गाउँबेंसीमा एक आर्कासंग दुःख सुखका कुरा साट्दै बाटोघाटोमा दिदि बहिनीरुको लस्कर, चेलीबेटीका रोदन, क्रोदन बोकेका तिजका गीत, मनमा उल्लास बोकेर चेलीबेटी लिन हिँडेका माइती, घरघरमा पाक्ने स्वादिष्ट लट्टे, खीर, तामाको टुसाहरूकाे मिठाे तरकारी र काँक्रा साँधेकाे अचार अनि रातभरि दिदि बहिनीसंगै रमाउदै, नाचगान गर्दै खाइने दर, भोलिपल्ट निराहार व्रत बसी गरिने शिवजीको पूजा, हाम्रो तीजको मौलिकता हो । हिन्दु नारिहरुको सर्वाधिक आस्थाको यो पर्व अहिले केही सम्भ्रान्त र मध्यमवर्गीय महिलाले आफ्नो आर्थिक हैसियत प्रदर्शन गर्ने भड्किलोपनका कारण तीज अलोकप्रिय साथै आलोच्य बनिरहेको पाउन सकिन्छ । यसै अवस्थामा एउटा प्रसंग जोड्ने मन लाग्यो ।
विश्व माहामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड १९) का कारणले धेरैले ज्यान गुमाउनु परेको छ । साथै देशका विभिन्न ठाउँहरुमा प्राकृतिक प्रकोप बाढि, पहिरोले ठुलो जनधनको क्षेति भएको छ । यस पिंडादायि अवस्थामा हरेक मृत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली साथै सोकाकुल परिवार प्रति ईश्वरले धैर्य धारण गर्ने शाहस दिउन कामना गर्द छु । कोभिड १९ का कारणले नै यो वर्षका विभिन्न चाँड पर्वहरु यत्तिकै औपचारिकता निभाउने काम मात्र भएको छ।
तीज सामाजिक तथा सांस्कृतिक दुवै दृष्टिले महत्त्वपूर्ण पर्व हो। मौलिक संस्कृतिलाई विकृति बनाउने कथित आधुनिकता, संगै तीजसम्बन्धि धार्मिक मान्यताको अपव्याख्या अनि सांस्कृतिक विविधता नष्ट पार्दै एकल संस्कृति स्थापना गर्न हरदम लागिपरेको विश्वव्यापी अदृश्य शक्तिका कारण हाम्रा सांस्कृतिक पर्वहरू वितृष्णाको विषय बन्दै जानु सोचनिय विषय बन्दै गएकाे छ। किनभने, जबसम्म संस्कृति जीवित रहन्छ तवसम्म राष्ट्रको पहिचान पनि रहन्छ।
तीज सामाजिक तथा सांस्कृतिक दुवै दृष्टिले महत्त्वपूर्ण पर्व हो। पारिवारिक सद्भाव र प्रेमको यो पर्वले चेली र माइतीबीचको प्रगाड प्रेमको झल्को त दिन्छ नै, साथमा पतिपत्नीबीचको प्रेम, त्याग र समर्पणको प्रतिविम्बन पनि गरेको कुरा नकार्न सकिदैन्। सम्पन्न वर्ग र सहरी क्षेत्रलाई दाँजेर हेर्ने हो भने हाम्रो भौगोलिक, सामाजिक र आर्थिक परिवेश बाट पछाडी परेका महिला अझै पनि मीठो खान र राम्रो लाउन अनि आराम र मनोरञ्जनका लागि चाडपर्व नै कुर्नुपर्ने अवस्थाबाट मुक्त हुन सकेको छैनन् । तीजमा आफ्नो गच्छेअनुसार सिँगारिएर माइत जानु, दिदीबहिनी–साथीसंगीहरूसँग बसेर दुःख सुखका कुरा गर्नु, केही दिन भए पनि घरको बिभिन्न दुख कष्ट बाट मुक्त भएर स्वतन्त्रताको प्रत्यभति गर्नु, माइतीले पकाएर दिएको दर खाएर रमाइलो गरी रात बिताएपछि मनोविकारबाट मुक्त हुँदै व्रत बस्नु, अनि देवालयहरूको परिक्रमा गर्दै आफ्नो परिवारको कल्याणको कामनाका साथ भगवान् शिवको पूजा–आजा गर्नु चेलिबेटिको लागि वर्ष दिनदेखिको पर्खाइको विषय हुन्छ ।
यसलाई एउटा वैज्ञानिक दृष्टिकोण्बाट हेर्ने हो भने, अधिकांश विपन्न वर्गहरू वर्ष दिनसम्म मीठो, मसिनो र पोसिलो खान सक्नेअवस्थामा हुँदैनन् । त्यसैले वर्ष दिनमा आउने चाडपर्वमा पोसिला परिकार खाएर शरीर स्वस्थ राख्नुपर्ने हुन्छ ।
त्यसैले उनिहरुको लागि यो पर्व मात्र नभएर शरिर दन्दुरिस्तिको उपर्युक्त समय हुन्छ । उहिलेको कुरा गर्ने हो भने त परिवारमा महिला नै दोस्रो दर्जामा रहेको अवस्थामा बुहारीहरूको स्थानको सहजै आकलन गर्न सकिन्छ। सानैमा बिहे गरेर टाढा–टाढा पुग्नु, माइतीसँग सम्पर्कको कुनै माध्यम नहुनु, आफ्ना पिर, व्यथा पोख्ने माध्यम नहुनु, नयाँ लुगा लगाउन चाडपर्व नै आउनुपर्ने आदि परिवेशबाट तिनै छोरीबुहारीका हितमा, तिनै विपन्न महिलाका पक्षमा तीजजस्तो पर्वको सुभारम्भ गरिएको हुन सक्ने आँकलन गर्न सकिन्छ । हाम्रो समाजको पितृसत्तात्मक सामाजिक संरचना र त्यसबाट निर्मित सांस्कृतिक मूल्यअनुरूप महिलाले मीठो–चोखो खान, राम्रो लाउन, माइत जाने, मनोरञ्जन गर्ने छुट पाउनका लागि पितृसत्तात्मक मूल्यमान्यतालाई सहजरूपमा स्वीकार नगरी नहुँने हुन्थ्यो । त्यसैले उनीहरूले पतिको दीघार्युका लागि भन्दै निराहार व्रत बस्नुपर्ने प्रावधान जस्तै पनि बनेको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ।
अर्कोतिर हाम्रो समाजमा पुरुषहरू घरबाहिर आयआर्जनका कार्यमा लाग्ने अनि घरभित्रको तथा परिवारको दायित्व महिलामा हुने हुँदा पनि व्रत–अनुष्ठानद्वारा पति तथा परिवारको कल्याणको कामना गर्ने दायित्व पनि महिलामा निहित हुन पुग्यो।
यस कुराले अहिले पनि निरन्तरता पाइरहेकै छ । अहिलेका महिला घरभित्र सीमित नरहेर विभिन्न कार्यक्षेत्रमा संलग्न देखिन्छन् । आआफ्ना मौलिक परम्परा तथा चालचलनलाई जीवन्त बनाइराख्ने थप दायित्वसमेत उनीहरूले नै पूरा गर्दै आएको देख्न सकिन्छ । सामन्ती युगदेखि पुरुषसत्ताले निर्माण गरेको नारीद्वेषी संस्कृतिको पृष्ठपोषण गर्नेहरूले गर्ने गरेको गलत व्याख्याका आधारमा हिन्दु परम्परालाई दासत्वको प्रतीक मान्ने एकातिर छन्, भने अर्कोतिर त्यही दासत्वलाई आत्मसम्मान ठान्दै जबर्जस्ती पतिको पाउ तानेर पखाल्दै पानी पिएर आफुलाई पतिभक्त आदर्श नारी घोषित गर्नेहरू जता ततै भेट्न सकिन्छ।
यस्तै कुराहरुले आज हाम्रो संस्कृति लोपोन्मुख बन्दै छ। धनिहरूका लागि त मीठोमसिनो खान र रमाइलो गर्नका लागि चाडपर्व कुर्नु पर्दैन । तर गरिवका लागि बर्ष दिनमा आउने चाँड पर्वहरु निकै महत्वका छन् ।
रातो रङ सौभाग्यको प्रतीक त हो नै, यसलाई शक्तिको प्रतीकका रूपमा पनि लिइन्छ । तीजमा विशेषगरी विवाहित महिलाले रातो पहिरन तथा चुरापोतेमा सजिनु हाम्रो मौलिक परम्परा हो । तर अचेल यसलाई महँगा कपडा र अनेक गरगहना प्रदर्शनको प्रतिस्पर्धा गर्ने माध्यम बनाइँदै छ, जसका कारण नहुनेले ऋण खोजेर या अर्काको मागेर भए पनि लगाउने प्रचलन बढ्दो छ । बुहारीका माइतीबाट घरपक्षका सबैलाई दरका रूपमा कपडा, मिष्टान्न लैजानैपर्ने संस्कृति पनि तीजका नाममा विकृति नै बनिरहेको जल्दोबल्दो कुरा हो । यसले एक पक्षको खुसीका लागि अर्को पक्षले पीडा भोग्नुपर्ने बाध्यतात्मक अवस्थालाई देखाउँछ ।
यसैगरी तीजको अघिल्लो रात व्रत बस्ने महिलाले दर खाने प्रचलन पनि विकृत हुँदै गएर महिना दिन अघिदेखि पालै पालाे गरी र पैसा उठाई दर खाने परम्परामा परिणत भइसकेको छ ।
दर खाने यस्तो परम्परा सम्भ्रान्त वर्गका लागि मनोरञ्जन र रेस्टुरा तथा पार्टीप्यालेसका लागि आर्थिक उपार्जनका दृष्टिले महत्त्वपूर्ण त होला नै, तर यसले तीजको मौलिकता भने घटाउँदै गएको छ । गाउँघर, चौतारी मठमन्दिर आदिमा घन्कने तीजका मौलिक गीतहरूको आफ्नै महत्त्व हुनुका साथै यसले कसैलाई कुनै वाधा पुर्याएको हुँदैन् ।
हिजोआज तीजको एल्बम निकालेर वर्षभरिको आम्दानी गर्ने व्यवसायी कलाकारका उत्तेजक तीज गीतले मौलिक संस्कृतिमा विकृति भित्रायाइरहेका छन् । सहरको साँघुरो परिवेशमा एउटा घरमा महिनौंदेखि घन्किने यस्ता गीतले अर्को घरमा वाधा पुर्याइरहेका हुन्छन्। वल्लो कोठामा बज्ने गीतले पल्लो कोठाको विद्यार्थीको पढाइमा वाधा पुर्याइरहेको हुन्छ । यसबाट पनि तीजको गरिमा घट्दै गएको देखिन्छ । त्यसैले संस्कृतिलाई विकृति बनाउने यस्ता पक्ष प्रति सचेत भएर तीजजस्तो मौलिक पहिचान बोकेको पर्वलाई देखावटी र आर्थिक हैसियत प्रदर्शनको माध्यम नबनाई पारिवारिक सद्भाव तथा आत्मीयताको पर्वका रूपमा निरन्तरता दिइनु पर्छ ।
पवित्र आशयका साथ आरम्भ भएको तीजजस्तो पर्वलाई अल्पज्ञान तथा आधुनिकताको पूर्वाग्रही चस्मा लगाएर व्याख्या गर्दै यस माथि प्रहार गर्नुभन्दा यसको गहिराइसम्म पुगेर विश्वव्यापीकरणले स्थापित गर्न चाहेको एकल संस्कृतिबाट हाम्रो सांस्कृतिक विविधतालाई जोगाउन पर्ने देखिन्छ। पवित्र आशयका साथ आरम्भ भएको तीजजस्तो पर्वलाई अल्पज्ञान तथा आधुनिकताको पूर्वाग्रही चस्मा लगाएर व्याख्या गर्दै यस माथि प्रहार गर्नुभन्दा यसको गहिराइसम्म पुगेर विश्वव्यापीकरणले स्थापित गर्न चाहेको एकल संस्कृतिबाट हाम्रो सांस्कृतिक विविधतालाई जोगाउन पर्ने देखिन्छ। र मानिसहरुले अरुको देखासिकी नगरेर कोरानाको कहरले गर्दा तिज घर भित्र नै आफ्नो परिवारमा रमाइलो गर्न आवश्यक देखिन्छ। तिज भन्दा पनि धेरै नै महत्वपूर्ण कुरा कोरोना महामारी बाट सम्मपूर्ण मामिसहरु सुरक्षित भएर बस्नु हो। त्यसैले सबैलाई कोरोना बाट सुरक्षित भएर बस्न अनुरोध गर्दै २०७७ सालको तिजको सम्पूर्ण दिदि बिहिनीहरूमा शुभकामना दिन चाहन्छु ।