काठमाडौं । काठमाडौंको ऐतिहासिक बौद्ध क्षेत्रमा तामाङ समुदायको मौलिक पर्व ‘घोनाई’ (गाईजात्रा तथा रोपाइँ जात्रा) भव्यताका साथ मनाइने भएको छ । आगामी साउन २५ र २६ गते आयोजना हुने दुईदिने जात्राको तयारीबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजन तथा गाईजात्रा तथा रोपाइँ जात्रा (घोनाई) मूल समारोह समिति २०८२ को आयोजनामा हुने यो पर्वले तामाङ समुदायको कृषि संस्कृति र धार्मिक आस्थालाई जीवन्त बनाउनेछ ।
नेपालको विविध संस्कृतिमध्ये ‘घोनाई’ को आफ्नै महत्त्व छ । यो पर्व जनैपूर्णिमाको दिन अर्थात् ‘घोनाई ड्या’ बाट सुरु भई गाईजात्रा हुँदै रोपाइँ जात्रामा पुगेर समापन हुन्छ। यो जात्रा दिवंगत आत्माहरूको सम्झनामा मनाइन्छ, जहाँ घर–घरबाट रोपार, बाउसे, लाखे र विभिन्न झाँकीहरू बनाएर नगर परिक्रमा गराइन्छ । यसले कृषि संस्कृति र मृत आत्माप्रतिको सम्मानलाई एकसाथ झल्काउँछ।
ऐतिहासिक रूपमा गाईजात्राको सुरुवात राजा प्रताप मल्लले पुत्रशोकमा परेकी आफ्नी रानीलाई सान्त्वना दिन गरेको मानिन्छ। सोही परम्पराको निरन्तरता स्वरूप बौद्ध क्षेत्रमा पनि रोपाइँ जात्रामा दिवंगत आत्माको सम्झनामा घरघरबाट सहभागी गराउने चलन छ ।
यस वर्षको जात्रालाई थप आकर्षक बनाउन १३ विभिन्न विधामा प्रतिस्पर्धा र पुरस्कारको व्यवस्था गरिएको छ। प्रमुख प्रतिस्पर्धाका विधाहरूमा हल गोरु, युवा तथा बाल बाउसे र रोपार, व्यङ्ग्य, हास्य, युवा तथा बाल लाखे, झाँकी, घोडा प्रदर्शन, र विद्यालयस्तरीय प्रस्तुति रहेका छन् ।
प्रतियोगिताका विजेताहरूलाई प्रदान गरिने पुरस्कार राशी यस प्रकार छ:
- प्रथम: रु १०,०००
- द्वितीय: रु ७,०००
- तृतीय: रु ५,०००
- सान्त्वना: रु २,५०० (झाँकी विधामा सान्त्वना पुरस्कार रु ३,५०० रहनेछ)
यसका साथै, ‘घोनाई मौलिक नाच’ विधामा उत्कृष्ट प्रस्तुतिलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकहरूका अनुसार, यो जात्राको मूल उद्देश्य तामाङ समुदायको मौलिक पहिचानको संरक्षण गर्नु, मनोरञ्जन प्रदान गर्नु र सबै समुदायको समावेशी सहभागिता सुनिश्चित गर्नु हो। घोनाईजस्ता पर्वहरूले बहुसांस्कृतिक नेपाली समाजमा सहिष्णुता, एकता र सहअस्तित्वको भावनालाई अभिवृद्धि गर्दै नेपाललाई सांस्कृतिक रूपमा धनी राष्ट्रको रूपमा विश्वमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

