काठमाडौँ । मानव तस्करी आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाएकामा माओवादीले आपत्ति जनाएको छ ।
माओवादी पदाधिकारीको बुधबार बसेको बैठकले सरकारले मानव तस्करीको गम्भीर आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमाले भएकै कारण उन्मुक्ति दिएको निष्कर्ष निकालेको हो । पूर्वमन्त्री अधिकारीसँग जापान पुगेर फर्काइएका ३ युवासहित ११ जनाविरुद्ध भने सोमबार मुद्दा दायर गरिएको छ । प्रहरीले अधिकारीसहित १२ जनाविरुद्ध किर्ते र मानव तस्करीमा मुद्दा चलाउन आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, सरकारको दबाबमा अधिकारीलाई उन्मुक्ति दिएको माओवादीको आरोप छ ।
माओवादी उपमहासचिव वर्षमान पुनले भने, ‘कोशी प्रदेशका पूर्वमन्त्री ९अधिकारी० लाई उन्मुक्ति दिएर सरकारले निकटलाई जोगाउने काम गर्यो । यस्तो कार्य आपत्तिजनक छ । यो आफ्नालाई जोगाउने र विपक्षीलाई फसाउने नीति हो । प्रहरीले दिएको प्रतिवेदनका आधारमा मुद्दा नचलाई अधिकारीलाई जोगाएर सरकारले आफ्नो नियत देखाएको छ ।’
अधिकारीसँगै तीन युवा रसुवाका कञ्चन देवकोटा, खोटाङका दावा शेर्पा र जनक राई जापानबाट फर्काइएका थिए । अधिकारीको साथ लगाएर जापान पठाइएका युवासँग गिरोहले जापानमा लुकाउने योजनासहित रकम असुलेको थियो । सरकारी वकिलको कार्यालयबाट उन्मुक्ति पाएका अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीको दल एमालेका नेता तथा कोशी प्रदेशका सांसद हुन् । उनी मोरङ २९२० बाट निर्वाचित हुन् ।