दैलेख । दैलेखको आठबीस नगरपालिका वडा नं. ६, चौलामा लगातारको वर्षाका कारण जमिन गलेर बिजुलीको पोल ढल्दा एक किसानको गाई मरेको छ। करेन्ट लागेर गाईको मृत्यु भएपछि घटनाले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ भने वर्षायाममा अन्य पोलहरूले पनि यस्तै जोखिम निम्त्याउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
स्थानीय किसान नेत्र विकको घर नजिकैको पोल हिजो राती अविरल वर्षाले जमिन कमजोर बनाएपछि ढलेको थियो। पोल ढलेसँगै नाङ्गो तारले छोएर उनको एउटा गाईको घटनास्थलमै मृत्यु भएको हो। “वर्षाले गर्दा पोल ढल्यो, मेरो रोजीरोटीको माध्यम नै गुम्यो,” पीडित विकले भने, “अब के गर्ने भनेर चिन्तामा छु।”
घटनापछि गाउँमा बिजुलीका तारहरू यत्रतत्र छरिएका छन्, जसले गर्दा मानवीय दुर्घटनाको जोखिम बढेको छ। बालबालिका र अन्य चौपाया पनि खतरामा परेको भन्दै स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्।
“आज गाई मर्यो, भोलि यही तारले मान्छेलाई पनि केही हुन सक्छ,” एक स्थानीयले चिन्ता व्यक्त गरे, “पहाडको ठाउँमा पानी परेपछि यस्तै डर हुन्छ। सम्बन्धित निकायले छिटो तार हटाएर जोखिम कम गरिदिनुपर्यो।”
स्थानीय बासिन्दाहरूले पीडित किसानलाई उचित क्षतिपूर्ति दिन, घटनास्थलमा छरिएका तारहरूको तुरुन्त व्यवस्थापन गर्न र वर्षायाममा जोखिममा रहेका अन्य पोलहरूको पनि अनुगमन गरी सुरक्षाका उपाय अपनाउन नेपाल विद्युत प्राधिकरण र आठबीस नगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका छन्।



