विश्व अहिले चकित हुँदै भारतलाई नियालिरहेको छ । कतै चन्द्रयानको सफल अवतरणका खबरहरू छापिन्छन्, कतै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने दाबी गरिन्छ, र कतै बेंगलुरु तथा हैदराबादलाई विश्वकै प्रविधि हबका रूपमा चित्रण गरिन्छ । दिल्लीका भव्य कंक्रीट महलहरू, मुम्बईका गगनचुम्बी टावरहरू, र हैदराबादका झलमल गर्ने टेक पार्कहरूले संसारसामु भारतको एक चम्किलो र लोभलाग्दो तस्वीर प्रस्तुत गरिरहेका छन् । तर, जब यस चमकिला तस्वीरको पर्दा उघारिन्छ, तब एउटा अर्कै कथा प्रकट हुन्छ । करोडौँ श्रमिकहरूको पसिना, पीडा, भोक र अवहेलनाले भरिएको कथा ।

के विकास भनेको केवल कुल गार्हस्थ उत्पादन (जीडीपी) को वृद्धि मात्र हो ? के यसको मापन अम्बानी वा अडानीजस्ता सीमित उद्योगपतिहरूको अकुत सम्पत्तिबाट हुन्छ ? यदि त्यसो हो भने, भारत वास्तवमै विकासको शिखरमा छ । तर, यदि विकासको अर्थ सबै नागरिकका लागि समान अवसर, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति हो भने, भारतको यो “उदय” एउटा ठूलो भ्रम मात्र हो । किनकि, यसको वास्तविक धरातल त्यो चम्किलो मञ्चमा देखिने चित्रभन्दा धेरै फरक छ ।

विगत दुई दशकमा भारतले गरिबी घटाएको तथ्याङ्क प्रस्तुत गरिन्छ । विश्व बैंकका अनुसार, करोडौँ मानिस चरम गरिबीको रेखामुनिबाट माथि उठेका छन् । तर, “माथि उठ्नु” भनेको के हो ? दिनको दुई डलर खर्च गर्न सक्ने अवस्थामा पुग्नुले जीवनमा कस्तो गुणात्मक परिवर्तन ल्याउँछ? जहाँ स्वास्थ्य उपचार महँगो छ, शिक्षा निजीकरणको चपेटामा छ, र रोजगार अस्थिर छ, त्यस्तो अवस्थामा दुई डलरले के नै पो फरक पार्न सक्छ र ? यो समृद्धिको परिभाषा हो कि गरिबीको पुनर्व्याख्या  ?

भारतको आर्थिक संरचनामा असमानता यति विकराल छ कि आज शीर्ष एक प्रतिशत मानिसहरूले देशको करिब ४० प्रतिशत सम्पत्ति कब्जा गरेका छन् । देशको कुल आयको झन्डै एक चौथाइ हिस्सा शीर्ष एक प्रतिशतकै हातमा पुगेको छ । अर्कोतर्फ, बाँकी ५० प्रतिशत जनसंख्या भने दैनिक जीवन चलाउन पनि हम्मेहम्मे परिरहेको छ । यही हो पुँजीवादको नग्न अनुहार: कसैलाई महल, कसैलाई सडक ।

मुम्बईको चम्किलो सडकमा उभिएर आकाश छुने टावर देख्दा, त्यही टावरको फेदमा फोहोरको डंगुरमाथि बनेका झुपडी बस्तीहरू पनि देखिन्छन् । दिल्लीका पाँचतारे होटलहरूमा करोडौँ खर्च गरेर भोजभतेर चल्दा, त्यही सहरका पुलमुनि हजारौँ मानिसहरू मागेर पेट पाल्न बाध्य छन् । विकासको कथा सुनाउँदा यी आवाजहरू दबाइन्छन्, तर साँचो भारत त्यही हो जहाँ आकाशै छुने टावरसँगै टुटेको छाप्रो पनि हुन्छ ।

भारतको श्रमिक वर्ग अझ गहिरो पीडामा छ । अरब मुलुकहरू, मलेसिया, सिंगापुर, कतार, साउदी, कुवेतजस्ता देशहरूमा भारतीय श्रमिकहरूको ठूलो भीड भेटिन्छ । उनीहरू आफ्नो देशमा रोजगारी, सुरक्षा र सम्मान नपाएपछि परदेशिन बाध्य भएका हुन् । त्यहाँ उनीहरू सस्तो मूल्यमा आफ्नो श्रम बेचेर परिवार धान्छन् । घामको ताप, दुर्घटना, मालिकको दमन, र आधारभूत मानव अधिकारमै कटौती जस्ता अवस्थाहरूमा उनीहरूको जीवन प्रायः मूल्यविहीन बन्छ । विडम्बना यो छ कि भारतको अर्थतन्त्रको आँकडामा उनीहरूले पठाएको रेमिट्यान्सले ठूलो हिस्सा ओगटेको छ । देशलाई उनीहरूको पसिनाले बल दिएको छ, तर उनीहरूको आफ्नै जीवनमा भने कुनै बल आएको छैन ।

कृषि क्षेत्रमा त पीडाको गहिराइ अझ बढी छ । किसानहरू ऋणमा डुबेका छन्, उत्पादनको उचित मूल्य पाउँदैनन् । ऋण तिर्न नसकेर आत्महत्या गर्ने किसानहरूको संख्या भयावह छ । तर, सहरमा बसेका ठूला व्यापारीहरूले खाद्यान्नको मूल्य बढाएर अकुत नाफा कमाइरहेका छन् । यसरी हेर्दा, श्रम गर्नेहरूको जीवन संकटमा छ भने नाफा खानेहरूको जीवन विलासी भएको छ । यही असमानता पुँजीवादको कठोर परिणाम हो ।

स्वास्थ्य र शिक्षा दुवै निजीकरणको चपेटामा फसेका छन् ।  गरिब परिवारलाई उपचार गर्न रोगभन्दा ठूलो पीडा ऋणको बोझ बन्छ । शिक्षामा पनि यही अवस्था छ: निजी विद्यालयहरूमा गुणस्तरीय शिक्षा त छ, तर त्यहाँ पढ्न सक्ने सामर्थ्य सीमित परिवारसँग मात्र छ। सरकारी विद्यालयमा पढ्ने बालबालिकाहरू अझै पनि अधुरो किताब, अधुरो पाठशाला र अधुरा शिक्षकका भरमा छन् । स्वास्थ्य र शिक्षाजस्ता आधारभूत अधिकारहरू पैसाले किन्नुपर्ने वस्तु बनेका छन् ।

यस्तो अवस्थामा, “भारत उदयमान छ” भन्ने नारा केवल सम्पन्नहरूको मुखमा मात्र शोभा दिन्छ । गरिब किसान, श्रमिक, घरविहीन मानिसहरू, दलित, आदिवासी र महिलाहरूका लागि त्यो नारा एउटा धोका मात्र हो । उनीहरूका लागि विकास भनेको अझै पनि बिहान-बेलुका पेटभरि खान पाउनु, सुरक्षित छानोमुनि सुत्न पाउनु र आधारभूत औषधि उपचार पाउनु हो। तर, यी कुराहरू अझै सुनिश्चित हुन सकेका छैनन् ।

भारतको पुँजीवादी विकासले धनी र गरिबबीचको दूरी अझ फराकिलो बनाइरहेको छ। सहरमा गगनचुम्बी टावरहरू थपिँदै गर्दा, गाउँहरूमा अझै पनि सडकको अभाव छ । अर्बौँका परियोजनाहरू घोषणा हुन्छन्, तर दुर्गम गाउँहरूमा स्वास्थ्यचौकीसम्म छैन । अन्तरिक्षमा चन्द्रयान उड्छ, तर लाखौँ बालबालिकाहरूले अझै पाठशालामा किताब पाएका छैनन् । यही हो विरोधाभास एउटै मुलुकभित्र चम्किलो भारत र अन्धकारमय भारतको सहअस्तित्व ।

यदि भारतले साँच्चिकै समावेशी विकास गर्न चाहेको भए, उत्पादनका साधनहरू, ठूला कलकारखाना, स्रोत र सम्पत्तिहरू राज्यको नियन्त्रण वा समुदायको स्वामित्वमा हुने थिए । श्रमिकहरूको जीवनस्तर सुधार्ने, सामाजिक सुरक्षा प्रदान गर्ने, र शिक्षा तथा स्वास्थ्यलाई निःशुल्क एवं गुणस्तरीय बनाउने प्रणाली विकास गरिने थियो । तर, पुँजीवादी मोडलले त्यो सम्भव बनाएको छैन। परिणामस्वरूप, करोडौँ भारतीयहरू परदेशिन बाध्य छन्, आफ्नै देशमा सम्मानित जीवन बाँच्न पाएका छैनन् ।

भारतको चम्किलो अनुहार देख्दा संसार चकित हुन्छ, तर त्यस चमकभित्र लुकेको पुँजीवादको नाङ्गो र निर्मम अनुहारश्रमिकको पसिना, किसानको आँसु, गरिबको भोक, महिला र दलितको अवहेलना यो संसारले कमै देखेको छ । यही हो भारतको आर्थिक उदय र श्रमिकको पीडाको वास्तविक कथा, जसले पुँजीवादको असली अनुहार प्रस्ट्याउँछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

ओली-पथ: शक्ति छ, संस्कार खै ?

नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा देशव्यापी रूपमा राजनीतिक