प्युठानजिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा अनि दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कुल जनसंख्या २,३१,८४८ जसमध्य पुरुषको संख्या १,०४,४६३ र महिलाको संख्या १,२७,३८५ रहेको छ। समुन्द्र सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्मको उचाईमा पहाड, पर्वत, टार, वेशी आदि रहेको यो जिल्लामा खासगरी शीत र शमशितोष्ण हावापानी पाइन्छ ।
विश्वमान चित्रमा प्युठान जिल्ला २७ डिग्री ५२ मिनेट देखि २८ डिग्री २१ मिनेट उत्तरी अक्षांश र ८२ डिग्री ३६ मिनेट देखि ८३ डिग्री ३६ मिनेट पूर्वी देशान्तरमा अवस्थित छ । यो जिल्ला १,३२,८९० हेक्टर क्षेत्रफलमा फैलिएको छ । जिल्लाको दक्षिणी भाग चुरे क्षेत्र, पश्चिमी भाग महाभारत क्षेत्र पर्दछ भने उत्तरी भूभाग मध्य–हिमाल क्षेत्रमा पर्दछ। यस जिल्लाको चट्टानहरूमा फाइलाईट, डोलामाइट, स्लेट, चुन ढुंगा, क्वार्जाइट आदि पर्दछन भने वलौटे, दोमट र चिम्लाईलो प्रकारको माटो वढी मात्रामा पाइन्छ।
नामाकरण
प्यूठान शव्दको उत्पति बारे मतैक्यता पाईदैन। कर्कपेट्रीकले प्रार्थाना (पूरथाना)बाट अपभ्रंश हुदै प्यूठान भएको , हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्राथानाबाट प्युठान नाम रहन गएको र योगि नरहरिनाथले प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन। अर्थात – प्रतिष्ठाना-प्यूठाना-पिउठाना हुंदै प्यूठान नाम रहन गएको हो। निरज सुवेदीले समय-समयमा लेखेको पत्रहरूमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाईन्छ। सुरक्षा संवन्धि शव्द- पिउठ बस्ने ठाना भएकोले पिउठानाबाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भन्ने तर्क पनि पाइन्छ।
जिल्लाको इतिहास
प्यूठान जिल्लाको भूमिमा सर्वप्रथम मगर जातिबाट वसोबास गरिएको कुरा यहाँको स्थानहरूको नामाकरणबाट बुझिन्छ। भिंगृ, सारी, कोचीवाङ. तोरवाङ, मर्कावाङ, खवाङ, स्याउलीवाङ आदी प्राचीन कालमा लिच्छवीहरूको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरूको अधिनमा १४ औँ शताब्दी सम्म रहयो। पाल्पाली राजा मुकुन्द सेनका समकालीन प्यूठानी राजा रुद्र सिंह पछि मोती चन्द्र प्रथम यहाँका राजा भए। यिनकी छोरी यशोदाको विवाह मुकुन्द सेन प्रथम का नाति कर्ण सेन सँग भएको बताइन्छ। मोति चन्द्र पश्चात रुद्र चन्द्र, गजेन्द्र चन्द्र, गजकेशरी चन्द्र भएको बुझिन्छ। विक्रम संवत १७६० तिर पृथ्वीपति शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ भने १८३२मा राजा माणिक चन्द्रको ताम्रपत्र देखा पर्दछ। वि.सं. १८३५मा मोती चन्द्र द्वितिय प्यूठानका राजा थिए।
खुग्री, भिंगृ, इष्मा र मुसिकोट प्यूठान का अनुयायी भएको कुरा अयामिल्टनले उल्लेख गरेको पाइन्छ ।मोती चन्द्र प्यूठानका अन्तिम भुरे राजा भएको कुरा १८४३ तिर नेपालको एकिकृत अभियानमा यहाँका राजा भागेबाट स्पष्ट हुन्छ। प्यूठानको सर गरी सकेपछि खुँग्री र उदयपुरका शासकहरू नेपाल नरेशको छत्रछायाँमा रजौटाको रूपमा रहे। खुग्री र उदयपुरका राजालाई राज्य रजौटाको ऐन २०१७ले आजीवन राजाको पदवी प्रदान गरेको थियो। २०१९ साल पूर्व प्यूठान भित्रीकोट नारीकोट उदयपुरकोट माडी खोला कालाशेष र बाईसखुवा गरी ६ थुममा विभाजित भएकोमा २०१९ मा कालाशेष र वाईसखुवा रोल्पामा गाभिए।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानिय तहको विभाजन
संघिय संरचना अनुसार प्युठान जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ।
ऐरावती गाउँपालिका
गौमुखी गाउँपालिका
झिमरुक गाउँपालिका
मल्लरानी गाउँपालिका
नौबहिनी गाउँपालिका
माण्डवि गाउँपालिका
सरुमारानी गाउँपालिका
प्यूठान नगरपालिका
स्वर्गद्वारी नगरपालिका
पर्यटकीय स्थल
जिल्ला स्थित पर्यटकिय स्थलहरूमा स्वर्गद्धारी, ऐरावती, गौमुखी, मल्लरानी, भित्रीकोट, विजुलीकोट, नदीनालाहरु र बिभिन्न धार्मिक स्थलहरू पर्यटकिय स्थलको रूपमा परिचित छन।
नदीनालाहरू
यस जिल्लाको मुख्य नदीहरूको रूपमा भिमरुक र माण्डवी ( माडी ) रहेका छन। यी नदीहरूको सहायक नदीहरूमा भिमरुक अन्तर्गत लुङखोला, गर्तङखोला,चुजा खोला, चुदरी खोला, जुम्री खोला, काँतरे खोला, खप्रङ खोला, हरिया खोला, पतेरे खोला, छापे खोला आदी रहेका छन भने माण्डवी नदी अन्तरगत धनवाङ, अरुण, गोठीवाङ, वायखोला आदी सहायक खोला पर्दछन। भिमरुक खोलामा धेरै फाँटहरू रहेका छन जस्तै विजुवार दाखा फाँट, वाग्दुला फाँट, चुनाफाँट, वरौला फाँट, मरन्ठाना फाँट, अर्गलीफाँट, चिसावाङ फाँट, रातटारी फाँट, गर्तङ फाँट आदी रहेका छन भने माण्डवीमा तुलनात्मक रूपमा अति नै कम फाँटहरू रहेका छन। चिदीबास फाँट, हंसपुर फाँट, माझीदमार भिग्रीफाँट आदी फाँटहरू रहेका छन।
धार्मिक स्थल
जिल्ला स्थित धार्मिक तथा पर्यटकीय स्थलहरूमा देश भित्र र वाहिर सम्म चर्चित भएको तिर्थ तथा पर्यटकिय स्थल स्वर्गद्धारी यसै जिल्लाको स्वर्गद्धरीखाल गा.वि.स.मा पर्दछ। त्यस पछि ऐरावती, गौमुखी, कालिका मन्दिर, झाकिरिस्थान, विजुलीकोट, वरौलाकोट, जावुने दह र त्रिवेणी आदी स्थलहरू तिर्थ स्थलको रूपमा प्रसिद्ध छन।
स्वर्गद्वारी
स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलङ्गा बाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई पनि एक प्रमुख मन्दिर मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । वैसाख पुर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ । सत्य यूगमा देवताहरूले यात्रा गरेको तपोभूमिमा रोल्पा जिल्लाको रुम्टी गाँउमा वि.स. १९१६ मा जन्मनु भएका १०८ महाप्रभु बालतपस्वी श्री नारायण गौतम १९५१ मा स्वर्गद्वारीमा आयपछि वेदका मन्त्रद्वारा अग्नी प्रज्योलित गरी १९५२ बैसाख पूर्णिमा देखि अखण्ड महायज्ञ सुरु गर्नु भएको हो । जुन विश्व शान्तीको लागि संचालीत अखण्ड यज्ञ हाल सम्म निरन्तररूपमा अग्नी वलीरहेको छ । प्रभुको बाल्यकाल – रुम्टीमा जन्मनु भएका नारायण गौतम आफ्नो छैटीको दिन आमाले मासु आहार गरेको थाहापाई ३ (तिन) दिन सम्म भोकै बसी दशौ दिन वाट कपिला गाईको दुध सेवन गरी ३ वर्षको उमेर देखि शिवको भक्त हुनुहुन्थ्यो । गाँउको माथी एउटा स्मणीय ओढारमा ५ वर्षको उमेरमा अदृश्य भई ३ वर्ष पछि विद्ववानका रूपमा प्रकट हुनु भएको थियो ।यसरी १९४२ मा गुरु सच्चिदानन्द गिरीबाट सन्यासको दिक्षा प्राप्त गरेपछि उहाँको नाम हंसानन्द गिरी भएको हो । उहाँ आफ्नो गाँउ छाडी चेलाहरु सहित धर्म रक्षाका लागि हिडनु भयो । उहाँ हिडदा हिडदै स्वर्गद्वारी नाम उच्च पर्वतमा पुगेपछि त्यहा प्राचिन यज्ञशाला रहेको समतल भूमिमा बाझको बृक्षमुनि आश्रम राखि बस्ने ईच्छा प्रकट गर्नु भयो । प्राचीन कालमा यज्ञ गरेको अवशेषहरु फेला परे पछि त्यस ठाँउमा मन्दीर स्थापना गर्नु भयो । स्वर्गको द्वार– (गुप्तीसागर) स्वर्गद्वारीको उच्चटाकुरामा एउटा गुफा रहेको छ । उक्त गुफाबाट प्रभुले स्नानको निम्ति २३०० मिटर तल लुग्रीं माडीको दोभानमा झर्नु भई सोहि द्वार मार्फत नै फिर्ता हुने गर्नु हुन्थ्यो भन्ने चलन छ र हाल उक्त गुफाको द्वारलाई स्वर्गको द्वार (स्वर्ग जाने बाटो) र गुप्तीसागर भन्ने चलन छ । यो द्वार खोज र अनुसन्धानको विषय बनेको छ ।
झुलेनी
प्यूठान नगरपालिका ६ माझकोटस्थित झुलेनी क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । झुलेनीमा पदमार्ग तथा भौतिक पूर्वाधारको विकाससँगै पर्यटकको चाप बढेको हो । घना वनजङ्गलबीच अग्लो चुचुरोमा अवस्थित झुलेनी डाडाँबाट हिमश्रृङखलाका साथै प्यूठान उपत्यकासहित नौबहिनी गाउँपालिका क्षेत्रलाई हेर्न सकिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, धौलागिरी, मनास्लु लगायतका झण्डै दर्जन हिमश्रृङखलाको मज्जा लुटन सकिने हुँदा सार्वजनिक बिदा तथा फुर्सदको समय कटाउन र फिकनिक खान झुलेनी जानेहरू बढेका छन् । अहिले दिनहुँ पर्यटक आउन थालेका छन झुलेनी फिर्नेहरुलाई यो नै स्वर्ग जस्तो लाग्छ । झुलेनी लगायत त्यस वरपरका पर्यटकीय गन्तव्यलाई विकास गर्नुपर्ने उहाको भनाई छ। स्थानीय बूढापाकाका अनुसार देशभर रहेका धनञ्जय गोत्रीय भण्डारीको उत्पत्ति यहींबाट भएको हो । प्यूठान नगरपालिका स्थित धर्मावतीको खप्रेङखोला–खलीगाउँ, आरूगैरा हुँदै झुलेनीसम्म गाडी मै चढेर पुग्न सकिन्छ ।
लुङको देवाली
लुङकोदेवाली नेपालको प्युठान जिल्लाको लुङ गाउँ विकास समितिमा लाग्ने प्रसिद्ध जात्रा हो। प्युठान जिल्लामा पर्ने लुङ गाविसमा बसोबास गर्ने खत्री, बाहुन, कामी, दमाई, रोका, मगर, थापा, बस्नेत, खनालबाहेक कोही थिएनन्। खास भन्ने हो भने खत्रीहरूको बाहुल्यता थियो। देवाली गर्दाका वर्षआफ्ना घरहरू धेरैजसोले रातो माटो र केही घरहरू सेतो माटो (कमेरो)ले पोतेर सिंगार्थे। खत्री पूजारीले सुराही समातेर घर-घरमा गएर बोका मनाउँथे। उनलाई घोमे पुजारा भन्थे। बोका बोकी टाउका अर्को दिन या दोस्रो दिन त्यसलाई मुड ढाढ्ने भन्थे। एउटा बोका चढाउनेले टाउको पाउँदैनथ्यो। परापुर्व कालमा धनञ्जय गोत्रका एकजना ब्राम्हण त्यस गाउँमा आई बसोबास गरेछन्। ती ब्राम्हणका दुई श्रीमती थिए। एक थिइन्- बाहुनी, एक थिइन्- क्षेत्रिनी। ती दुबैबाट सन्तान पैदा भए। बाहुनीबाट जन्मेकालाई उपाध्याय र क्षेत्रिनीबाट जन्मेकालाई क्षेत्री नामाकरण गरिदिएका हुन् र खत्री क्षेत्रीलाई खत्री पुजारा र उपाध्यायलाई बाहुन पुजारा भनेका हुन्। लुङको देवाली ब्राम्हणबाट सञ्चालन नगरी संयुक्तरूपमा खत्री र बाहुनले पूजा गर्ने गर्दछन्।
देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ।