लुम्बिनी प्रदेश,रुकुम पूर्व

परिचय

पूर्वीरुकुमजिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो। यो जिल्ला प्रदेशका बाह्र जिल्लाहरू मध्ये एक हो भने यस जिल्लाले धौलागिरि हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन शिकार आरक्षको साठ्ठी प्रतिशत भन्दा बढी भाग ओगटेको छ। करिब ७,२४६ मिटरको उचाइमा रहेको धौलागिरि द्वितीय पर्वत शृङ्खलाको पश्चिम छेउमा अवस्थित यस जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली (धौलागिरि सातौँ) हो भने पूर्वी रुकुम लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला पनि हो। पूर्वी रुकुम जिल्लालाई नेपाल सरकारले नेपालको उत्कृष्ट यात्रा गन्तव्यहरूमा सूचीकृत गरेको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कुल जनसंख्या ५७,९६३ जसमध्य पुरुषको संख्या २८,२२६ र महिलाको संख्या २९,७३६ रहेको छ।

यो जिल्ला ५२ वटा ताल र ५३ वटा डाँडाका लागि प्रसिद्ध छ। वि.सं. २०५२ देखि वि.सं. २०६२ सम्म पूर्वी रुकुम दश वर्षे माओवादी जनयुद्धको केन्द्र थियो। हिमाली भेग, धौलागिरि हिमशृङ्खला र समृद्ध खाम मगर संस्कृतिको अनुभव प्रदान गर्ने यस जिल्लामा माओवादी विद्रोहीको विगतको मार्ग पछ्याउँदै साहसिक पर्यटनको रुपमा पैदल यात्रा भ्रमणको विकास गरिएको छ।पूर्वी रुकुम जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट हो। जिल्ला सदरमुकाम रुकुमकोटबाट गोलखाडा, कोल, पुथा उत्तरगङ्गामा सरुवा गर्ने सरकारको निर्णय रहेको थियो। यद्यपि यो अहिलेसम्म अन्तिम टुङ्गो लागेको छैन। वि.सं. २०७८ वैशाख १९ मा, पुथा र उत्तरगङ्गालाई छुट्टाछुट्टै गाउँपालिका बनाउने प्रस्ताव गाउँ सभाबाट पारित भएको थियो। पूर्वमा पूर्वी रुकुम जिल्ला रुकुम जिल्लाकै एक भाग थियो। वि.सं. २०७२ असोज ३ गते, राज्यले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि तात्कालिन रुकुम जिल्ला लाई रुकुम पूर्व र रुकुम पश्चिममा विभाजन गरेको थियो। प्राचीन र मध्यकालीन समयको खाम मगर संस्कृतिको स्वाधिनता र संरक्षणका विभिन्न तहलाई कायम राख्न सफल भए पनि राणा शासनका साथै पञ्चायतकालमा पनि यस क्षेत्रको संरचनामा फेरबदल भएको थियो। वि.सं २०३० साल भन्दा अगाडि, पूर्वी रुकुमको पर्याप्त भाग क्रमशः राणा शासनकालमा पाल्पा र क्रमशः शाह राजाहरूको अधीनमा राज्य पुनर्निर्माणको समयमा बाग्लुङ सँग गाभिएको थियो।

नामाकरण

महाभारतका प्रमुख पात्र राधा कृष्ण र रुक्मिणीको प्रेम कथाबाट रुकुमको इतिहास जोडिएको पाइन्छ । बिधर्भ देशको राजा भिस्मकको छोरी रुक्मिणीलाई  राक्षसि पुतनाले आकासमा लगेर एउटा सुन्दर कमलको फुल भएको सरोवरमा खसाली दिएकी थिइन । उनै रुक्मिणीलाई वृषभानु र उनकी पत्नीले संरक्षण गरे र उनको नाम राधा राखे । पछि यो घटना थाहा भएपछि राधा पुन रुक्मिणी नै भनेर चिनिन थालिन । त्यसैले प्रेम र विवाहको अनुपम इतिहास बोकेको यो रुकुममा उक्त कमल दह र उनै प्रेमकी प्रतिमूर्ति राधा वा रुक्मिणीको मन्दिर पनि रहेको ले यो जिल्ला रुकुम भनेर भनिन थालियो । कमलदह प्रेम र त्यागकि प्रतिमूर्ति देवी राधारानीको प्रकटस्थान हो । हाम्रो  रुकुमकोटमा उनै रुक्मीणी देवीको मन्दिर छ । उनकै नामबाट रुकुमकोटको नामाकरण भएको र रुक्मीणी देवी शब्दको अप्रभंश भई रुकुम नाम रहन गएको हो भन्ने किम्बदन्तिहरू पाइन्छ।

इतिहास

राष्ट्रिय एकिकरण अभियानको क्रममा जिल्लाको विजयसँगै यस क्षेत्रलाई बहादुर शाह  र रणबहादुर शाह (वि.सं. १८४२-१८५२) को पालामा नेपाल अधिराज्य सँग गाभिएको थियो। प्राचीन र मध्यकालीन नेपालको बेला पनि खाम मगर संस्कृतिको, स्वाधीनता र संरक्षणका विभिन्न तहलाई कायम राख्न सफल भए पनि राणा शासनको निरंकुशताका साथै पञ्चायतकालमा पनि यस क्षेत्रको संरचनामा फेरबदल भएको थियो। सन् १९०९ अघि, राणा शासनको समयमा र क्रमशः शाह वंशको राज्य पुनर्निर्माणको समयमा पर्याप्त पूर्वी भागलाई पाल्पा जिल्ला र बाग्लुङ जिल्ला  वा डोल्पा जिल्ला सँग गाभिएको थियो। पञ्चायती शासनको बेलामा अर्थात्, वि.सं. २०१८ साल वैशाख १ गते रुकुम सल्यान र जाजरकोट बाट छुट्टिएको थियो। छुट्टिएर नयाँ जिल्ला बनेपछि यसको सदरमुकाम रुकुमकोट तोकिएको थियो भने पछि वि.सं. २०३० सालमा, जिल्लाको राजधानी मुसिकोट सारिएको थियो भने देशको आएको सङ्घीयतासँगै विभाजन भएको रुकुम जिल्ला को पूर्वी भागको सदरमुकाम पुन: रुकुमकोट बनेको थियो। पूर्वी रुकुम २०औँ शताब्दीको बेलामा, देशको सबैभन्दा पुरानो साम्यवादी किल्लामध्ये एक थियो। यो जिल्ला वि.सं. २०५२ देखि वि.सं. २०६२ सम्मको भूमि असमानता, जातीय असमानता, सामन्तवाद र सामन्तवाद विरुद्धमा भएको माओवादी जनयुद्धको हृदयभूमि पनि बनेको थियो।फलस्वरूप देशमा २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य हुँदै मुलुक लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको थियो।

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार रूकुम पुर्व जिल्लाको स्थानियतहको विभाजन साविकका  गा.वि.स. का वडाहरूलाइ समेटेर  ३ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।

  • भुमे गाउँपालिका
  • पुथा उत्तरगंगा  गाउँपालिका
  • सिस्ने  गाउँपालिका

जलवायु र भूगोल

पूर्वी रुकुम जिल्ला देशान्तरः ८२ डि. ३५ मि. देखि ८३ डि. १० मि. पूर्वी देशान्तरसम्म र अक्षांसः २८ डि. २८ मि. देखि २९ डि. ०० मि. उत्तरी अक्षांससम्म, साथै समुद्र सतहदेखि ७,२४६ मिटर उचाइसम्म फैलिएको छ भने यो जिल्लाको क्षेत्रफल १,६६३ वर्ग किलोमिटर रहेको छ। पूर्वी रुकुम जिल्ला लुम्बिनी प्रदेशको सबैभन्दा उत्तरमा पर्ने एक मात्र हिमाली जिल्ला हो। यो जिल्ला प्राकृतिक सम्पदा र कला संस्कृतिको धनी जिल्ला हो। जिल्लाको हावापानी समशितोष्ण/शितोष्ण पाइन्छ भने औषत वार्षिक वर्षा १८०० मिलिमिटर देखि २६०० मिलिमिटर सम्म र तापक्रमः ०.२ देखी ३४ डिग्री सेल्सियस सम्म रहेको छ।जिल्लाले पूर्वमा, बाग्लुङ र म्याग्दी, पश्चिममा रुकुम (पश्चिम), उत्तरमा डोल्पा, र दक्षिणमा रोल्पा लगायतका जिल्लाहरूसँग सीमा साझेदार गरेको छ।

धार्मिक तथा पर्यटकीय स्थलहरु

वराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट, विन्द्यावासीनी मन्दिर रुकुमकोट, मस्तथान मैकोट,  आदि प्रमुख धार्मिक स्थलहरू हुन भने पुथा हिमाल, सिस्ने हिमाल, कमल ताल, पुपाल दह, सुन दह, गुप्ता दह, सम्पे ताल, देऊराली गुफा, तकसेरा गाँउ, लुकुम गाँउ, राङ्सी गाँउ, कोल गाँउ, हुकाम गाँउ, मैकोट गाँउ, काँडा गाँउ, महत गाँउ, सिमा गाँउका मगर वस्तीहरु, रुकुमकोट वस्ती, ढोरपाटन वन्यजन्तु आरक्ष आदि पर्यटकीय स्थलहरु हुन ।

रूकुम पुर्व जिल्लामा उत्पादनहुने प्रमुख तरकारी तथा फलफुलहरुमा   मुला, आलु, पिडालु, प्याज, रायो, लसुन, बेसार, अदुवा, टमाटर, फर्सी, गोलभेडा, रामतोरिया, करेला, भेण्टा, खुर्सानी, केराउ, गाजर, काउली, बन्दा, सिमी, काँक्रा, स्कुस, बरेला, बोडी,  केरा, अम्वा, सुन्तला, कागती, मौसम, स्याँउ, नास्पति, आलु, आरुबखडा, ओखर आदि हुन। रूकुम पुर्व जिल्लामा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरुमा कस्तुरी, मृग, नाउर, रातो, बांदर, ढेडुं, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दुम्सी, लोर्खके, गोहोरो, डाँफे, मुनाल, च्याकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि हुन। रूकुम पुर्व जिल्लामा पाइने जडीबुटीहरूमा यार्सागुम्वा, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईटो, जटामसि, भलायो आदि पाइन्छन।

धौलागिरी हिमशृङ्खला

यस जिल्लाका थुप्रै हिमालहरू मध्ये सबैभन्दा प्रख्यात चुचुराहरूमा पुथा र सिस्ने हिमाल पर्दछन्। पुथा हिमाल ७,२४६ मिटरको उचाईमा रहेको धौलागिरी द्वितीय हिमशृङ्खलाको पश्चिम छेउमा अवस्थित लुम्बिनी प्रदेशको सबैभन्दा अग्लो हिमाल पनि हो। यो पहिलो पटक सन् १९५४ मा जेम्स ओवेन मेरियोन रोबर्ट्स र आङ निमा शेर्पाद्वारा आरोहण गरिएको थियो। अर्को प्रमुख हिमाल चाहिं उत्तरमा रहेको सिस्ने हिमाल हो। स्थानीयले यसलाई पाटन हिमाल (हिउँचुली पाटन), सिस्ने वा मुर्काट्टा हिमालको नामले चिन्दछन्। यो हिमालको उचाइ ५,८४९ मिटर रहेको छ। जनक्रान्तिको प्रतीकका रूपमा जनयुद्धका साहित्यहरूमा सिस्ने हिमाल लाई बारम्बार प्रस्तुत गरिएको थियो र यो वि.सं. २०५२ देखि वि.सं. २०६२ को माओवादी जनयुद्धको समयमा क्रान्तिकारीहरूका लागि प्रतिष्ठित ऐतिहासिक स्थल बनेको थियो। वि.सं. २०७० सालमा, पहिलो पटक मानबहादुर खत्रीको नेतृत्वमा रहेको अभियानले हिमाललाई सफल आरोहण गरेको थियो।

सिस्ने हिमाल

सिस्नेहिमाल लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पूर्वी रुकुमको उत्तरी सिमानामा अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाम हो। यस हिमाललाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ। यो हिमाल कान्जीरवा हिम श्रृङ्खला अन्तर्गत पर्दछ। यसको उचाईं ५,८४९ मि. छ। यो हिमालको वरिपरि विभिन्न सना-ठूला हिम तालहरू रहेका छन्। रुकुमकोटको पूर्वी-उत्तरका मैदान डाँडा वा खोर्सले लगायतका डाँडाबाट सिस्ने हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। सिस्ने हिमाल सिस्ने गाउपालिका-२,सिस्ने,रुकुमपुर्व, लुम्बिनी प्रदेशमा अवस्थित रहेको छ। यहाँ अझैपनी मोटरबाटो पुग्न सकेको छैन। सिस्ने हिमालको काखमा बल्लेचौर,ओख्रेना,सिस्नेपोखरी(ठूलो सिस्ने) जस्ता सुन्दर र मनोरम गाउहरु रहेका छन। सदरमुकाम रुकुमकोट्बाट करिब ६ घन्टाको पैदल यात्राबाट सिस्ने हिमालको छेउमा पुग्न सकिन्छ तर सिस्ने हिमालको फेदमा पुग्न करिब १ दिन लाग्छ।

ताल तथा नदीहरू

रुकुमकोटमा मात्रै ५२ वटा ताल रहेकामा जिल्लाको आकारको अनुपातमा पर्याप्त मात्रामा खानेपानी निकाय र नदीनाला रहेका छन्। धेरै तालमध्ये रुक्मिणी ताल रुकुम जिल्लाको केन्द्रविन्दु हो। पौराणिक पात्र रुक्मिणीकै नाम राखिएको यस ताललाई कमल ताल समेत भन्ने गरिन्छ। तालले स्थानीयवासीका लागि धार्मिक र पवित्र महत्व राखेको छ जसका कारण महाशिवरात्री, दशैँ, माघे सङक्रान्ति र हरितालीका तीजका बेला ठूलो जमघट हुने गर्दछ। सानीभेरी, लुकुम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदी यहाँका प्रमुख नदी तथा खोलाहरू हुन्।

रुक्मिणी ताल

रुक्मिणीताल बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित रुकुम जिल्लाका विभिन्न तालहरूमध्ये कमल ताल संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको तालको संरक्षणका लागि कुनै प्रयास नभएपछि ताल लोप हुने अवस्थामा पुगेको छ। ताल उत्पतिका विषयमा कुनै ठोस प्रमाण नभेटिए पनि धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो तालमा वर्षेनी शिवरात्री, चैत्रे दशैं, हरितालिका तिज, बडादशैंमा भब्य मेला लाग्ने गर्दछ। तालमा नुहाएमा विभिन्न रोगहरू निको हुने जनविश्वास रहेको पाइन्छ। तालको संरक्षणसँग प्रचार प्रसार भएमा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने स्थानीय व्यवसायीहरू बताउँछन्। स्थानिय भाषामा कमल दह पनि भन्ने गरिन्छ। रुकुमकोटको बाहुन्थानामा अवस्थित यो ताल नेपालको नक्शा जस्तो देखिन्छ। यसको क्षेत्रफल १.९५ वर्ग कि.मी.छ। यहाँ नुहाउदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ति अनुसार माघे सक्रान्तिमा तिर्थयात्रिहरू आएर नुहाउने चलन छ। यो ताल सुन्दर र मनमोहक हुनुकासाथै नेपालमा पाईने कमल मध्ये सबैभन्दा राम्रो कमल पाइन्छ। प्राय चैत बैशाख महिनामा यस तालबाट कमल निकाल्ने गरिन्छ,जुनबाट अचार या तरकारि बनाइन्छ त्यसबाहेक यसलाई कमलपित्त (जन्डिस) या अन्य रोगको उपचारको लागि पनि प्रयोग गरिन्छ। अनि असार,साउन र भदौ तिर तालले माला भिरेझै देखिने कमलको हरियो पात अनि त्यसमथि फुलेको कमलको फुलले रुकुमकोटमा लाग्ने तिज् मेलामा अर्कै रौनक थपेको हुन्छ। यो तालको पूर्वमा पर्ने वनमा विभिन्न किसिमका जडिबूटिहरू पाइन्छन्, साथै यो ताल वरिपरि विभिन्न किसिमका चराहरू पाइने भएकोले बर्ड् वोचिङ्को लागि उपयूक्त ठाँउ हो।

ढोरपाटन शिकार आरक्ष

ढोरपाटनशिकारआरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ। ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० (सन १९८३)मा स्थापित भयो र यसले वि.सं. २०४४ (सन १९८७)मा मात्र सरकारी मान्यता प्राप्त गर्‍यो। यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन। यो आरक्ष समुन्द्री सतहबाट २,८५० मिटर(९,३५० फिट) देखि ५,५०० मिटर(१८,००० फिट) उचाईमा अवस्थित छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रमा आश्विन महिनाको शुरुवात सम्म वर्षात मौसम रहन्छ। यहाँ हिउँद मौसम दिनको तापक्रम न्युन रहने तथा जोडसँग हावा चल्ने गर्छ। माथिल्लो भेगमा बिहानी समयमा बादल तथा कुहिरोले ढाकिरहन्छ तर पछि हावा चलेर बादलहरू हट्न गई मौसम सफा हुने गर्छ। माघ तथा फाल्गुण महिना तिर यस क्षेत्रको तल्लो भेग सम्म नै हिउँ पर्ने गर्छ, त्यसकारण यहाँका स्थानीय बासिन्दाहरु छ महिना बुँकी र छ महिना औल तिर बसाई सर्ने गर्दछन्
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन म्याग्दी, बाग्लुङ, पश्चिम रुकुम र पूर्वी रुकुम जिल्लामा फैलिएको छ भने यस जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको ६०% भाग ढोरपाटन शिकार आरक्षले ओगटेको छ। ढोरपाटन क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति उच्च पहाडी सिमसार क्षेत्र ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातीका चराचुरुङ्गी ८ सय ५२ नाउर, २ सय झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लङ्गुर लगायतका जङ्गली जनावर र पन्छीहरू रहेका छन्। बि. स. २०३२ सालमा मा नर्वेका एक प्राध्यापकको एउटा अध्ययनले यस क्षेत्रमा झारल र नाउरको सङ्ख्या उल्लेख मात्रमा रहेकाले यहाँ सिकार खेल्न सकिने सम्भावना रहेको सुझाव दिएका थिए। त्यसपछि २०४३ साल देखि यसलाई सिकारीहरूका लागि खुल्ला गरिएको थियो। ढोरपाटनमा प्रत्येक वर्ष दुई ऋतुमा सिकार गर्न पाइन्छ जहाँ सिकारका लागि २० वटा नाउर र ११ वटा झारल छुट्याउने गरिएको छ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १५ दिनको सिकार अनुमति जारी गर्छ।

छापामार पदमार्ग

नेपाल सरकार विरुद्ध भएको १० वर्षे लामो जनयुद्धको अन्त्य पश्चात् अमेरिकी लेखक तथा खोजकर्ता एलेन्ज लिनियस नेपाल भ्रमणमा आएका थिए। माओवादी जनयुद्धको केन्द्रविन्दु मानिएको रोल्पा, रुकुम लगायतका अन्य हिमाली तथा पहाडी जिल्लाहरूमा तात्कालिन माओवादी लडाकु हिँडेका मार्गको भ्रमण गर्दै एउटा किताब लेखेका थिए जसपश्चात्, छापामार पदमार्गको अवधारणा ल्याइएको थियो।
पूर्वी रुकुममा पर्ने भुमे गाउँपालिकामा माओवादी लडाकु हिँडेका मार्ग पहिचान गर्दै छापामार पदमार्ग बनाइएको छ। जनयुद्धको बेलामा, द्वन्दबाट प्रभावित भएका यस क्षेत्रको वासिन्दाहरूको आर्थिक स्तरमा वृद्ध गर्न, विदेशबाट घुम्न आउने पर्यटकहरूलाई युद्धकालिन दिनचर्या, मानिसहरूको जनजीवन, खाम मगर संस्कृतिको अनुभव दिन र युद्धकालिन अवशेष देखाउनका लागि यस पदमार्ग बनाइएको थियो। म्याग्दी जिल्लामा पर्ने मालिकाको दरवाङलाई प्रवेशद्वार मानिएको पदमार्गमा म्याग्दीको, रोल्पा र रुकुममा क्षेत्रहरू पर्दछन्। युद्धको केन्द्रविन्दु मानिएको यस क्षेत्रमा युद्धकालिन अवशेष झल्किने खालका संरचना निर्माण भएकाले यसले पर्यटकहरूलाई आकर्षित गर्दछ। माओवादी शान्ति प्रक्रियामा आएपछि, यो ठाउँको प्रवर्द्धन गर्न शान्ति स्तम्भ र युद्धको झल्को दिने सङ्ग्रहालय निर्माणका काम सम्पन्न भएका छन्।

देउरालि गुफा

देउरालिगुफास्थानिय भाषामा देउरालि ओडार पनि भनिने यो गुफा रुकुमकोट देखि पूर्बमा रुमगाड नदि(लुकुम गाड)को किनारमा अवस्थित छ। सांघुरो प्रवेशद्वारबाट भित्र पस्यो भने विशाल भवन भित्र प्रवेश गरेको अनुभव हुन्छ। गुफा भित्र प्राकृतिक रूपमा बनेका मानिसका विभिन्न दैनिक क्रियाकलाप या विभिन्न देवि देवताका मूर्तिहरू हेर्न सकिन्छ,प्राकृतिक रूपमा बनेका यि मुर्तिहरू कसरी बनेका होलान एउटा अनौठो अनुभव हुन्छ। यो गुफा भित्र ९ भन्दाबढि तलाहरू भएको र अनुशन्धानको कमिले गर्दा अहिले २ तला सम्म अवलोकन गर्न सकिन्छ। पहिले यो ठाँउमा वर्षको एक पटक ठूलो मेला लग्ने गर्दथ्यो। अहिले पनि चैते दशैको दिनमा ठूलो मेला लाग्ने गर्दछ। रुकुमकोटबाट त्यहां पुग्न लगभग ४०/५० मिनेट पैदल लाग्छ। यो गुफा पर्यटकिय हिसाबले महत्त्वपूर्ण मानिन्छ।

देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ। 

              सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आन्तरिक पर्यटक बृद्धिको अभियान।स्वागत गर्छ नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) , हेर्न आउ प्रकृतिको बरदान॥

लुम्बिनीप्रदेश, नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) परिचय नेपालको लुम्बिनी प्रदेश अन्तर्गत