कक्षा १२ का भाइ बहिनीले प्रेम दिवसको उपलक्ष्यमा एउटा औपचारिक कार्यक्रम राखेका रहेछन ।उक्त कार्यक्रममा मलाइ आमन्त्रण गरिएको थियो।कार्यक्रम झकिझकाउ नै थियो त्यसमा पनि प्रेम दिवस प्रेमिल जोडिको ठाटबाट त झन हेरि सक्नु थिएन । झण्डै आठ दशक बिताउनु भएका एक जना हजुर बुवा ले शेर गर्नु भएको उहाँको अविस्मरणीय प्रेम कथा बाट प्रभावित भए।सञ्चालक ले उहाँ लाइ सम्बोधन गरी लामो जीवन जीउने क्रममा केहि तितामिठा पलहरु सुनाइ दिनोस भनि जब मन्चमा बोलाए।उहाँले आफ्नो जीवनमा घटेको एउटा मिठो कथा सुनाउनु भयो।पश्चिमेली लवजमा उहाको कथा सुन्दा निकै भावुक पनि भए। सम्झे जति लेखेको छु पढ्नोस है।
कार्यक्रमका सभापति, प्रमुख अथिति, अन्य अतिथी सबैलाई नमस्कार मलाई यस प्रेम दिवस कार्यक्रम को जेष्ट नागरिक अतिथि बनायकोमा बिधार्थी नानी बाबु लाइ धन्यबाद
म शर्वन कुमार ,तिलाबेशी गाउ पंच्यायत बडा नं. ०५ मा बस्छु। गफि, कुरउटे, तिर्तो (सबैलाइ मख्ख पार्न सक्ने)यस्ता उपनाम ले पनि पंच्यायत भरि चर्चीत थिए भने कोहि कोहि ले ठुलाघरे माइलो, हँसमुखि माइलो भनेर पनि चिन्दथे।जसले जसरी जे नाम राखुन मेरो उत्तर मुस्कान नै हुन्थ्यो।तर म चाहि आफुलाइ सर्वन कुमार भन्न रुचाउछु।यो त भयो साइते बुडाको काइते परिचय, खासमा आज मेरो जवानीको एउटा कथा पो ‘सुनाम्न स्टेज चडेको चिनचानमै चार मिनेट चट’ भइगो ।

       उ बेला कलकलाउँदो जवानी हिस्सी परेको हेन्सम नै थिए म सबैले यसै भन्थे।लगभक बिस एक्कइस बर्षको हुनोहौ साथिसंगिको नाइके म, दाइ कुजो भयो पालो ले खाइके पनि भए।दौतरी मिलिकन दाउन्ने गाउमा दार ल्याउन गयौ।आफु नाइक, नाक राख्न पनि नब्वे किलाको भराइनु काँध चढाइ लमकलमक हिन्दै थिए।गोरि उज्यालि चम्चमाउनि बडो सुन्दर, ठाँटबाँट पनि मिलेको, एक नजरमै मनचोर्ने नसालु नयन, शान्त भाव, गम्विर मुद्रामा आउदै गरेकि शिलादेवी संग झ्याप्प आँखा जुधे म त 'हक्क न पक्क ठुँडो राखेर खुँडो खेन्ने पट्ठो तेसई तेसई ठुटो ठुणिय जसो भए।शिलादेवी छक्क परेर केहि बेर हेरि रहिन।आफुभन्दा झण्डै दुई गुणा गरुङ्गो काठ काधमा राखेको जोधा जवान लल्याकलुलुक परेको देखेर "काँ का हुन बटुवा बाटो छोड त ढिला भयो"भनिन! त्यो माधुर्य मिसिएको मिठास शिलादेवीको स्वरले म लट्ठ भइहाले खै के भुत चढ्यो काध माथिको भराइनु भुलि उनी जाने बाटो तिर दुबै हातले इसारा गरी लौ न परी सवारी होस भनी बाटो के छोडेको थिए।काँध छोडी भराइनु पो भुइमा झरेछ।खुट्टाको मासु छिली त हाल्यो धन्न हड्डी भाचि दुई भएन।रगत का छिर्काले बाटो रुजिगो अनि त गाबुको दहि बिराले खाइ सुरु भईहाल्यो फिल्मी कहानी घाउ पनि निहुँ भयो।म दुखाइ को पिडाले थुचुक्क बसि हक्केला ले घाउ छोप्दै थिए। हत्तपत्त शिलादेवी ले बाटो को कान्ला बाट झारपात बटुली हक्केलामा माडमुड गरी लेढो पारेर घाउमा हालिन।पटुकिको छेउ च्यातेर घाउमा पट्टि बाधिन।ति कमल हातको स्पर्शले घाउको दुखाइ र ओषती को पोलाइ महसुस नै भएन।चिन्नु न जान्नु घचेटि माग्नु भन्दै मुख फर्काउने हाम्रो समाज अनि दयामाया र सहृदय भएकि शिलादेवी लाई एकोहोर हेरिरहे।तालिम प्राप्त परिचारिका ले झै घाउको मलम पट्टि गरेर उनी बोलिन "घाउ गहिरो छ एक हप्ता पानी देखि जोगाउनु अनि आफुलाइ भुली यो अर्को दुनियाँ मा हराउने रोग चै जन्मजात नै हो? उनको यो अप्रत्याशित प्रश्न ले मेरो मनमा त पहिरो नै गयो।जवाफ के दिनु के म हडबडाउदै होइन तिमीलाई दे...खे...र...वाक्य नै फुटेन के भको कुन्नी आफैदेखी सरम लाग्यो।नजर जुधाइ रहन सकिन टाउको घुमाए छेउबाट एक जोडि ढुक्कर उडेर गयो।मलाई नै जिस्काए जस्तो लाग्यो म त रातोपिरो भएछु।शिलादेवीले मस्किदै भनिन "मलाई देखेर घाउ पनि लाग्यो रोग पनि लागेछ है ।हेर हेर मर्द भएर दर्द सहनु पर्ने मान्छे ,बच्चा ले कच्चा उमेरमा गुच्दा हराझै मुख बनाको, खै साइड लाग्नु म जानु पऱ्यो।बसिरहे भने कोहि कोहि लाई के के हुने हो"।साघुरो बाटो म थोरै छेउ लागे दुई कदम हिडेर रोकिन ।केहि सम्झे जस्तो गरि म तिर फर्केर भनिन "चोटाहा गोडा गरुङ्गो भारी होस गर्नु है प्रदेशी तन बचे मन जोड्न मिल्छ।"उनि फटाफट अगाडी बढिन एकछिनमा अलप भइन।थु्क्क म नाम सोध्न नी औसान पाएन।भराइनो काँधमा राखे शरिरमा शक्ति सञ्चित भए जस्तो लाग्यो।संगिहरु धेरै टाढा पुगिसकेछन।म पनि फटाफटा हिड्न थाल्य।

 शिलादेवी लाइ देखेपछि मेरो मना केहि चञ्चलता आए जस्तो, केहि पाए जस्तो, केहि गुमाए जस्तो, खै कस्तो कस्तो अन्तर मनको कुनामा मिठास पुर्ण माधकताले लट्ठिए जस्तो महसुस भइरहेको थियो।यस्तैमा हप्तादिन बित्यो घाउ केहि विषेक भएजस्तो लाग्यो खोलेर हेरे पुर्ण सन्चो भइसके छ ।त्यसै भनेका होइन रहेछन नेपाल आमा दवाई को भण्डार हुन भनेर।त्यो बेला गाउघरमा मेला लगाउने हाट बजार गर्ने चलन थियो।अर्को महिना दाउन्ने गाउमा मेला लाग्दैछ।भन्ने हल्ला हावा झै फैलिदै म सम्म आइपुग्यो।के खोज्छस काना आँखा भनेझै मलाई त भोका लाइ घ्युँ भात भइहाल्यो।अनि,गज्जक परेर म मेलाको पुर्व तयारीमा जुटे, खर्चपर्च जोहो गर्नु, लत्ताकपडा सिलाउनु, सवारि मिलाउनु यस्तै यस्तै देश अनुसारको भेष जात अनुसार को औकात देखाउनै पऱ्यो।उ बेला त्यस्तै चलन थियो।आजभोलि पो सबै ले अक्षर चिने,ज्ञान विज्ञान पढे।ढुङ्गे युग देखि मंगल ग्रहको यात्रा जान्दछन।समुन्द्रको किरा देखि हिमालका अर्ना सम्म खान्छन।बाबु भन्दा छोरा जान्ने, खुकुरि भन्दा कर्दा लाग्ने जमना आयो।जन्मेको जात फेरिखाने भात हटायौ भन्छन।वर्ग विभेद छैन भन्छन।गरिबका दिन फिरे भन्छन।सर्वहारालाई माथि उठायौ भन्छन।खै जसो छियो उसै मेघ आयो पुषै भन्थे सुकिला मुकिला टाठाबाठ सत्तामा छन।ऋणमा देश चुर्लुम्म डुबाइसके भ्रष्टचारका काण्ड छताछुल्ल देखिन्छन।गरिब गुरुवा को हालत उस्तै छ।युवा सबै विदेशी मा छन।दाम छ भने काम हुन्छ नत्र त मुसाले साथ छोड्छ भन्दै सबै पैसाको पछाडि लाग्छन।गाउमा खेतबारी बाझा छन काम गर्ने मान्छे को के कुरा अचेल त मलामी नि पाइदैन।खैर म बुढा लाई के?तपाईं हरुको जमना हो बाबै कालान्तर सम्म पनि सन्तति ले "हामि नेपाली नेपाल हाम्रो देश"भन्न पाउछन कि पाउदैनन भन्ने डर मात्तै लाग्छ।"ओ शर्वन बाजे देश जहाँ छ त्यहि हुन्छ कहि उडेर जादैन।बरु तपाईको अधुरो प्रेम कथा सुनाउनु "अभद्र तरिकाले दर्शक दिर्गाबाट एउटा बिधार्थी कराए।हुन्छ बाबै हुन्छ।जसले देशको चिन्ता लिनु पर्ने हो उसैले कानमा तेल हालेर सुतेपछि।मलाई के को टसटस,दिन ढलेर डाणा माथि आज होकि भोली ।लौ है  बावै अनिकालमा बिउँ जोगाउनु झगडा जीउ जोगाउनु भन्छन।चेत खुलोस सदबुद्धि आवस नेपालको नाम पृथ्मी भरी फैलि जावस।
     युग जानु पो बार लाग्दो हो।महिना दिन भन्नु कति नै हुन्छ।मेला जाने दिन आइत गो।उ वेला माल सामान जतासुकै नपाइने ।समान पन ल्याउनु मेला पन हेर्नु भनेर बुवाले छ बिस दाम र आफ्नो सवारी दिनुभयो।उ वेला सवारी भन्नु घोडा भेडा च्याङ्ग्रा र खच्चर त हुन।रुपया पाउनै गाह्रो सरसमान भने खुब सस्तो हुने।वुबा पनि सात गाँउका जान्ने सुन्ने पञ्च प्रधान गाँउघरमा बुबाको ठुलो नाम थियो।न्यास निसाब हुदा छिमेकी गाँउबाट पनि बुलावा आउथ्यो।यस्तै काम पर्दा आउजाउ गर्न बुबालाइ सवारी घोडा नभई नहुने म अठार पुगेपछि काकाले मलाई पनि घोडसवार तालिम दिनुभयो।त्यसपछि त घोडदौड खेलमा बिरसिक्का भए मलाई जित्न जसाकसाले नआटे भो।आफुलाई मपाईं भनि हुर्मत के लिनु आलु खाई पेडाको धाक के दिनु भन्छन।अट्टो खेत चट्टो माटो दो बाउसि ले खन्ने हो,प्वाँख पुच्छर नजोडि सत्य कुरा भन्ने हो।तिलाबेशी गाउ मुलपानी देखि पिपल घारि सम्मका एकै छामलका दौतरि बेशीको चौतारोमा भेटेर संगै मेला जाने निधो गरेका थियौ।म चौतारोमा पुग्दा एक हुल साथि भाइ जम्मा भइसकेका रहेछन।दार लिन जादा मन छोडेर आथे यसपाली त भाउजु भगाउनु पर्छ है साथि हो होइन भने हट्टाकट्टा शर्वन दाइको जीउ सुकेर लौरो हुन्छ।चाकपाडाको हर्केले मलाई छिर्के हान्दा केदाहरु गललल हाँसे।खोज खबर केहि नगरि मन लुटाका छन भरे चल्ला कि माउ परिन भने दाइ त जवानी मै जोगी हुने भए।बाङ्गे घरको भद्रले म तिर यो असुर अस्त्र फाल्दा केटाहरुको हाँसो त चौतारो भरी छरपस्ट भयो।हाँस्ने र नाच्ने भनेकै उमेरमा हो हाँस केटा हाँस तर एउटा कुरा न बिर्सी यो शर्वन ले सित्तिमित्ति माया लाउदैन दुई तर्फि माया बस्यो भने कोहि संग डराउदैन।मेरो  यो फिल्मी डाईलकले केटाहरु हाँस्न छोडि शर्वन दाइ हाई हाई भन्दै घोडाका कडेली खिच्न थाले।यसै त ठुलो नाख केटाहरुले हर्कबढाइँ गर्दा बढेर केरा जत्रो भयो।लु है संगिहो दाउन्ने गाँउ तिर प्रस्थान गरौ म गजक्क परेर अगाडि बढे।हामि छ जना घोडचढी हरु अघि लाग्यौ।अरु मेला जाने मानिसको लस्कर हाम्रो पछि लाग्यो।

दिउसोको करिब एक बजे तिर मेलामा पुग्यौ।मेलामा लस्करै दुई तीरबाट दोकान लगाईएका थिए।दोकानमा थरिथरिका सरजाम राखिएका थिए।मेलाको एकछेउ तिर खाना नास्ताका विभिन्न परिकारले सजियका होटलहरु थिए।झट्ट हेर्दा दाउन्ने गाँउ श्रृगारियको दुलही जस्तो देखिन्थ्यो।हामि छ जना घोडचढी घोडदौडमा भागलिन पनि अलि छिटो गएका थियौ।मेरा आँखा चाहि अपरिचित मान्छेको परिचित मुहार खोजिरहेका थिए।चारै तिर हेरिसके मेरा आखाले उनको मनमोहक मुहार देख्दै देखेनन।म खिन्न भए।उनि मेलामा आएकि छैनन कि भन्ने मनको शंकाले आसको लंका जल्छकि जस्तो भो मेलाको झकिझकाउ सजावट पनि मेरा लागि दुखेका आँखालाइ घाम पो भयो।उनि नआएको भएपनि म आएको निस्ता उनि सम्म पुगोस भन्ने सोचेर घोडादौडमा भाग लिने निधो गरे।दौतरी बिचमा चुच्चो नाख उच्चो पार्न घोडदौड जितेपनि यस्तो ठुलो खालको प्रतिस्पर्धामा भाग लिएको थिएन।कामै न काजको चैतको झरि, चोक्टा खान गएकि बुडि झोलमा डुबेर मरि हुन्छ कि भनेर मनमनै डर पनि लागिरहेको थियो।आफु नमरि स्वर्ग देखिन्न जसरि नि जित केटा हार्नेहरुको कथा लेखिन्न।कतै अन्तर मनबाट आवाज आइरहेको थियो।मनभित्र हार जित को घम्साघम्सी युद्ध भइरहेकै थियो दौड सुरु भयो।अरु घोडा झै मेरो घोडा पनि समानान्तर गतिमा दुगुरी रहेको थियो।कतैपर मान्छेको हुलमा त्यहि अनुहार चर्को स्वरमा हुटिङ् गर्दै थियो।विरक्त भएको मेरो मनमा खुसिको रक्तसञ्चार भयो।सोसाले स्वास पाए पछि जुरमुराएको शरिर जसरी जुरमुराए म भित्र खुसिका कोसिकाहरु तर गडगडाउदै चिसो चट्याङ झरेझै अहङ्कार आएर मेरो अगाडि ठिङ्ग उभियो र भन्यो अब त तैले जित्नै पर्छ नत्र उनलाइ तैले गुमाउने छस।अरु प्रतिस्पर्धी सबै म भन्दा अगाडि देखे मलाइ रिगाटा लाग्ला जस्तै भो मुटु ढुकढुक हुन लाग्यो चारैतिर अन्धकार देख्न थाले।हारजित भन्नु त एउटै सिक्काका दुई पाटा हुन।यदि जित्नेहरुले मात्रै माया पाउने भए हार्नेहरु सबै घृणा को अग्निमा आत्महत्या गरिसक्थे।जित्नको लागि कोसिस गर्नु पर्छ हार्दैमा हतोत्साहित हुनु हुदैन।कतै मनको कुनाबाट मसिनो दिव्य आवाज आयो जीउ तमतमायो।खै के देवी चढ्यो मेरो घोडाले गतिलिन थाल्यो।चौतर्फि हुटिङ्गको गडगडाहट, कोलाहल ,गुन्जायमान आवाज, जयजयकार ध्वनी।अन्ततः घोडदौड मैले जीते।बिजेतालाइ फुलपाति,अविर छर्ने हरुको हुलमा उनि पनि थिइन।असङख्य आवाजको कोलाहल मा पनि जीतको अतभुत सन्नाटा ,मिठास पूर्ण शान्ति र अलौकिक आनन्दको महशुष गरिरहेको थिए।जीवनको यो एउटा स्वर्णिम पल उनको उपस्थितिले अझै सुगन्धित भइरहेको थियो।पछाडि फर्केर हेरे दौतरि हरु साथिको जीतमा मख्ख परेर छक्क पार्ने गरि यो जीत कस्को तिलाबेशीको भन्दै नारा घन्काउदै थिए।मेरो गर्वले छाति ढक्क फुल्यो।

    फुल र अबिरले रंगिएको मेरो जीउ, सेतो कमल झै स्वेत बस्त्रमा सजिएकि उनि म भन्दा आकर्षक देखिन्थिन।पुर्ने को जुन र नम्वरि सुनमा कसि लाउनु पर्दैन भनेझै उनि बेदाग थिइन पवित्र  सपाड जस्तै, उनि निश्चल थिइन निर्मल आकाश जस्तै, उनि सुशिल थिइन सुन्दर धर्ती जस्तै।मैले उनलाई हरकोण बाट परिपुर्ण देखे।अनि हिम्मत गरेर उनको नजिक गए।तिम्रो नाम ? शिलादेवी खत्री उनले अकमकाएर जवाफ दिइन।म शर्वन कुमार क्षेत्री तिलाबेशी गाँऊ।पञ्च प्रधान हरि क्षेत्रीको छोरा त्यहि क्या दार ...घाउ...ओखति... रोग जन्मजात उनले मलाई रोक्दै भनिन म तपाईं लाइ पहिले देखि नै चिन्छु।तपाईले पो हामिलाइ भर्खर चिन्नु भो।पछिल्लो वाक्यमा यसरि लेग्रो तानेर भनिनकी उनलाइ मैले नचिन्नु भित्र म प्रति उनको निकै गुनासो छ।उनको यो हाउभाउ ले म उनि प्रति झनै पुलकित भए।म पछाडि पर्केर साथिहरु लाइ हेरे मन मिले आटने हो आजै डाडा काट्ने हो भन्दै मलाई अझै उत्साहीत बनाईरहेका थिए।वा रे कहाँ खस्यो फुल मेरै पोल्टामा मैले तिमीलाइ चिन्न ढिला गरे हो?मेरो सवाल थियो संसारमा कसैसंग छुटिनु,भेटिनु,पाउनु गुमाउनु ,हास्नु रुनु सबै ईश्वरले तय गर्नुहुन्छ।हाम्रो भेट यसरि हुनु इश्वरकै मर्जी हो उनको जवाफ थियो।मातापितामा स्रद्धा ईश्वरमा आस्था खोट लाउने ठाउ छैन खुला छ रास्ता जस्तो लाग्यो लु जे पर्ला त्यहि टर्ला सोचेर शिलादेवी यो जीवनको सहयात्री तिमिलाई बनाउन चाहान्छु।के तिमी म संग घरजम गर्छौ?हुन त हुन्थ्यो तर यो समाज .........उनि अकमाइन छोड समाजका कुरा जीवन तिमी र मैले जीउने हो समाज ?समाज त बुद्धका पनि सय खोट निकाल्छ।अनि सोझो हुदा बाङ्गो ठिक ,बाङ्गो हुदा सोझो ठिक भन्छ।आइते समाजका काइते कुराले लगन को साइत नआइ धेरैको जीवन माइत मै बितेको छ।हुनत हो तर हजुरको घरमा ......उनि केहि भन्दै थिइन मैले बिचैमा रोके मलाई बस तिम्रो मञ्जुरी भए पुग्यो।बाकि म यो समाज संग भिड्न तयार छु।परिवर्तनका लागि कसैले त कदम चाल्नै पर्छ।मेरो विद्रोही स्वभावले उनलाइ कस्तो प्रभाव पऱ्यो कुन्नी कुनै प्रतिक्रिया दिइनन या दिन उचित ठानिनन बस एकोहोरो मलाई हेरिरहिन।मैले नि उनिलाई नै हेरिरहेको थिए।भद्रले भावुक सन्नाटा तोड्दै बोल्यो।हेराहेरको खेल मात्र खेल्ने होकि घरतिरको बाटो नाप्ने हो।मैले शिलादेबीको आँखाको भाव पढे।उनका ति लोलाएका आँखामा स्वीकृतिको स्पष्ट तस्वीर देखे।अनि त कहानी मा काले कृष्णकि राधा पियारी भइ त गो! खै के बुझ्यो हेर्के ले कर्के नजर घुमाउदै मुखको सटर खोलेर भन्यो रात रहे अगरात पलाउछ ढिला नगरि रातको दोर्छो प्रहर सम्म मेला हेर्ने त्यसपछि कसैले  सुइको नपाउने गरि भाउजु भगाउने कि कसो केटा हो?केटाहरुले नि हुन्छको ईसारा गरे म शिलादेबी को विजार बुझन  उनि तिर फर्के।खुट्टाको बुढी औलाले भुइँ कोतार्दै लजालु भावमा उनिले नि हुन्छ भनेझै लाग्यो।कुरा काट्नु बईना साट्नु, सदा साथ पक्का बात, लगन जुऱ्यो बिहे पर्छो मेरा लागि सबै एकै पटक भयो।

   तिलाबेशीका खाईलाग्दा लक्का जवान त्यसमा पनि घोडदौड जीतेको नाइके साथमा मेलामा सबैले हाम्रै चियोचर्चो गरिरहेझै देखिन्थ्यो।तरुनि हरु मस्किमस्कि कोप्टो परेर हामिलाइ चियाइ रहेका हुन्थे।केटाहरु पनि के कम त्यो नजरको तिरले घायल भो मुटु भन्दै सायरि फ्लाक्न सुरु गरिहाल्थे।मेलामा रमिते हरु भन्दा पनि माल समान किन्ने र बेच्ने हरुको बाक्लो भीडभाड थियो।हामिले चाहिने सरसमान किनेर ठिकठाक भयौ।केटाकेटी देखि बुडाबुडि सम्म सबै मेलामा मक्ख थिए।म भने लय भुलेको घडि जस्तो  त्यहि ठाउमा अडकिएको थिए। रात्रिको दोस्रो प्रहरको प्रतिक्षा निकै लामो ,निरस र भयानक थियो।मानौ, जेठ बैसाखको याममा बर्षा हुनु पुर्व बादलले छपक्क छोपिएको आकास,मेघ गर्जनको घनघोर गडगडाहट ,पात पतिङरका टुक्रा चिल्लीबिल्ली पारिरहेको हावाहुरि चलिरहदा पनि गर्मीले बफारा छुटिहेको जीउबाट पिटपिट पसिना आएझै।पर्खाइको यो पलले पनि मेरो मानसपटलमा पिटपिट पसिना आइरहेथे।बिर्खेले दादा हजुर टयाम त हुन आटो भाउजुको चियोचर्चो गरुम त भनेर सोध्यो।लु जा झट्ट खबर गर ।केटाहरु पनि तयार हो अब ठिटीहरुसंग धेर नमस्क जानुपर्छ।ल सबै जना उ त्यो कटुस को रुखमुनि आइजा भनेर मैलेघोडाको कडेली खिचे घोडाले पनि अगाडि को खुटा छ फिट माथि उचालेर खिलखिलायो।अनि दुगुर्न सुरु गर्यो।कटुसको रुख मुनि सबै जम्मा भयौ।बिर्खेले भाउजु पानी ट्याङ्कि छेउमा हातमा लुगाको पोको पारेर उभिएकी छन भन्ने खबर लिएर आयो।सुन केटा कसैसंग जाइलाग्ने होइन केटी खोस्न आए भने हार्नु हुदैन जीउज्यान लगायर पनि तिलाबेशी गाउमा शिलादेबी लाइ पुऱ्याउनु पर्छ।हुन्छ शर्वन दाई हामि छौ नि भन्दै केटाहरु निकै उत्साहित भए।त्यसपछि सुरु भयो नयाँ जीवनको यात्रा ।पानीट्याङ्कि को बाटो हुदै अगाडी बढ्यौ ।जुनको टहटह उज्यालोमा शिलादेबी र म बिचमा एउटै घोडमा सवार थियौ भने हाम्रो अगाडि बिर्खे र भद्रले घोडदौडाइ रहेका थिए।हाम्रो पछाडि हर्के, राज र शीवले घोडदौडाइ रहेका थिए।बाटोमा कतै नअल्मलिई हामि सरासरा तिलाबेशी गाउको चौतारोमा पुगेर थकाइ मेटायौ।बाटोमा हामिलाई कुनै पक्षद्धारा हमला भएन।हामि भागेको सुइको नपायर हो वा हामि संग भिड्ने दम नपुगेर हो।हामि सकुसल तिलाबेशी पुग्यौ।अब सुरु भयो बुबा को डर ,मन ढुकढुक हुदै थियो के गर्नु कसो गर्नु मेसो पाउन सकिरहेको थिएन।उज्यालो हुन लगभग दुई घडि हुदो हो ।म र शिलादेबी पुरानो घरमा लुकेर बस्यौ।बिर्खे हाम्रो सहयोगी भएर हामि संगै बस्यो।अरु साथिहरु गाउघरको चहलपहल बुझन हिडे।

झिसमिसे बिहानी भयो भालेको आवाज ले चिर निन्द्रामा सुतेको पुरै गाउलाइ बिउझाउदै थियो।शिलादेबीलाई हेरे उनी केहि डराए झै देखिन्थिन।म उनलाइ हेरेर मुस्कुराए।सायद उनलाई लाज लागेछ।टाउको निउराइन।मैले दाया हातले उनको चिउडो माथी उठाइ आँखामा हेरेर भने नडराउ शिला तिम्रो कुनै गल्ति छैन।बरु खुसि हौ।तिम्रा हरेक सुख दुखमा म सधै साथमा हुनेछु।यति भनिसकेपछि शिलाको मुहारमा पनि केहि चमक आयो।उता शिलाको माइतिमा उनि हरायको खबर चारैतिर छताछुल्ल भएछ।केहि मानिसहरुले तिलाबेशी गाउको प्रधानको छोराको साथ लागेर गएको भनिदिए छन।सबेरै उनका बुबा र काका खोज्दै हाम्रो घरमा आउनु भएछ।बुबालाइ पनि केहि थाहा नभएकाले यता आएका छैनन।त्यो कुलङ्गार आवस न मात्रै त्यसलाइ मैले जानेको छु भन्दै मलाइ गालि नि गन्नु भएछ।सबै तिर खोज्न लगाएछन।केटाहरुको मुखबाट कुरा चुहिएन भने हामिलाइ भेट्न मुस्किल थियो।शिलाका माइतिले पनि कि ठाउ ठेगान देखाउ होइन भने मान्छे देउ हामि लिएर जान्छौ भन्दै अड्डि कसेछन।उनिहरू संग बादबिबाद र घम्साघम्सी भएछ।राम्रो कुरा पो बार नाघेर बाहिर जादैन नराम्रो कुरा त जन्मिदै प्वाँख लिएर आउछ रे अनि उडने भैहाल्यो।हाम्रो चर्चा एक कान दुई कान मैदान हुदै तिलाबेशी गाउ पंञ्च्यात भरि हुरि बतास झै फैलिएछ।मानिसहरू तिखा तिखा आँखा र ठाडा ठाडा कान लगाउदै हाम्रो घरमा भेला हुन थालेछन।लौन के सुन्नु परेको शर्वन बाबुले त नाकै काटे छन नी गाउ नै गनाउने गरि कस्तीलाइ उठायर ल्याएछन भन्या , लौ है प्रधान बाबु यसो गरे त भोलि चलन बिग्रला।भन्दै गाउले हरु नाना थरि लान्छना लगाउदै धारे हात सराप्दै थिए।बुबालाइ बडो गाह्रो भएछ।स्वीकारौ चलन चलेको छैन फिर्ता गरौ बस्तुभाउ होईन मान्छे हो भोलि समाजले सानालाइ ऐन ठुला लाइ चैन भन्दै औला उठाउछ।के गरौ? कसो गरौ? भएछ।यस्तै खैलाबैलामा बिहानको दश बज्यो।अनतः न्याय निसाब गर्न कचहरि नै बस्ने र जनअदालतको फैसाला मान्ने कुरामा सबैजनाको सहमति भएछ।अनि त बलेको आगोमा घ्यु थपिने भो।तिलाबेशी गाउका गन्नेमान्ने देखि रमिते सम्म सबै जनअदालत उपस्थित भए।मेरा दौतरि मार्फत हामि लाइ बुलाहा भयो।हेर शिला जनअदालतले हाम्रो पक्षमा निसाव गऱ्यो भने त ठिकै भो होइन भने यो चलन बदल्नका लागि हामिले बिद्रोह गर्नुपर्छ।सरकार संग न्याय माग्नु पर्छ भनेर हिम्मत दिएको थिय।उनि सहमत नहुने कुरै भएन खासमा शिला र उनी जस्तै हरुको स्वतन्त्रताको लडाइ थियो।मेरा साथिहरु लगायत म र शिला कचहरीमा उपस्थित भयौ।जमिन भन्दा अलिक अग्लो पारेर बनाइएको मचानमा प्रधान पञ्च र ठालु भलादमी हरुको आसन थियो।मचानको देब्रे पट्टि अपराधी झै म र शिला लाई उभ्याइयो।चौर पुरै मान्छे हरुले भरिएको थियो ।अवस्था यस्तो देखिन्थ्यो यहाँ उपस्थित सम्पुर्ण आँखाहरु केवल हामिलाइ हेर्न आएका हुन।

     जनअदालत शुरु भयो, हाम्रो सात गाउमा बाल बिधुवाले अर्को कुनै परपुरुष संग विवाह वा लसपस नगरि मृत पतिको सतगतमा बस्नु पर्ने र कुनै पुरुष ले पनि बाल विधुवा संग सम्बन्ध राख्न बर्जीत गरिएको छ।पिता पुर्खा देखि चल्दै आएको चलन मिचेर शर्वन र बाल बिधुवा शिला ले भागेर विभाह बन्धनमा बाधिने गल्ति गरेका छन।आजको यो जनअदालत ले न्याय निसाब गरि दोषिलाइ कारवाहि गरियोस।मुखिया बा को उर्धी आयो।एक छिन कचहरि भरि खैलाबैला मच्चियो।सोझो शर्वन बाबुलाई यसले फसायकि हो यसलाई झुण्ड्याउनु पर्छ।भन्दै थिए भने कोहि रुखमा बाधेर आगो लाउनु पर्छ भन्दै थिए ।पोई टोकुवा अलक्षिणा को यत्रो हिम्मत आईमाइ हरु कराउदै थिए।म त पुरुष त्यसमा पनि प्रधान पञ्चको छोरो गल्ति सबै मेरो भएपनि मलाई गाली गर्ने आट कसैले गरेन।भलादमि हरुपनि एकआपसमा गनगन गुनगुन गरिरहेका थिए।यतिकैमा ,आजको जनअदालतको फैसला हुनु पुर्व ,गल्ती शिलाको मात्रै नभएर शर्वनको पनि उति नै गल्ती छ।बुवाले यति भनिसक्दा सबै मान्छे सान्त भइसकेका थिए।प्रधान ले आफ्नो छोराको पनि गल्ती देखाउदा जनअदालत भुइचालो आए झै देखियो।बुवा अगाडि बोल्नु भयो हाम्रो चालचलन र नियमकानुन विपरीत शर्वन र बाल विधुवा शिला समाजको मर्यादा तोडि भागेर विहे गर्ने जुन गल्ती गरेका छन।यसको सजाय स्वरुप सात गाउ कटाइ सधैका लागि गाउनिकाला गर्ने निष्कर्षमा जनअदालत पुगेको छ।कसैलाई केहि भन्नु छ।सक्छस भने गर होइन भने मर को अवस्था आईसकेपछि कुखुरा ले नि प्वाँख हान्छ भन्छन म त मान्छे।बोल्नै त पऱ्यो।चालचलन निति नियम कुनै देवताले लेखेका अकाट्य स्लोक होइनन।मानिसको जीवन जीउन अझ सहज होस भनेर बनाइयका हुन।सात बर्षमा बिहे भएर आठ बर्षमा बाल विधुवा भएकि शिलाको खै कहा नजिक गल्ती देख्नुभयो अनि बाह्र बर्षको उमेरमा मेलापात गर्दा भिरबाट लडेर मरेका उनका स्वर्गिय पतिलाइ उनले कसरि खाइन।विवाह के हो?पति को हुन?केही पनि थाहा नपाउदै आठ बर्षको उमेरमा बाल विधुवा बनाइ सेतो पहिरन लगाइ दिइ पुरा जीवन परलोक पतिको सदगदमा बस्न लगाउनु समाजको यो कस्तो चलन हो?खुमखार अपराधि झै शिलालाइ आजीवन सजाय दिदा न्याय चाहि कसले पायो? शिलाको परलोक पतिले? शिलाको सासु ससुराले? शिलाको आमाबुवाले? या मानिसको खोल ओडेका पशुहरु बस्ने यो जनअदालत ले? आखिर कसले पायो न्याय?

बुवा, मेरो यो कदमले हजुरको मन दुखेको छ।मलाइ राम्ररी थाहा छ तर तपाइले नै मलाइ यो गाउ भन्दा पर सुसस्कृत सहरमा पठाइ बर्षौ सम्म पढाउनु भयो।देश विदेशका राम्रा निति नियम र संस्कार संग परिचित हुने अवसर प्रधान गर्नु भयो।सहि निती,नियम र संस्कारको पालना ले कसैलाइ अन्याय हुदैन।कसैको अधिकार खोसिदैन।सबैको जीवनलाइ सहजता प्राप्त हुन्छ भन्ने पाठ सिकाउनेहरु संग संगत भयो।सव्य समाज बनाउन आखिर कसैन कसैले यी परम्परागत कुरीति कुसंस्कार विरूद्ध आवाज उठाउनै पर्थ्यो रिसानी माफ होस बुबा शुरू मैले गरे।अनि अर्को कुरा कुनै गल्ती विना एउटा सग्लो जीवन नर्क बनाइदिने यो सात गाउ र अबुझ दानविय पाखण्डहरूले भरियको जनअदालतमा बस्नु पनि छैन हामिलाइ मैले सबै कुरा बडो साहसका साथ भने ,मेरो कुराले कचहरिमा जम्मा भएका सबैको मनमा सकरात्मक प्रभाव परेझै लाग्यो किनकि महिला मण्डली पिलपिल थियो भने महापुरूष हरू घोसे मुन्टो लगाइरहेथे।

यतिकैमा मेरा दौतरी हरूले यस्तो समाजमा हामिलाई नि बस्नु छैन भन्दै नारा लाउन थाले। स्वरमा स्वर थपिदै गए।एकैक्षणमा त चौरमा उपस्थित सबैको स्वर एकै लयमा घन्किरहेको थियो …शिलादेबीलाइ न्याय दे…शिलादेबी लाइ न्याय दे !!! न्यायका लागि सातगाउको जनअदालतमा यो नै पहिलो बिद्रोह थियो। अलिक अगाडि सम्म शिलालाइ अलक्षिण भन्दै आगो लगाउन खोज्ने समाज अहिले उनका लागि। न्याय मागिरहेकोथियो।खुसिले गदगद भए।शिला लाइ हेरे उनि खुसिका वलिन्द्र अस्रुअमृत बगाउदै थिइन।मेरा आखा नि रसाए।उता भद्र भलादमिहरु मुखामुख गरिरहेका थिए।यतकैमा जनअदालतका प्रधान जुरुक्क उठेर बोल्न लाग्नु भो ल तपाई हरू सबै शान्त हुनोस।शिलादेबी ले न्याय पाउने छिन।यति भन्दा भिड पुरै सान्त भयो। शर्वन कुमार ले ठिक भनेका हुन निती,नियम र कानुन सबै मानिसको हकहित र अधिकारका लागि हुन।केहि मुठिभर मानिसको स्वार्थ पुर्तीका लागि बनेका कुरिती, कुसंस्कार र परमपरागत चालचलनको विसर्जन गर्दै मानिसको हकहित र अधिकारको न्यायोचित सम्वोधन हुने निती, नियम र कानुनको कार्यन्वयन गरिनेछ।तपाई हरूको माग र चाहाना अनुरुप आज यो जनअदालतले शर्वन कुमार र शिलादेबि को धुमधाम विवाह गरि गृह प्रवेश गराउने छ।जनअदालतको यो फैसला सुनेर चारै तिर तालिका फहोरा छुटे हर्ष उर्लासको उत्सव शुरू भयो। त्यो दिन शिला र मेरो पहिलो प्रेम दिवस थियो जुन आज पनि सम्झनामा ताजै छ।खत लाग्यको घाउ, घत लाग्यको कुरो र बात लागेको गाँउ नबिर्सिने रैछ।आज हाम्रो साठि औ प्रेम दिवस हो उनि अलि छिटो परलोक भइन।म पनि काल पर्खेर बसेको छु भन्दै शर्वन बाजेले शिला बजैलाइ दुई थोपा आसु अर्पित गरि मन्चबाट बिदा भए।एक टकले कथा सुनिरहेको म गडगडाहट तालिले झस्किन पुगे
✍️पि. एस. क्षेत्री

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”