहयात्री पार्टी साथिहरुलाई नचिन्ने र गुणलाई बैगुणले रिण तिर्ने जस्ता कृतघ्न पार्टी र नेताहरुकै कारण पनि जनतामा राजनीतिप्रति वितृष्णा जागेको हो। यसकारण हामीले जुनसुकै विषयमा विशेषज्ञता हासिल गरेपनी सिद्धान्तच्युत र पाखण्डी राजनैतिक दल, तिनका नेताकार्यकर्ताहरु र पैसा तथा पदमा बेचिने मानिसहरुको नकारात्मक शिक्षाबाट जोगिन आफू र नयाँ पुस्तालाई तयार गर्ने उद्धेश्यमा समर्पित हुनुपर्छ। सम्पुर्ण नयाँ पुस्ताले साम्यबादी समाज निर्माणको चिन्तन गर्न सबै दार्शनिक तथा टोल्सटायहरुको मेहनत र रविन्द्रनाथ टैगोरले जस्तै आफ्नो सम्पत्तिको ठूलो भाग समाज, साहित्य र विधालयलाई अर्पण गर्ने भवनाबाट सिक्नै पर्छ। पद, पैसा, लुट, धम्की, अपहरण, हत्या एवं आतंकबाट सत्तामा पुने र विवेकलाई शासन गर्ने प्रवृतिको नाममा ठिक विपरित ब्याबहार गर्ने उद्धेश्यको विरोधमा सैद्धान्तिक रुपले छिनोफानो हुने दिर्घकालिन उद्धेश्य वा जिवनको लक्ष्य बनाउँदा राम्रो हुन्छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

देशमा सुशासनको प्रत्याभूति दिलाउने कानुन हाे : प्रधानमन्त्री दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री दाहालले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम