जसरी लखतरान थाकेर
सुतेको गोरु
बिहानीमा बिउँझदा
आङ तनक्क तानि
दिक्दारीको प्रमाण पेश गर्छ।
अनि भोक मेटाउने
कुटीपिसि गर्न तयार हुन्छ।
ठिक त्यसै गरी
जिम्मेवारीको कर्कश किरण
गरिबीको दलानमा ठोकिएर रसाउदा
बेरोजगार खोपोमा जम्मा भएका
केहि थोपा आवश्यकता भुर्र उडि
मेरो गालामा थपक्क बस्छन।
म गहिरो निद्रा भित्रको
सुन्दर सपनामा
हराएको देखेर
बिउझाउन बाया हात
बाध्य भई चडकन हान्छ।
यो जिउँ केही बेर
तमतमाउदै जुरमुराउछ।
अनि गाँउ छोडदा
गोठेकी आमाले
मिर्मिरे मै गई
पैसाको पोका छोप्नु
ढिला गरे अरुको
हातमा पर्ला
भन्दै आँसु लुकाउन
पिठ्यु फर्केको कुरा
झल्यास्स सम्झना आउछ॥
सोसामा गहिरो श्वास भरि
जोसले जुरुक्क उठि
रातभरि अभावको हुरी चल्दा
रुपैयाँको रातो रुख बाट छुटेका
रङ्गीचङ्गी रहर
किन्न पुग्ने पैसा टिप्न
म पनि सदा झै सबेरै दगुर्छु॥
पि.एस.क्षेत्री
दशरथ रंगशाला र त्यसले उठाएका प्रश्नहरु
कमल सरोवर । वि.स. २०६८ साउन २ गते