दैलेखको लयाँटी बिन्द्रासैनीको माटो, त्यो माटो हो जसले दुःख सहन सिकायो तर अन्यायविरुद्ध झुक्न सिकाएन । यही वीरभूमिले जहन्त सुनार जस्ता साहसी योद्धाहरूलाई जन्मायो, जसले आफ्नो सम्पूर्ण जीवन सिङ्गो समाज परिवर्तनको सपनामा समर्पित गरे । त्यो समयको कल्पना गरौँ, जब जातको नाममा मानिसलाई मानिसको दर्जा दिइँदैनथ्यो र कामको आधारमा तल्लो र माथिल्लो भनेर वर्गीकरण गरिन्थ्यो । समाजको नियम र शासन कथित उच्च जातिको मुठीमा कैद थियो, र सीमान्तकृत वा किनारा लगाइएका उत्पीडितहरू त्यही मुठीको अँध्यारो छायामा बाँच्न विवश थिए ।

यस्तै कठोर र विभेदकारी समयमा ओड परिवारमा जहन्त सुनारको जन्म भयो । उनको घरमा किताब र कलमको उज्यालो त थिएन, तर उनको मनमा चेतना र बुझ्ने शक्तिको विशाल भण्डार थियो । औपचारिक शिक्षा सात कक्षामा सीमित भए पनि उनको सोच, विचार र व्यवहारले उनलाई एक बौद्धिक नेताको रूपमा उभ्याएको थियो । उनी भन्थे, “हामीसँग पाखुरा छन्, हाम्रो आफ्नै सीप छ। हामी किन अर्काको बालीमा पसिना बगाउने ? किन हामी आफ्नै माटोमा पसिना बगाएर पेट पाल्न नपाउने ?” उनको यही प्रश्न नै समाज परिवर्तनको पहिलो बीउ थियो ।

त्यसबेला समाजमा ‘बलीप्रथा’ नामक दासत्वको क्रूर चलन थियो। दलित समुदायका मानिसहरू कथित उच्च घरानाका खेतबारीमा काम गर्न बाध्य थिए, तर आफूले रोपेको बालीमा समेत उनीहरूको अधिकार थिएन । जहन्त सुनारले यो अन्यायपूर्ण प्रथाको खुलेर विरोध गरे । उनले गाउँभरि चेतनाको दियो बाल्दै भने, “यो सरासर अन्याय हो, घोर विभेद हो । हामीलाई पनि यो माटोले बराबरीको हक दिएको छ ।” उनको यो गर्जनले धेरैलाई असहज बनायो । पहिलो पटक कसैले आफ्नो हकको लागि आवाज उठाउँदा सामन्ती सोचका मानिसहरू डराउन थाले ।

जहन्त सुनारको चेतना केवल शब्दमा सीमित थिएन; उनको जीवन नै एउटा आन्दोलन थियो । उनी दिउँसो खेतमा पसिना बगाउँथे र साँझ गाउँका युवाहरूलाई भेला गरेर शिक्षा र सीपको महत्त्व बुझाउँथे । उनी भन्थे, “पढाइ भनेको किताबको अक्षर मात्र होइन, जीवन बुझ्ने आँखा हो ।” उनले आफ्नो परिवारलाई मात्र नभई गाउँका धेरै बालबालिकालाई शिक्षाको उज्यालोतर्फ डोऱ्याउन प्रेरणा दिए । उनका कुराले मानिसहरूको मनबाट केही समयका लागि डर हटे पनि समाजको जड मानसिकताले उनीहरूलाई फेरि पछाडि धकेल्थ्यो  ।

पञ्चायती शासनकालमै जहन्तले समाजवादी सोचको बिगुल फुकेका थिए । “सबै मानिस बराबर छन्, जसको हातले माटो छुन्छ, उसले त्यो माटोको अन्न खान पाउनै पर्छ,” उनको यो भनाइ तत्कालीन शासक वर्गका लागि खतराको घण्टी थियो । उनलाई अनेक धम्की दिइयो, उनीमाथि कुटपिट भयो र गाउँ निकाला गर्ने षड्यन्त्रसमेत रचियो । तर, उनी झुकेनन् । “म माटोबाट जन्मिएको मान्छे हुँ, माटोले मलाई हिम्मत दिन्छ, म कसरी डराउँछु?” भन्दै उनी आफ्नो सिद्धान्तमा अडिग रहे । यो कठिन यात्रामा धेरैले डरले साथ छोडे, तर एक व्यक्ति उनको हिम्मत बनेर उभिए उनका दाइ, पर्जे ओड । जहन्तले विचारको हतियार चलाउँदा, पर्जेले व्यवहारको हतियारले साथ दिन्थे । यी दुई दाजुभाइको जोडीले अन्यायविरुद्ध गाउँमा एउटा शक्तिशाली भुइँचालो ल्याइदियो ।

जहन्त सुनारले सुरु गरेको समाजवादी चेतनाको यात्रा आज पनि हाम्रो समाजमा जीवित छ । उनले उठाएका प्रश्नहरूको उत्तर आज पनि खोजिँदैछ  किन श्रम गर्ने मान्छे आज पनि गरिब छ ? किन जातको नाममा विभेद कायमै छ ? उनको आवाज आजका पुस्ताले बुझ्न थालेका छन् र उनको सोच आजको समयमा अझ बढी सान्दर्भिक बनेको छ । उनले सिकाए, “परिवर्तन कसैले ल्याइदिँदैन, आफैँले गर्नुपर्छ ।” उनले कलम नपाउँदा मुखले, र माइक नपाउँदा भीडको बीचमा उभिएर चिच्याएर आफ्नो आवाजलाई बुलन्द बनाए । उनको हरेक शब्द त्यो आगो थियो, जसले समाजको अन्धकारलाई चिर्थ्यो ।

दैलेखको त्यो पहाडी गाउँमा जहन्त सुनारले रोपेको विचारको बाली आज विचारको विशाल वृक्ष बनेको छ । उनी एउटा नाम मात्र होइन, एक विचारको नदी हुन्, जसले हाम्रो चेतनालाई निरन्तर सिञ्चित गरिरहेको छ । उनको जीवनले हामीलाई सिकाउँछ कि साँचो क्रान्ति बन्दुकले होइन, चेतना र कलमले हुन्छ । जहन्त सुनारको जीवन केवल एक व्यक्तिको कथा होइन, यो सिङ्गो समुदाय र समाजको आत्मसम्मानको ऐतिहासिक दस्तावेज हो, जसले हामीलाई समानता र न्यायको बाटोमा हिँड्न सदैव प्रेरित गरिरहनेछ । राजेन्द्र सुनार

About the author

'सत्य बाटो, नयाँ खोज'- 'तिब्र खबर, सूचना र सञ्चार' सारथी संसार डट कम मा जोडिनु भएकोमा यहाँलाई हृदयको अन्तस्करण देखि स्वागत छ । देश र जनतामा समर्पित सारथी संसार सदैब तपाईंहरुको सुझाव, सल्लाहलाई रचनात्मक रुपमा सिरोपर गर्दै अगाडि बढ्ने छ । थप समचारका लागि तलको लिंकमा थिच्नु होस । धन्यवाद ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

ओली-पथ: शक्ति छ, संस्कार खै ?

नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा देशव्यापी रूपमा राजनीतिक