काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका क्रममा सरकार पक्षसँग १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० कात्तिकमा एकै चरणमा निर्वाचन गर्नेगरी प्रस्ताव गरेको हो । ‘१ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नेगरी निर्वाचन आयोगले आन्तरिक तयारी गरेको छ, अनौपचारिक रूपमा आयोगले निर्वाचनका लागि सरकारसमक्ष ३० कात्तिकको मितिसमेत प्रस्ताव गरिसकेको छ,’ निर्वाचन आयोग स्रोतले राजधानीसँग भन्यो।आयोगले छिटो भन्दा छिटो निर्वाचनको घोषणा गर्न सरकारसमक्ष दबाबसमेत बढाउन थालेको छ ।

आयोगले हाल मतदाता नामावली संकलनको काम धमाधम जारी राखेको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले नामावली संकलनतर्फ भिड कम हुँदै गएपछि असार तेस्रो सातासम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर औपचारिक रूपमा नै मिति प्रस्ताव गर्ने आयोगको तयारी छ । ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट हाल मतदाता नामावलीमा नाम दर्ताको काम जारी रहेको आयोगले जनाएको छ । यस्तै, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गरिरहेका छन् ।

यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत एकैपटक गरिएको थियो । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी २२ मंसिरमा सकिने बताउँदै आएको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासमेत त्यसअघि नै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढिरहेका छन् । गठबन्धनमा आबद्ध दलको तयारीसमेत कात्तिक अन्तिम सातादेखि मंसिर पहिलो साताभित्रै निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम