काठमाडौँ । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्री सहभागी भएका छन् । जसमध्ये कतिपयले हार व्यहोरका छन् भने अधिकांश मन्त्रीले भने जित निकालेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासमेत उम्मेदवार रहेको यस निर्वाचनमा राज्यमन्त्री उमेश श्रेष्ठ समेत उम्मेदवार थिए । जसमध्ये प्रधानमन्त्री देउवाले डडेलधुराबाट जित हासिल गरेका छन् । भने, राज्यमन्त्री श्रेष्ठ पराजित भएका छन् । बारा १ बाट उम्मेदवार रहेको खानेपानी मन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । नेकपा एमालेका अच्युत मैनालीसँग झण्डै ९ हजार मतान्तरले मन्त्री चौधरी पराजित भएका हुन् । चौधरीले ३० हजार ५६ मत पाएका थिए ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४ मा उम्मेदवार छन् । उनको क्षेत्रमा हाल मतगणना जारी छ । प्रारम्भिक मतगणनामा मन्त्री कार्की नेकपा एमालेका जगदीशप्रसाद कुसियैतसँग पछि परेका छन् । गृहमन्त्री बालकृष्ण खाण पनि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपाका उम्मेदवार दीपक बोहरासँग पराजित भएका छन् ।
यस्तै कांग्रेसका तर्फबाट दार्चुला उम्मेदवार रहेका उद्योग मन्त्री दिलेन्द्र बडू विजयी भएका छन्। नेकपा एमालेका गणेश ठगुन्नालाई पराजित गर्दै मन्त्री खाड सांसद निर्वाचित भएका हुन् । यस्तै उदयपुरबाट उम्मेदवारी दिएका परराष्ट्र मन्त्री डा। नारायण खड्काको क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार मन्त्री डा खड्काले अग्रता लिइरहेका छन् । नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले उनलाई पछ्याइरहेकी छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट बाग्लुङ क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका शिक्षा मन्त्री देवेन्द्र पौडेलले जित हासिल गरेका छन् । पौडेल नेकपा एमालेकी मञ्जु शर्मासँग ५ हजार ७ सय ७९ मतान्तरले विजयी भएका हुन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई हराउँदै रुकुम पश्चिमबाट निर्वाचित भएका हुन् ।
बाँके १ बाट माओवादी केन्द्रका उम्मेदवार रहेका खेलकुद मन्त्री महेश्वरराज गहतराजको क्षेत्रमा समेत मतगणना जारी छ । एमालेका सूर्यप्रसाद ढकाल र मन्त्री गहतराजबिच मतगणनाका क्रममा समेत चर्को प्रतिष्पर्धा भइरहेको छ । यद्यपि मन्त्री गहतराज एमालेका ढकालसँग पछि परेका छन् । यो समाचार आजको आजको राजधानी दैनिकमा छ ।