कर्णालीप्रदेश, डोल्पा

परिचय

डोल्पा जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजा अनुसार यहाँको कुल जनसङ्ख्या ४२,९५९ छ। जस मध्य पुरुषको सङ्ख्या २१,२७६ र महिलाको सङ्ख्या २१,६८३ रहेको छ। क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पा जिल्लाले नेपालको ५.३६% भू-भाग ओगटेको छ। यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ। यस जिल्लाको प्रमुख पर्यटकीय आकर्षण फोक्सुण्डो ताल हो।

पृष्ठभूमि

नेपालको सबै भन्दा ठुलो जिल्लाको रुपमा परिचित यस जिल्लाको आफ्नै भौगोलिक बिशिष्टता रहेको छ ।  यस जिल्लालाई अधिकांश हिमाल, अग्ला थुम्का र पहाडहरुले ओगटेको छ । प्राकृतिक सौन्दर्यता र जडिबुटीले धनी यस जिल्ला पर्यटकीय स्थलको रुपमा पनि चिनिन्छ । साविक जुम्ला जिल्लाको तिब्रीकोट दराको रुपगार्ड, सुलीगार्ड खोला देखि पुर्व तर्फका २२ गाउँको क्षेत्र, साविक बाग्लुङको ८ हजार पर्वतका ९ गाउँको क्षेत्र र २९ गाउँको छार्का भोट क्षेत्र गरी बनेको डोल्पा जिल्लाको सम्पुर्ण क्षेत्रफलको ७५% छार्का भोट ओगटेको छ । यस क्षेत्रलाई १२ डाली ल्हागु पनि भनिन्छ । यसैको आधारमा बि.स.२०१८ सालमा जिल्ला कायम हुँदा यस जिल्लाको नाम डोल्पो रहेको थियो । त्यसै नाम परिवर्तन हुन गई हाल यस जिल्लाको नाम डोल्पा रहन गयो । नेपालको सबै भन्दा गहिरो शे-फोक्सुण्डो ताल, विश्‍वकै सबै भन्दा पछि जानकारीमा आएको बस्ती भिजेर गा.वि.स.को “कु” गाँउ  विश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको धो तराप बस्ती यसै जिल्लामा पर्दछन् ।

भौगोलिक स्थिति

  • प्रदेश                 :- कर्णाली
  • जिल्ला              :- डोल्पा
  • सदरमुकाम          :- दुनै
  • गाँउपालिका        :- ६
  • नगरपालिका       :- २
  • निर्वाचन क्षेत्र       :- १
  • क्षेत्रफल             :- ७,८८९ बर्ग कि.मि. नेपालको कुल क्षेत्रफलको ५.३६%
  • अक्षांश              :- २०० २४” उत्तरदेखि २९०  ४३”
  • देशान्तर             :- ८०० २४” पुर्वदेखि ८३० ३८”
  • जनसंख्या           :- ४२,९५९ (२०७८ को जनगणना अनुसार)
  • पुरुष                  :- २१,२७६ जना
  • महिला               :- २१,६८३ जना

भौगोलिक सिमाना

  • पूर्व                           :- मुस्ताङ, चीनको तिब्बत
  • पश्‍चिम                      :- जुम्ला र मुगु
  • उत्तर                        :- चीनको तिब्बत ।
  • दक्षिण                       :- जाजरकोट र रुकुम 

प्रशासनिक विभाजन

जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ६ गाउँपालिका छन्।

डोल्पा जिल्लाका स्थानीयतह

स्थानीयतह वडासङ्ख्या केन्द्र जनसङ्ख्या
ठुलिभेरी नगरपालिका ११ जुलाफ १०१८७
त्रिपुरासुन्दरी नगरपालिका ११ त्रिपुराकोट बगर १२,३००
डोल्पोबुद्ध गाउँपालिका धो २,४६२
शे फोक्सुण्डो गाउँपालिका साल्दाङ ३,७१७
जगदुल्ला गाउँपालिका माझगाउँ २,५८१
मुड्केचुला गाउँपालिका नर्कु ५,८७५
काईके गाउँपालिका शहरतारा ४१२४
छार्का ताङसोङ गाउँपालिका कागको १७१३

जिल्लामा प्रवेश गर्ने नाकाहरु

  • रुकुम जिल्लाको त्रिवेणी र ठाँगे लेक ।
  • जुम्ला जिल्लाको मौरे लेक ।
  • मुस्ताङ जिल्लाको साङ्ता लेक ।
  • मरिम नाका चीनको तिब्बत ( आवधिक व्यापारिक नाका)
  • क्याटो नाका चीनको तिब्बत ( आवधिक व्यापारिक नाका)

भौगोलिक विभाजन

यस जिल्लालाई निम्न लिखित चार भौगलिक क्षेत्र (Ge-ographic regions) मा वाँड्न सकिन्छ

भोट क्षेत्र:

जिल्लाको सम्पूर्ण जसो उत्तरी भाग यस क्षेत्रमा पर्दछ । यस भू- भागको उचाई समुद्री सतहदेखि ३६६० देखि ४८७८ मिटर सम्म रहेको छ । तिब्बती सीमा र हिमाली क्षेत्रको बीचमा रहेको यो उच्च पठार (High plateau) नेपालको सबै भन्दा सुख्खा क्षेत्रको रुपमा रहेको छ । यस क्षेत्रमा रहेका बस्तीहरु संसारका सबैभन्दा उचाइमा रहेका बस्तीहरु मानिन्छन ।

हिमाली क्षेत्र

 समुन्द्री सतहबाट ५००० मिटरभन्दा माथि बाह्रै महिना हिउँले ढाकिने क्षेत्र यस प्रदेशमा पर्दछ । यस जिल्लाको दुई महापर्वतीय हिमश्रृङ्खलाहरु (धौलागिरी र काञ्जिरोवा हिमश्रृङ्खला) पूर्व पश्चिम फैलिएर रहेका छन । पर्वतारोहण र ट्रेकिङको लागि महत्वपूर्ण मानिने यस क्षेत्रमा बर्षैभरि तापक्रम ऋणात्मक हुनेगर्छ । यस क्षेत्रमा धौलागिरी हिमाल (७७५४मि.),चुरेन हिमाल(७३७१ मि.), पुँठा हिमचुली(७२४९ मि.), माउन्ट पुथा हिमचुली(७२४६ मि.), मुकोट हिमाल (६६३८ मि.), काञ्जिरोवा हिमाल(६२२१ मि.), डाँफे शैल(६१०३ मि.) र अरनिको चुली(६०३४मि.) र नुमला बगला पास लगायतका ५,००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँले ढाकिरहने पर्वत श्रृखलाहरू पर्दछन् । 

अल्पाइन क्षेत्र :

  हिमाली भू-भागको एक मुख्य शाखाको रुपमा यो क्षेत्र रहेको छ । यस क्षेत्रमा उच्च पठार तथा श्रृङ्खला (High altitude plateau and ranges) रहेको छ । यस क्षेत्र हिउँदमा हिउँले ढाकिएको हुन्छ  भने ग्रीष्ममा हिउँ पग्लिई घाँसे क्षेत्रको रुपमा रहन्छ । यस क्षेत्र चरण क्षेत्रको रुपमा अति महत्वपूर्ण रहेको छ । यस भेगका मानिसहरू मौसम अनुसार बसोबास गर्ने र गोठ तल माथि सार्ने गर्दछन् । यहाँका मानिसहरू न्यानोको लागि बख्खु र ऊनीका बाक्लो लुगा लगाउने गर्दछन् भने भेडाबाख्रा, चौरी आदि पालन गर्ने गर्दछन् । तुलनात्मक रुपमा यहाँको जनजीवन कठिन रहेको छ । विशेषत: यस क्षेत्रमा प्रसिद्ध जडिबुटी यार्सागुम्बा पनि पाइन्छ । विशेषगरी धो उपत्यका, तिन्जे उपत्यका, शे-गुम्बा, फोक्सुण्डो ताल, सुलीगार्ड झरना, दुधकुण्डली, जगदुल्ला ताल आदि यस क्षेत्रमा पर्दछन

पहाडी क्षेत्र

यस क्षेत्र अन्तरगत ठूला नदीहरुका किनारा एवं बेसीदेखि लिएर समुन्द्री सतहबाट १५२५ मिटरदेखि ३६६० मिटरसम्मको उचाईमा यस भू-भाग पर्दछ । यस जिल्लाको दक्षिण पश्चिम रहेका ठुलीभेरी र सानी भेरी नदीका किनार एवं साना पहाडी क्षेत्रमा अधिकांश बस्तीहरु रहेका छन । यस क्षेत्रमा घना बनजंगल एवं खेती योग्य उर्वर जमिन रहेको पाइन्छ । दुनै, जुफाल, माझफाल, त्रिपुराकोट, पाहाडा, लिकु, सुँ, ल्हाँ, कालिका, नर्कु, सर्मी, रिमी, काईगाउँ आदि यस क्षेत्रका प्रमुख स्थानहरू हुन । यहाँको जनजीवन अन्यत्र भन्दा सामान्य भएतापनि उत्पादनको न्यूनता र उद्योग व्यापारको कमीले गर्दा जनताहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । अझैपनि खेतीपाती र पशुपालन यस जिल्लाका बासिन्दाहरूको मुख्य पेशा रही आएको छ ।

नयाँ पर्यटकीय गन्तव्यमा डोल्पाका तीन सम्पदा

डोल्पा – सरकारले देशभरका पर्यटकीय गन्तव्यको सुची सार्वजानिक गरेको छ। उक्त सुचीमा डोल्पाको शे–फोक्सुन्डो निकुञ्ज, त्रिपुरा सुन्दरी मन्दिर, रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका छन्। संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक, पुरातात्विक,ऐतिहासिक तथा धार्मिक महत्वका आधारमा देशभरबाट नयाँ एक सय पर्यटकीय गन्तव्यको छनोट गरेको थियो। नेपालकै ठुलो निकुञ्जको रुपमा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक तथा जैविक बिविधताले भरिपूर्ण सुन्दर गन्तव्यको रुपमा परिचित छ। देशकै गहिरो शे–फोक्सुन्डो ताल, सुलिगाड झरना लगाएतका चर्चित प्राकृतिक सम्पदाहरु समेत यसै निकुञ्ज भित्र पर्दछन्। अर्को गन्तव्यको रुपमा सुचिकृत त्रिपुरा सुन्दरी मन्दिर ईस १११४ सालमा उत्पति भएको ईतिहासमा उल्लेख छ। मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित नेपालकै प्रशिद्ध शक्तिपिठ मध्ये भित्र पर्ने यस मन्दिर पछिल्लो समयमा धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्न सफल भएको छ। शे–गुम्बा संसारकै अग्लो मानवबस्ती, जगदुल्ला ताल, सुनदह, राजारानी क्षेत्र लगाएतका दजर्नौ चर्चित पर्यटकिय सम्पदाहरु डोल्पामा पर्दछन्। सरकारले स्थापित तथा प्रवर्द्धन गर्नुपर्ने र नयाँ विकास गर्न आवश्यक भएको भन्दै देशभरबाट दुईसय नयाँ र पुराना गन्तव्य पहिचान गरिएकोमा नयाँ गन्तव्यमात्रै एकसय रहेका छन्।

शे–फोक्सुन्डो ताल

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ । हिमालको काखमा रहेको यो ताल सफा र कञ्चन हिमाल पग्लिएर बनेको छ । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज पनि हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

श्री बाला त्रिपुरा सुन्दिरी मन्दिर

डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले मात्र ठूलो जिल्ला नभइ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनी छ । डोल्पामा प्रचूर पर्यटकीय सम्भावना बोकेका थुप्रै पर्यटकीय स्थलहरू छन् । दर्जनौं धार्मिकस्थलहरूको प्रचार–प्रचार तथा विकास गर्नसके डोल्पामा लाखौं धार्मिक पर्यटकहरू भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ । डोल्पाली लगायतका विभिन्न जिल्ला बासीहरूको अटुट धार्मिक विश्वास बोकेका डोल्पाका अन्य धार्मिक सम्पदाहरू मध्ये श्री बाला त्रिपुरा सुन्दिरी मन्दिर पनि एक हो । प्रचूर धार्मिक पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा पर्दै आएको यस मन्दिरको नेपालका अन्य मन्दिरहरू भन्दा पृथक धार्मिक महत्व रहेको छ । इ.सं. १११४ सालमा स्थापना भएको यस मन्दिर भौगोलिक रूपमा पनि पृथक छ । यस मन्दिरको पूर्वतर्फ सुन्दरी गंगा, पश्चिममा ताम्राबणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा लगायतका प्रसिद्ध तीर्थस्थलहरू रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ । यस मन्दिरमा सत्य युगमा श्री महादेवले हिमालय पर्वतकी पुत्री सत्यदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस मन्दिरमा सत्यदेवीको कन्डयालो (ढाड) पतन भएको कुरा हिन्दुहरूको प्रसिद्ध धर्मग्रन्थ श्रीस्वस्थानीमा उल्लेख छ । त्यसैले यस पवित्र भूमिलाई भक्तजनहरू ठूलो शक्ति पीठ रूपमा मान्ने गर्दछन् । यस मन्दिरको महत्वलाई हिन्दुधर्मका विभिन्न धम्रग्रन्थमा उल्लेख गरिएको र यदि जो कसैले यस मन्दिरमा आएर दर्शनमात्र गरे मुक्ति मिल्ने विश्वास गरिन्छ ।

हावापानी

हावापानी, तापक्रम र वर्षा

  • हावापानी           :- लेकाली र शितोष्ण
  • सदर तापक्रम     :- अधिकतम २०डिग्री , न्यूनतम -१०डिग्री
  • वर्षा                   :- वार्षिक सरदर ४९९ मि.ली

ताल तलैया र नदी

यस जिल्लाबाट बाहिर बगेर निस्कने नदीहरूमा ठुलीभेरी र सानीभेरी मुख्य छन् । ठुलीभेरीको  उद्गमस्थल पुथा हिमाल हो भने सानीभेरीको उद्गमस्थल जगदुल्ला ताल हो । यस्तै अन्य खोलाहरूमा फोक्सुण्डो खोला, रिग्मो खोला  रुपगार्ड खोला, छलगार्ड खोला, चुगार्ड खोला र अन्य स–साना खोलाहरू पनि असंख्य मात्रामा रहेका छन् । साथै यस जिल्लामा फोक्सुण्डो ताल, जगदुल्ला ताल, दुधकुण्डली ताल, छमकुनी तालका साथै स-साना दह तथा पोखरी  रहेका छन । 

जैविक विविधता

टुन्ड्रा, शितोष्ण, लेकाली हावापानी र थोरै दूरीमा उचाईको धेरै फरकपनले गर्दा यस जिल्लामा उष्णदेखि हिमाली भेगमा पाईने विभिन्न किसिमका जीव तथा वनस्पतिहरू पाईन्छन् । हावापानी र भू बनोटको विविधताको कारण १००० भन्दा बढी प्रजातिको वनस्पतिहरु मध्ये २१ प्रजातिका रैथाने ८०० भन्दा बढी प्रजातिका झ्याउ, ४६ भन्दा बढी प्रजातिका स्तनधारी जनावर, २५० भन्दा बढी प्रजातिका चरा, सरिसृप तथा उभयचर शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र यस जिल्ला वरिपरी पाईन्छ । खोटे सल्ला, चिलाउने, लालीगुराँस, उत्तीस, निलो सल्ला जिल्लाको पहाडी तथा बेंसीहरूमा पाईन्छ भने खस्रु, भोजपत्र, गोब्रे सल्ला, ठिङ्ग्रे सल्ला, धुपी सल्ला, चिमाल गुराँसका अन्य विभिन्न प्रजातिहरू, सुनाखरीका प्रजातिहरू लेकाली तथा हिमाली क्षेत्रहरूमा पाईन्छ । फूल नफुल्ने बिरुवामा पर्ने पतझड कोणधारी वनस्पतिहरु पनि यस क्षेत्रमा पाइन्छ । लौठ सल्ला, अतिष, कपासी फुल, पदमचाल, बिख, निरमसी, जटामसी, झिँगामारो विष, कुटकी, डालेचुक, पाँचऔले, सतुवा, बनलसुन, गन्धरानी, सुगन्धवाल, यार्सागुम्बा, गुछ्छीच्याउ जस्ता औषधीजन्य एवं संकटापन्न वनस्पतिहरू यस जिल्लाको सम्पत्ति हुन् ।

जैविक विविधताको धनी यस जिल्लाको अर्को चिनारी रेडपाण्डा (हाब्रे), हिउँचितुवा, हिमालयन थार,कस्तुरी मृग, खैरो ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बिरालो, फ्याउरो, तिब्बती खरायो हुन । ४,५०० मिटरसम्मको उचाईमा पाईने यि जनावरहरु नेपाल सरकारद्वारा संरक्षित जनावर हुन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ ले संरक्षित जनावरको सूचीमा राखेको खैरो ब्वाँसो, हिउँ चितुवा, कस्तुरी मृग, तिब्बती खरायो, निलो भेडा (नाउर) त्यस्तै डाँफे, मुनाल, कालिज, च्याँखुरा जस्ता संरक्षित पंक्षीहरू यस जिल्लाका अन्य आकर्षण हुन । यस क्षेत्रमा गिद्ध, चील, डिकुरे भ्याकुर लगायत विश्वमै संकटापन्न तथा लोपोन्मुख अवस्थामा रहेका १२ प्रजातिका चराहरू पनि पाईन्छ । हाडखोर, हिमाली गिद्ध, कोङमा हिउँकुखुरा, हिमाली पिउरा जस्ता चराका प्रजातिका कारण यस जिल्ला चरा अध्ययन अनुसन्धान तथा चरा पर्यटनको लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।

धार्मिक, सांस्कृतिक एवम ऐतिहासिक  स्थलहरू

विभिन्न जातजाति, भाषाभाषी, सम्प्रदाय र धर्मावलम्बीहरूको बसोबास रहेको यस जिल्लामा विभिन्न धार्मिक एवम् साँस्कृतिक रूपले महत्वपूर्ण मानिने तालतलैया, मठमन्दिर, गुम्बाहरू रहेका छन । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं. १ स्थित त्रिपपुरासुन्दरी मन्दिर, शे-फोक्सुण्डो गाउँपलिकाको साल्दाङ्गमा रहेको शे-गुम्बा, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिकस्थलहरूको धरोहत यस जिल्लामा रहेका छन ।

भू-उपयोग

टोपोग्राफिक नक्साका अनुसार यस जिल्लाको कुल क्षेत्रफल ७,८७९ वर्ग कि.मि. रहेको छ । जसमध्ये घाँसले ढाकेको क्षेत्र ३१.४७%, चट्टान, भिर,पहरा, हिमक्षेत्र आदीले ५९.२६%, बनले ढाकेको क्षेत्रफल ७.५९% रहेको छ भने बनले ढाकेको करिव ३०% भाग शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । यस जिल्लाको कुन क्षेत्रफलको ०.७५ % जग्मा मात्र खेतीयोग्य जमिन रहेको छ । कुल क्षेत्रफलको ०.४६% झाडी, बुट्यानले ओगटेको छ । ६८% भू-भाग ४० डिग्रि भन्दा बढी भिरालोपना रहेको छ ।

जात जाती र धर्म

यस जिल्लामा मुख्य रुपमा व्राम्हण, क्षेत्री, गुरूङ, मगर, थकाली,डोल्पो, दमाई, कामी र नेवार जातिका मानिसहरू बसोबास गर्दछन। मुख्य बोलिने भाषाहरू  नेपाली, तिब्बती खाम र काइके हुन । यस जिल्लामा बहुसंख्यक जाति क्षेत्री,ब्राम्हण दमाइ, कामी, नेवारले हिन्दु धर्म मान्दछन भने अल्पसङ्ख्यक जाति गुरुङ र मगर समुदायले बौद्ध धर्म मान्दछन र केही समुदायले क्रिश्चियन धर्म मान्दछन् ।

देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ। 

     सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल


Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

राकम कर्णालीमा स्लो बाईक प्रतियोगीता

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम