२०५८/५९ सालतिरको कुरा हो, म सात आठ वर्षको मात्र थिएँ । सानो उमेरमा देखेको र भोगेको कुरा आजसम्म पनि मुटु चिरिरहेको छ । त्यो समय नेपालभर माओवादी युद्धको आगो भड्किरहेको थियो। हरेक दिन रेडियो खोलेपछि मान्छे मरेका, सेनाले विद्रोहीलाई मारेका, माओवादीले सैनिक क्याम्प कब्जा गरेका, प्रहरी अड्डा आक्रमण गरेका खबर मात्रै सुनिन्थ्यो । कहिले सरकारी सेना मारिएको, कहिले माओवादी लडाकु मारिएको, गाउँघरभरि डर र आतङ्कको वातावरण थियो । राति बाहिर निस्कनु त टाढाको कुरा, साँझ परेपछि पनि मानिसहरू टर्चको उज्यालो हेर्दै आ–आफ्ना ढोकामा चुपचाप सुत्थे । संकटकाल घोषणा हुने, कर्फ्यु लाग्ने, सडक सुनसान हुने, अनि हामी बालबालिकाले पनि त्यो डरकै बीचमा सास फेर्नुपर्थ्यो ।

त्यो युद्धकालीन समयमै हाम्रो परिवारमा अर्को ठूलो संकट आयो। हाम्री ममी असाध्यै खतरनाक रोगले थिचिनुभयो । सुरुमा खुट्टामा बाउडा पस्ने, शरीर सुन्निने, हातखुट्टा कस्तो कस्तो हुने, अनि बिस्तारै पेट हुँदै मुटुमा रोग पुग्ने । हामी साना हुँदा देख्यौँ ममी घण्टौंसम्म दाँत किट्दै मृत्युको मुखबाट फर्कन लड्नुहुन्थ्यो । कहिले त उहाँको सासै रोकिन्छ जस्तो लाग्थ्यो, हामी दिदीबहिनी र भाइहरूले रोएर “ममी मरिहाल्नुभयो” भनेर चिच्याउने, तर केही बेरपछि उहाँले फेरि सास फेर्नुहुन्थ्यो । त्यो साससँगै हाम्रो अनुहारमा फेरि मुस्कान आउँथ्यो, ममी बाँच्नुभयो भन्ने खुशी हृदयमा पस्थ्यो । यस्तो आशा र निराशा दिनहुँ दोहोरिँदै हुन्थ्यो 

बुवा गाउँकै सामान्य अगुवा हुनुहुन्थ्यो । इमानदार, मेहेनती, सहयोगी, व्यापारमा पनि अगाडि । गाउँलेहरूले उहाँलाई “साहुजी” भनेर बोलाउँथे । बुवाको सम्धी, ठुली दिदीको ससुरा, दुवै जना मिलेर गाउँमै लत्ता–कपडा, नुन–तेल, खाद्यान्न बेच्ने व्यापार चलाउनुहुन्थ्यो। आफ्नो घर–परिवारलाई हेर्ने, गाउँको राजनीति र अगुवाइ गर्ने, इमानदारीसँग व्यवसाय गर्ने, बुवाको जीवन राम्रैसँग अघि बढिरहेको थियो । तर ममीलाई रोगले लठ्याएर पार्नेबित्तिकै त्यो जीवन ठहरै बदलियो 

बुबाले जे–जसरी सके पनि पैसा जोहो गर्नुभयो। मामा, आफन्त, छरछिमेक सबैसँग सहयोग माग्नुभयो । गाउँघरमै सहयोग उठाएर ममीलाई उपचारका लागि लैजानुभयो । त्यतिबेला कर्णाली राजमार्ग पूर्ण रूपमा खुलेको थिएन । त्यसैले रामघाट हुँदै जामु, कुइने, चिसापानी हिँडेर, कहिले बोकेर, कहिले अघिपछि गरेर हल्दुवा सुशीला तियाडि सम्म ममीलाई उपचारका लागि पुर्याउनुभयो । त्यतिबेला हाम्रो प्रिय ठुलदाइ नवौँ कक्षामा पढ्दै हुनुहुन्थ्यो ।

तर उपचारमा खर्च धान्न गाह्रो भयो। बुबाले ऋण लिनुभयो। ऋणको भारी बोक्न हाम्रो दाजु—प्रिय ठुलदाइ भारतको रिमा भन्ने ठाउँमा जानुभयो । उहाँ १७–१८ वर्षको मात्र उमेरमा, पातलो शरीर, तर हिम्मत बलियो । खडीमा म्याटेलि गर्ने कठोर काम गर्नुहुन्थ्यो । बिहानदेखि बेलुकासम्म पसिना बगाएर, शरीर थाकाएर, दाजुले ऋण चुक्ता गर्नुभयो। त्यो उमेरमा जहाँ अरू साथीहरू पढाइ, खेलकुद र रमाइलोमा रमाइरहेका हुन्थे, त्यहाँ हाम्रो दाजु परिवारको लागि पसिनामा डुबेर काम गरिरहनुभएको थियो ।

बुवा र ममी गाउँ फर्कनुभयो। तर हामी साना भाइबहिनी दाजुको बाटो हेरेर बस्ने गर्थ्यौँ। फोनको जमाना थिएन। हाम्रो घर माथिबाट बाटो जान्थ्यो। राति कोही टर्च बोकेर उक्लँदा हामी सानै आँखाले हेरेर हर्षित हुन्थ्यौँ—“दाई आउनुभयो कि” भनेर। तर धेरैपटक त्यो टर्च अर्कैको हुन्थ्यो, हामी निराश भएर फेरि भित्र पस्ने गर्थ्यौँ ।

चाडपर्व आउँदा दाजुको कमी झनै महसुस हुन्थ्यो । दशैंमा दाजु बिना कमेरो खट्किन्थ्यो, तिहारमा स्वागत लेख्दा उहाँको हात नपुग्दा अधुरो लाग्थ्यो । हामीले रातो माटो घोल्दै, कलश लेख्दै रमाइलो गर्न खोज्थ्यौँ, तर मनको गहिराइमा सदैव खालीपन हुन्थ्यो ।

यी सबै सम्झना अझ बढी पीडादायी त्यसबेला हुन्छ जब हामीलाई थाहा छ, अब यी दिनहरू कहिल्यै फर्केर आउँदैनन्। किनकि हाम्रो प्रिय ठुलदाइ यो संसारमा हुनुहुन्न । ३५ वर्षको लक्का जवान उमेरमा उहाँ सधैंका लागि बिदा हुनुभयो । एउटा छोरा, तीनटी छोरी, भाउजु र हामी सबै भाइबहिनीलाई सम्झनाको आँसुमा छोडेर जानुभयो ।

आज पनि ती दिन सम्झँदा मन रुन्छ । माओवादी युद्धको त्रास, ममीको रोगसँगको संघर्ष, बुवाको ऋण तिर्ने पीडा, अनि दाजुको त्याग यी सबै मिलेर हाम्रो परिवारको कथा बनेको छ। दाजुले १७–१८ वर्षमै भारतमा पसिना बगाएर परिवारलाई बचाउनुभएको, ऋण चुक्ता गर्नुभएको, अनि फेरि ३५ वर्षमै संसारबाट बिदा हुनुभएको कथा केवल हाम्रो परिवारको मात्र होइन, यो दैलेखी भूमिमा युद्ध र गरिबीले घोचेका हजारौँ परिवारको कथा हो ।

हाम्रो घरको आँगनमा आज पनि दाजुको हाँसो झल्किन्छ । उहाँले दशैंमा कमेरो लगाउनुभएको दृश्य आँखामा आउँछ। तिहारमा स्वागत लेख्दा, रातो माटोको रंगले कलश लेख्दा उहाँको सम्झना अझ प्रगाढ हुन्छ। तर यी सबै अब सम्झनामा मात्र बाँकी छन् । वास्तविकतामा हामीसँग दाजु हुनुहुन्न।

३५ वर्षको उमेर भनेको जीवनको सबैभन्दा सुन्दर चरण हो । परिवारसँग सपना बुन्ने, छोराछोरीलाई हुर्काउने, भाउजुसँग मिलेर भविष्य बनाउने उमेर। तर त्यो उमेरमै संसार छोडेर जानु हाम्रो लागि असह्य पीडा हो । आज दाजुको छोरा र छोरीहरूलाई हेर्दा उहाँको अनुहार झल्किन्छ । भाउजुको आँखा अझै पीडामा डुबेको देखिन्छ। हामी सबै दाजुभाइबहिनीको मनमा सधैं एकै कुरा बजिरहन्छ हाम्रो दाइ किन यति चाँडै विदा हुनुभयोरु”

तर दाजुको सम्झना पीडासँगै गर्व पनि हो । उहाँले जीवनमा जुन संघर्ष गर्नुभयो, जुन त्याग गर्नुभयो, त्यसले हामीलाई आजसम्म उठ्न र अगाडि बढ्न प्रेरणा दिएको छ। दाजु शारीरिक रूपमा हामीसँग हुनुहुन्न, तर उहाँको सम्झना, उहाँको हिम्मत, उहाँको प्रेम हाम्रा साससँगै बाँचिरहेको छ ।

आज हामी दाजुको नाम लिनासाथ आँसु झर्छ, तर त्यसैसँगै गर्व पनि आउँछ। उहाँले हामीलाई सिकाउनुभएको पाठ—जुनसुकै कठिनाइ आए पनि परिवारलाई छोड्ने छैन, संघर्षलाई टार्ने छैन—त्यो हाम्रो जीवनको आधार हो । राजेन्द्र सुनार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

ओली-पथ: शक्ति छ, संस्कार खै ?

नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा देशव्यापी रूपमा राजनीतिक