“Love is stronger than violence”

हामी जो-कोहीलाई पनि हिंसा भन्ने शब्द सुन्दा झट्ट दिमागमा काटमार वा मारपिट भन्ने आउन सक्छ र त्यो आउनु स्वभाविक पनि हो । हिंसाको शाब्दिक अर्थ हुन्छः प्राणीहरुको ज्यान लिने काम एवम् अरुलाई कुनै किसिमबाट पीडा दिने वा हानी पुर्याउने काम । अब हिंसाको अगाडी महिला वा पुरुष थपिदिँदा हुन आउँछ महिला हिंसा/पुरुष हिंसा यि दुई मध्ये बोलीचाली तथा व्यवहारमा अधिक प्रयोग हुने शब्द होः महिला हिंसा….। महिला हिंसाको बारेमा त जुनसुकै व्यक्ती सस्था आदि इत्यादीले विभिन्न क्रियाकलापहरु गरेका पाइन्छन अझ भन्नुपर्दा समग्र मुलुकको सरकारले पनि संविधान,कानून, कार्यविधि निर्दिशिका लगायत हरेक क्षेत्रमार्फत महिला हिंसाको अन्त्य गर्दै महिला हक अधिकारको संरक्षण हुनपर्छ भनेर वकालत गर्ने गरेका पाइन्छ । तर नेपाली समाजमा लुकेको छिपेको विविध अवरोधका कारण देखा नपरेको हिंसा हो पुरुष हिंसा आज म यसै पूरुष हिंसाको नेपाली समाजमा कस्तो अवस्था छ , यसले समाजमा कस्तो प्रभाव पारेको भन्ने बारेमा चर्चा गर्दै छु ।

आजकल आफूलाई कट्टर फेमिनिस्ट वा नारीवादी मान्नेहरुको मुखबाट पुरुष हिंसा पनि हुन्छ, हुदोरैछ र हुनसक्छ भन्ने कुरा हामीले सुन्न सकेका छैनौं। पुरुष पीडामा परेको, पुरुषले हिंसा सहनुपरेको, पुरुषले दमन सहनु परेको कुरा हामी महिलाले नबुझे कस्ले बुझिदिने। यो शब्द पीडामा परेका विचरा पुरुषहरुले सुन्न नपाउने नै हुन त? महिला भएकै कारण महिलामाथी गरिने दूर्व्यवहारलाई महिला हिंसा भनिन्छ भनेर परिभाषा गर्दै गर्दा तुलनात्मक रुपमा महिला भन्दा कमै भएपनि पुरुषमाथी गरिने शारीरिक, मानसिक, वौद्धिक शोषण, दमन र यातनाको बारेमा को बोलिदिने….? हाम्रो पितृसतात्मक पुरुष प्रधान समाज वा देशमा व्याप्त रहेको तर त्यसलाई लुकाइएको, सामाजिक मान, प्रतिष्ठाका कारण दबाइएको पुरुष हिंसा पनि आज हिंसाको एक पाटो बन्न पुगेको छ ।

विशेषगरी महिलाहरु यौनजन्य तथा घरेलु कुराहरुबाट पीडित भएका हुन्छन तर पीडित हुने कुराबाट पुरुषहरु पनि अछुतो हुन सकेका छैनन् । महिलामाथी कुटपिट, गाली-बेइज्ती र दूर्व्यवहारलाई महिला हिंसा भएको देख्ने हाम्रो समाजले पुरुषमाथी भएको तर सतहमा आउन नसकेको र नल्याइएको पारिवारिक, मनोवैज्ञानिक तथा मानसिक दमन र दूर्व्यवहारलाई पुरुष हिंसाको रुपमा किन देख्न सकेन । जसले जसलाई गरोस आखिर हिंसा त हिंसा नै हो तर यहा पुरुषमाथी गरिने हिंसालाई बेपत्ता बनाइयो, बेखबर बनाइयो।

पितृसतात्मक सोचले भरीपुर्ण हाम्रो समाजको हरेक क्षेत्रमा पुरुषकै स्वामित्व रहेको कुरा सर्वस्वीकार्य नै छ । यही समाजमा कुनै श्रीमानले आफ्नी श्रीमतीबाट भएको शारीरिक तथा मानसिक दमनलाई स्वयं पुरुषले नै दबाएर राख्छ किन? किनकी यदि उसले आफूमाथी भएको अत्याचारलाई बाहिर ल्याउन खोज्यो भने ऊ आफूमा रहेको पुरुषत्व गुम्ने डरले विचलित हुन्छ र उक्त दमनलाई आफ्नै कमजोरीको कारणले आफैमा सीमित राख्न वाध्य हुन्छ। यदि उसले आफूमा रहेको पुरुषत्वको भ्रमलाई बेवास्ता गरी परिवार र समाजसामू ल्याउन खोज्यो भनेपनि उसलाई नामर्द र जोइडटिङ्ग्रे जस्ता नाम दिई उसको खिल्ली उडाइन्छ । यि र यस्तै कुराहरुको कारण पनि पुरुष हिंसाका कुराहरु बाहिर नआएका हुन सक्छन् ।

यदि कुनै पुरुष आफूमाथी हिंसा भयो मलाई न्याय चाइयो भन्दै पुलिस प्रशासन वा अन्य कुने न्यायिक निकायमा गयो तपाइँलेनै विचार मनन गर्नुस त्यहाँ उसले के के कुराहरुको सामना गर्नुपर्ला, त्यसको नतिजा के आउला।पहिलो कुरा त उसको कुरा सुन्न नै कसैले चाहँदैन। पुलिस प्रशासनले उसको जाहेरी लिन मान्दैन। ऊ आफैमा विचलित हुन्छ र अन्त्यमा नामर्दको बिल्ला भिरेर घर फर्कन बाध्य हुन्छ।महिला हिंसाको बारेमा जति संवेदनशील छ हाम्रो समाज पुरुष हिंसाको कुरा उठ्दा त्यति नै संवेदनशील किन हुन सकेन।

आफ्नो नामर्दपनमाथी प्रश्नचिह्न खडा हुने डरले आफूमाथी भएको हिंसालाई बुलन्द गर्न नसक्ने मेरा कैयौं कायर पुरुष दाजुभाइहरुले पनि आफूलाई सुधार्नु पर्ने पो हो कि…। यदि आफूमा भएको कायरतालाई परास्त नगर्ने नै हो भने समाजमा हिंसाको आधारमा महिला पुरुष समान भन्नुपर्ने अवश्था पनि नआउला भन्न सकिँदैन।

आजभोली पुरुष हिंसाका प्रशस्त उदाहरणहरु गाँउदेखी सहरसम्म छरपस्ट रुपमा देख्न सकिन्छ । ती मध्येको एउटा वास्तविक उदाहरण छोटकरीमा यहाँ लेख्दै छू । बिहे गरेको एक वर्ष नबित्दै श्रीमतीलाई सहरमा बस्ने मन लाग्छ र उनकै दबाबका कारण श्रीमान विदेशीन तयार हुन्छ । करीब ३ वर्षसम्म उस्ले आफूले कमाएको सबै पैसा श्रीमतीलाई पठाइदिन्छ र बजारमा थोरै जग्गा पनि श्रीमतीकै नाममा किनिदिन्छ । त्यो समयसम्म उनीहरुबीच देख्नेका लागि अगाध प्रेम नभएको पनि होइन । ३ वर्ष पश्चात उनीहरुमा खटपट सुरु हुन्छ, त्यसको मुख्य कारक तत्व थियो परपुरुषसँगको सम्बन्ध। आफ्नी श्रीमती परपुरुषसँग लागेको खबर श्रीमानले थाहापाएपछि ऊ डिप्रेसनको बिरामी हुन पुग्छ । उता श्रीमान पराई देशमा नङ्ग्रा खियाउँदै, पसिना बगाउँदै यता श्रीमतीको के कुरा गर्नु।करीब ४ वर्ष पुगेपछि उ घर फर्किन्छ घरमा आउँदा न श्रीमती न त पैसा…। न्याय माग्नको लागि उ प्रशासन न्यायालय लगायत सवै अड्डा अदालतमा धाउँछ, तर हात लाग्यो शून्य क्षतिपुर्तीको कुरा त परै जाओस् सुनुवाई पनि महिलाकै पक्षमा हुन्छ किनकी हामिलाई त महिला सशक्तिकरण चाहिएको छ, महिला हिंसाको अन्त्य गर्नुछ । यस्ता थुप्रै घटनाहरुमा पुरुष विचरो बनेको छ । त्यहि विचरो पुरुषको पक्षमा को बोलिदिने ? यो सत्य घटना सुन्दा कट्टर नारीवादीहरुको मनमा चिसो नपस्ला र के उनीहरुलाई पुरुष हिंसाको गन्धले नभेट्याउला र ? पक्कै पनि भेट्टाउनेछ।

जानेका, बुझेका, पढेलेखेका, सहरीया, बुद्धिजीवी र महिला हिंसा भयो भन्दै घाँटी सुक्नेगरी चिच्याउनेहरु बाटै पुरुष हिंसा हुने गरेको छ । समानता र महिला शशक्तिकरणको लागि आवाज उठाउनेहरु पुरुष हिंसाको बारेमा एक शब्द बोलदैनन्। यसमा त स्वयं पुरषले नै कायरता प्रदशन गरेको देखिन्छ। आफू पुरुष भएको हुनाले मर्द भइन्छ भन्ने भ्रमित दम्भकै कारण आफूमाथी भएको अन्याय अत्याचारलाई पालनपोषण गर्ने पुरुषमा पनि चेतनाको दियो बलोस् । हरेक दिन श्रीमतीको तुच्छ व्यवहारलाई थेग्न नसकेर परिवारकै कारण विदेशिएको अझ भनौं विदेशीको दास हुन गएको त्यो पुरुषको पीडा कसले बुझिदिने ? पुरुषले जिन्दगीभर परिवारको लागि बगाएको पसिना, दुख, त्याग र समर्पणलाई कसले बुझिदिने। उसको पीडाको मलम को बनिदिनें?

महिला भएको कारण पुरुष हिंसाको बारेमा लेख्दा कसैमा अन्याय नहोस्। समाजमा महिला, पुरुष, बालबालिका, वृद्द, तेस्रोलिंगी, समलिंगी आदिको बाहुल्यता रहेको छ उनीहरुले पनि कतै न कतैबाट हिंसाजन्य दुर्व्यवहार भोग्नुपरेको छ । त्यसैले अब End Violence Against Women मात्र होइन End Violence Against Everyone को अभियान चलाउन जरुरी छ । समग्र हिंसाको अन्त्य गरी समाजमा सबैको सहअस्तित्त्व कायम राख्नमा हातेमालो गर्न जरुरी छ । लिंगको आधारमा मात्र हिंसा हुन्छ भन्ने विचार त्यागेर हिंसा अन्त्यको प्रमुख अस्त्रको रुपमा रहेको शिक्षाको माध्यमबाट सबै मानिसमा ज्ञान, चेतना र सकारात्मक सोचको विस्तार गरेर सभ्य र सुसंस्कृत समाजको स्थापना गर्नु आजको २१ औ सताब्दीको आवश्यकता हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

देशमा सुशासनको प्रत्याभूति दिलाउने कानुन हाे : प्रधानमन्त्री दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री दाहालले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम