एकाएक भारतीय रक्षामन्त्रीले नेपाली भूमि कालापानी हुँदै लिपुलेकसम्मको सडक उद्घाटन गरेको समाचार आयो । लगत्तै सामाजिक सञ्जालहरु कडा विरोध र आक्रोशका स्वरहरु गुन्जिन थाल्यो । सडकमा भारतीय अतिक्रमण विरुद्ध नारा जुलुस हुन थाले । भारतले नेपाली भूमी अतिक्रमण गर्दा होस् या नेपाली भूमी डुवान पर्ने गरी सिमा पारी ठूला ठूला सडक वा नहर बनाउँदा होस् नेपाली जनताले वर्षौंदेखि देशभक्तिपूर्ण प्रर्दशन गर्दै आएका छन् । सन् १९५० को असमान सन्धिदेखि गणतन्त्रमा आइपुग्दा समेत भारतीय विस्तारवादले नेपाली भुमि अतिक्रमण र हस्तक्षेप गर्न नछोडेपछि देशभक्त नेपाली जनताहरु भूअखण्डता, स्वाधिनता र सार्वभौमसत्ताको लागि निरन्तर संघर्षरत छन् ।

म जान्ने हुँदादेखि नै ‘भारतीय सेना कालापानी छोड’ भन्ने नारा सुनेको हो । मलाई याद छ, कालापानीमा भारतीय सेनाले अस्थाई क्याम्प राखेको विरोधमा राती राती राँके जुलुस गरेको । त्यतिबेलाको सत्ताधारी दल नेपाली कांग्रेसलाई भारतीय विस्तारवादको दलाल भनेको पनि राम्ररी याद छ । भारतीय दलालको विरोध गर्ने गाउँमा कम्युनिष्टको नाममा एमाले नै अगाडि थियो । मलाई पनि राँके जुलुसमा खुब जाउँ जाउँ लाग्थ्यो । तर म सानो भएकोले जान दिंइदैनथ्यो । फेरि हाम्रो परिवारहरु सबै काँग्रेस रैछन् । बाबा कालो काँग्रेस । ज्यान जाला काँग्रेसको झण्डा बोक्न र रुख चिन्हमा भोट माग्न नछोड्ने । ‘कम्युनिष्टहरु’ले बाबालाई भारतीय विस्तारवादको दलाल, भ्रष्टचारी, गुण्डा र फटाहा भन्दै तथानाम गाली गरेको र हाम्रो घरलाई थुक्दै हिडेको अनि हाम्रो घरको भित्तामा भारतीय सेना कालापानी छोड, भारतीय दलाल नेपाली कांग्रेस मुर्दावाद भन्दै कोइलाले राती लेखेर छाडेकोे पनि खुब याद आउँछ ।

विचरा बाबालाई भारतिय विस्तारवाद भनेको के हो? कालापानी, लिपुलेक र सुस्तामा कहिले सिमा मिचे त्यो पनि थाहै थिएन । यति सम्म की कालो कांग्रेस भएर पनि आफु कांग्रेस किन भएको भन्ने समेत थाह थिएन । वरपरका अलि जान्नेहरुले देशमा प्रजातन्त्र ल्याउने कांग्रेस हो कांग्रेसलाई जिताउनु पर्छ भन्ने मात्र सुनेको भरमा कालो कांग्रेस भएका थिए । अनि कांग्रेसले के गर्छ,को को छन यी सबै जान्ने त कुरै भएन । यस्ता अबुझ कालो कांग्रेसलाई भारतीय बिस्तारबादी भनेर “कौवालाई बेल पाको हर्ष न बिस्मात” भनेझै थियो ।त्यतिबेला काला कांग्रेसहरुलाई घरमा भेटेर कांग्रेस र कम्युनिष्टको फरक अनि कालापानी, सुस्ता जस्ता अतिक्रमित भुमिको बारेमा राम्ररी भनेको भए केही बुझ्थे होला ।

अहिले मैले शिशु कक्षाबाट अक्षरारम्भ गरी स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेको छु । करिब २० बर्षसम्म शिक्षण गरिरहँदा पनि भारतीय सेना कालापानी छोड, लिपुलेक, कालापानी र लिम्पियाधुरा अनि सुस्ता पनि हाम्रै हो भन्दै नारा लगाइ रहनु पर्ने वाध्यता तोडिएको छैन । हिजो भारतीय सेनाले कालापानी छोड भनेर नारा लाएका ‘कम्युनिष्टहरु’ एमाले मात्र होइन, माओवादीहरु पनि पटक पटक सरकारमा गए । मशाल पनि सरकारमा गयो । तर भारतीय सेनालाई कालापानी छोडाउन त के दुई देशबीचको सीमा विवाद सुल्झाउन दरो कुटनीतिक पहल गरेको देखिएन । भारतीय शासकहरुसँग आँखा जुधाएर वार्ताको टेबलमा बस्न हिम्मत गरेको देखिएन । जब जब भारतीय अतिक्रमण र हस्तक्षेपको विरोधमा जनता सडकमा आउँछ अनि लाज जोगाउन कम्युनिष्ट खोल ओढेका समेत यी शासक दलका भातृसंगठनहरु सलबलाउन थाल्छन । देशभक्तिपूर्ण आन्दोलनमा साँचिकै व्यापक जनता सचेततापूर्वक सहभागी हुन जाला भनी आम जनताको आँखामा छारो हाल्न शासक दलका भुराहरुले आन्दोलन गरेजस्तो गर्छन् ।

भारतीय दलाल शासक दलका नेताहरु नेपाली जनतासामु त ताल परे गोहीको आँसु स्वरुप चर्को चर्को भाषण पनि गर्छन् । अनि औपचारिक सरकारी विज्ञप्तिमा नाम राख्दा सात पुस्ता मन्त्री बन्न नपाउने भयले परराष्ट्र मन्त्रालयको बेनामी विज्ञप्ती निकाल्छन् । हिजो भारतीय सेना कालापानी छोड भन्दै मेरै घरका भित्तामा, हाम्रै गाउँघरका भित्तामा, चैपारीमा, मन्दिरमा विद्यालयको भित्ताहरुमा लेख्दै हिड्ने, देशभक्त कम्युनिष्ट भनेको एमाले मात्रै हो भन्दै हिड्ने हाम्रो गाउँको नेता प्रदीपकुमार ज्ञवाली नै आज पराराष्ट्र मन्त्री भएका छन् । जनताको मत र मन जित्न भारतीय दलालको विरोध गर्ने परराष्ट्र मन्त्री ज्ञवालीले आफ्नै मन्त्रालयको विज्ञप्तिमा हस्ताक्षर गर्ने हुति नभएर अन्तरराष्ट्रिय प्रचलनमा हस्ताक्षर नभए पनि चल्ने छली भाषा बोलिरहेका छन् । अझै ‘लिपुलेकमा बाटो बनाएको थाहा छैन’ भन्दै भारतीय विस्तारवादका दलालहरुको लाइनमा उभिन गएका छन् । कस्तो अचम्म ? मन्त्री पदमा पुगेपछि आफ्नै पदको लगौंटी च्यातिंदा पनि थाहा नहुने ? कस्तो सुताइ हो ? कस्तो रनभुल्लमा परेको हो ? हिजो बुर्जुवा शिक्षाको बिरोधमा वर्ग संघर्षको नारा दिने, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद विरुद्ध विद्यार्थीहरुलाई उचाल्ने अनि कम्युनिष्ट आन्दोलनप्रति मोह जगाउने ‘गुल्मीका प्रखर नेता’ भनी चिनाइएका ज्ञवालीले परराष्ट्रमन्त्री हुँदा आफ्नै देश लुटिएको बिर्सने ? आहा, कस्तो भुलक्कड ? यो देश र जनताप्रतिको जिम्मेवारी भुल्ने रोग मन्त्री बनेपछि मात्रै लाग्यो कि हिजैदेखि मन्त्री बन्ने आकाँक्षाले जनतालाई लौरो बनाउन राती राती जनताको गाउँगोठमा क्रान्तिकारी टोपली हिडेको हो ? हिजो हाम्रो अगाडि दिएका क्रान्तिकारी वचन र त्याग सत्तामा पुग्ने लिस्नो मात्रै हो ? 

आफैले जगाएका जनता र सिकाएका कार्यकर्ताहरुको भावनामाथि यतिविघ्न खेलवाड गर्न हुने थिएन । मौकामा धोती बचाउन नसक्नेहरु जनताको अगाडि नाङ्गिदै गएका छन् । सुन हजार चोटी जोखे पनि मान्छे त एक पटक जोखे पुग्छ । कम्युनिष्टको नाममा भोट बटुले पनि यिनीहरु कम्युनिष्ट होइनन्, देशभक्ति होइनन् भन्ने कुरा आफैले उदाङ्गो पार्दै गएका छन् । अब सचेत जनताले यी नक्कली कम्युनिष्टहरुको असली चरित्र बुझ्नु र बुझाउनु आवश्यक छ । कम्युनिष्टको बदनाम गर्न कम्युनिष्ट नाम गरेको नेकपामा परराष्ट्रमन्त्री ज्ञवाली मात्र होइन, साम्राज्यवाद र विस्तारवादको विरोध गरे जस्तो गर्ने अनि पद र सत्ताको लागि उनैको आर्शिवाद पाउन हानथाप गर्ने धेरै छन् । हिजो विद्यालय विद्यालयमा विद्यार्थी संगठन गठन गरेर राजनैतिक कक्षाहरुमा देशको समसामयिक विषयमा जानकारी गराइन्थ्यो । लुकी लुकी कम्युनिष्ट आन्दोलनबारे पढाइन्थ्यो । देशप्रेमका नालापानी र सुस्ताको कथा पढाइन्थ्यो । भारतीय विस्तारवाद र एकाधिकार पुजीको ज्यादतीबारे प्रकाश पारिन्थ्यो । देश र जनताका मुहार फेर्न जोसिलो भाका दिइन्थ्यो । कालापानी बचाउनको लागि ज्यान दिन पनि तयार भएर खुकुरी चक्काउन प्रोत्साहित पारिन्थ्यो । आज प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमालले त ‘सिमा विवाद मिलाउने बिषय पधेंरामा पानी लिन गए जस्तो सजिलो छैन’ भनी राजपाठ पढाउन पो थालेका छन् । सौह्रै आना ठिक हो कि देशको सिमा विवाद मिलाउने कुरा पानी पधेंरा जस्तो सरल विषय होइन । यो कठिन काम पार लगाउन इमान्दारिता र दृढता दुवै चाहिने होला नि ! जुन दुइटै तत्व कम्युनिष्ट नाम गरेको नेकपा लगायत नेपाली शासक दलहरुसँग देखिएन । 

पञ्चायती व्यवस्थापछि आजसम्म क कसले कति पटक सरकारको नेतृत्व गर्यो ? देशको सीमा विवाद समाधान गर्न के के गर्यो ? अतिक्रमित नेपाली भूमि फिर्ता लिन के कस्तो पहल भयो ? कालापानीबाट भारतीय सेना हटाउन कुन सरकारले ठोस कदम चाल्यो ? एमाले वा माओवादी कै नाममा पनि नेकपा पटक पटक सरकारमा गइसकेको छ । हालै नेपाली भूमि हडपेर भारतले नयाँ नक्सा जारी गरेपछि नै पनि नेपाली विज्ञहरुले तयार पारेको लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गर्न माग गर्दा प्रधानमन्त्री ओलीले नक्सा मात्र छापेर के काम ? यो सरकारले भूमि नै फिर्ता लिएर देखाउँछ भनी फुर्ति लगायो । प्रधानमन्त्री ओलीको फुर्ति पनि लिपुलेक मार्गले फुस्काइदियो । 
अर्धउपनिवेशको रुपमा रहेको नेपालको शासक दलहरुमा देश र जनताप्रतिको जिम्मेवारीबोध छैन । भारतिय विस्तारवाद र एकाधिकार पुजीको दलाली बाहेक अरु कुनै चिन्तन छैन । कतिबेला देशभक्ति देखिन खोजेको पनि चुनावको बेला जनतालाई थाङनामा सुताउन कै लागि रहेछ भन्ने देखियो । यी शासक दलहरुबाट देशमा आमुल परिबर्तन होला वा देशको स्वाभिमान र स्वाधिनता रक्षा होला भनेर कहिल्यै आशा गर्न नहुने भयो ।

शासक दलका कुनै पनि ब्यक्तिको बोलीमा ठेगान छैन । सचेत कामदार जनताले, नयाँ पुस्ताले यी शासक दलहरुको चर्तिकला सुक्ष्म ढङ्गबाट अध्ययन गरिरहेका छन् । दलाल शासक दलहरुले गुलिया पोतिएको विषालु ललिपप दिएर जनतालाई सधैंभरि ठग्न सक्दैन । देशको माटोप्रति इमान्दार देशभक्त कामदार जनताले देशको बागडोर सम्हालेपछि जरुर पनि देशको भूअखण्डता, स्वाधिनता र सार्वभौमसत्ता रक्षा हुनेछ । अनि कालापानी लिम्पियाधुरा लगायत सबै नेपाली भूमिमा शानदार नेपालको झण्डा फहरिने छ । अनिल दमाई

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

ए ! साथी फर्की हेर..

ए ! साथी फर्की हेर यस दुनियाँलाइ आज